काठमाडौं। सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना फेरि पछि धकेलिएको छ। निर्धारित समयमा काम नसकिएको भन्दै फेरि तीन महिना म्याद थपिएको हो।
नयाँ संशोधित तालिकाअनुसार आयोजनाको समय थपेर आगामी २०८० असोज पुर्याइएको छ। आयोजना आउँदो असारमा सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो। सरकारले पनि रसुवागढी आयोजना चालू आर्थिक वर्षमा सक्ने लक्ष्य लिएको थियो। हालसम्म आयोजनाको ९४ प्रतिशत मात्र भौतिक प्रगति भएकाले असारबाट असोजमा पुगेको हो। अझै ६ प्रतिशत काम बाँकी छ।
पटक-पटक म्याद थप्दै जाने र यही गतिले काम भइरहेमा संशोधित तालिकाअनुसार आउँदो असोजमा पनि आयोजना सम्पन्न हुने सम्भावना न्यून छ। समय थपिएपछि रसुवागढीको लागत पनि बढेको छ।
यसअघि संशोधित कूल लागत १७ अर्ब १ करोड रुपैयाँ हुने अनुमान गरिएकोमा समय फेरि थपिएकाले लागत बढेको विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ। यसअघि निर्माण अवधिको ब्याजबाहेक लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधारमानी आयोजना निर्माण सुरु भएको थियो।
आयोजनाको लागत ३ अर्ब ३३ करोड रुपैयाँ बढेको छ। समय थपिएको र डलरको भाउ बढेकाले लागत अझै थप हुने अनुमान आयोजनाको छ।
यसअघि आउँदो पुससम्म बिजुली उत्पादन गर्ने लक्ष्य विकासकर्ता रसुवागढीले जनाएको थियो। २०७८ असारमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा पटक-पटक आयोजना पछि धकेलिँदै आएको छ। यसअघि २०७९ असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य घर्किएपछि ६ महिना समय थपेर २०७९ पुसमा पुर्याइएको थियो। पुसमा पनि सम्भव नभएपछि फेरि ३ महिना थपेर २०७९ चैतमा पुर्याएको थियो। आयोजना २०७६ को फागुन ७ गते सक्ने लक्ष्य लिइएको थियो।
विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोशी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, बाढीका साथै कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरले गर्दा आयोजनामा ढिलाइ हुन गएको कम्पनीको दाबी छ।
यसअघि नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिएको थियो। २०७८ असारमा सकिने अनुमानका आधारमा यो लागत रकम थप हुने भएको हो।
सञ्चय कोषले आयोजनासँग ११ प्रतिशत ब्याज लिँदै आएको छ। प्रत्येक ३ महिनामा ब्याज साँवामा पूँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ। बिजुली बिक्रीबाट रसुवागढी हाइड्रोपावरले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्नेछ। कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ।
आयोजना सन् २०१४ देखि निर्माण सुरु भएको हो। एक दशक बितिसक्दा पनि रसुवागढी आयोजनाको काम सकिएको छैन। आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ। आयोजनाको निर्माण ३ लटमा भएको छ। पहिलो सुरुङलगायतका हाइड्रोमेकानिकल संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) रहेको छ।
दोस्रो लटमा इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम नेपाली कम्पनी मुडभरी एन्ड जोशीले गर्दै आएकोमा उसले काम गर्न नसकेपछि ठेक्का तोडिएको कम्पनीले जनाएको छ। ठेक्का तोडिएपछि कम्पनीले पुनः बोलपत्र आह्वान गर्दा रोयल कन्स्ट्रक्सन कम्पनीले बाँकी काम सक्ने जिम्मा पाएको छ। रोयलले असारसम्म बाँकी काम सम्पन्न गर्नुपर्ने छ।
कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ। रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ। आयोजनामा नेपाल विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९, सर्वसाधारणको १९.५, रसुवा जिल्लाका स्थानीय बासिन्दाको १५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरूलाई १० प्रतिशत स्वामित्व छुट्टाइएको छ। नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुनेछन। आयोजना नेपाल–चीन सीमानजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ।