काठमाडौं। गत मंसिरमा नेपाल भित्रिएका साझा यातायातका ३७ वटा विद्युतीय बस सञ्चालनको तयारी गरिएको छ। २०७९ साउनमा पहिलो चरणमा नेपाल ल्याइएका ३ वटा विद्युतीय बस उपत्यकामा सञ्चालन भइरहेका छन्।
तर, दोस्रो चरणमा नेपाल ल्याइएका बस भने लामो समयसम्म सञ्चालन हुन सकेका थिएनन्। प्राविधिक परीक्षणमा ढिलाइ र चार्जिङ स्टेसनको अभावका कारण सबै बस सञ्चालनमा आउन नसकेकाे साझा यातायात सञ्चालक समितिका महाप्रबन्धक महेन्द्रराज पाण्डेले बताए। प्राविधिक परीक्षण भन्नाले साझा यातायातले खरिद सम्झौता गर्दा जुन गुणस्तर र क्षमताका विद्युतीय बस भनेको थियो त्यही अनुसारका बस हुन्/होइनन् भन्ने जाँच हो।
महाप्रबन्धक पाण्डेका अनुसार हाल ३७ वटै विद्युतीय बसको प्राविधिक परीक्षण सकिएको छ। ति बस सडकमा गुडाउन रुटको अनुमति र दर्ता गर्नुपर्ने हुन्छ। अहिले सोही प्रक्रिया चलिरहेको छ।
‘प्राविधिक परीक्षणको काम सकिएर दर्ताको प्रक्रियामा बस पठाएका छौँ। रुट पाएलगतै बस सञ्चालन हुन्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘आज दर्ता भए आजै गुडाउन हामी तयार छौँ, प्रक्रिया पुर्याउँदा जेठको पहिलो सातासम्ममा गुडाउन सकिन्छ होला।’ साझाका सबै विद्युतीय बस काठमाडौं उपत्यकामा चल्नेछन्।
तर, कुन रुटमा कति वटा बस चल्छन् भन्ने विषयमा साझाले प्रष्ट पारेको छैन। साथै चार्जिङ स्टेशन निर्माण नहुँदा बस चार्ज गर्नसमेत सजिलो नभएको महाप्रबन्धक पाण्डेको भनाइ छ। ‘बस चार्ज गर्न स्टेशन बनाएको छैन, सरकारले जग्गा उपलब्ध नगराउँदा चार्जिङ स्टेशन बनाउन पाएका छैनौँ,’ उनले भने, ‘अहिले पुलचोककै स्टेशनबाट चार्ज गरेर कति वटा सकिन्छ त्यति बस चलाउँदै गर्छौँ, बस गुडाउन ल्याएको हो उसै राखेर हुँदैन।’
विद्युतीय बस नेपाल भित्रिएर प्राविधिक परीक्षण सकिँदासम्म पनि पार्किङ र चार्जिङ स्टेशन निर्माणका लागि जग्गा नपाउँदा पुलचोककै भर पर्नु परेको पाण्डे बताउँछन्। तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीले साझाले पूर्वतयारी बिना विद्युतीय बस सञ्चालन गर्न खोज्दा जग्गा प्राप्तिमा समस्या भएको बताए।
ति कर्मचारी भन्छन्, ‘काठमाडौंमा खाली जग्गा पाउन सजिलो छैन, त्यति ठूलो व्यवसाय गर्नेले पूर्वतयारी गर्नु पर्दैन? मन्त्रालयले जग्गा खोजेन, दिएन भनेर मात्रै हुँदैन।’ ४० वटा बस चार्ज गर्न २० वटा चार्जर छन्। साझाकाअनुसार ४० वटा बस पार्किङ र चार्जिङ स्टेशन गर्न करिब ३० रोपनी जग्गा आवश्यक पर्छ।
तर, प्रधानमन्त्री कर्यालय, भौतिक पूर्वाधार र सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गा उपलब्ध गराइदिन साझाले करिब डेढ वर्ष पहिला अनुरोध गरेको थियो। प्रधानमन्त्री कार्यालयले समिति बनाएर खाली जग्गाबारे अध्ययन गरिरहेको पाण्डेको भनाइ छ।
साझाले चीनको सीएचटीसी कम्पनीसँग बस खरिदका लागि सम्झौता गरेको थियो। सम्झौतामा बससँगै आवश्यक चार्जरहरू खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत सीएचटीसी कम्पनीले गर्ने उल्लेख छ। उक्त सम्झौता पत्रमा साझा यातायात सञ्चालक समिति सदस्य बन्दना थापा र सीएचटीसीका नेपाल प्रतिनिधि एनईभी नेपालका प्रबन्ध निर्देशक राजन रायमाझीले हस्ताक्षर गरेका छन्।
४० विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ लगानी भएको छ। त्यस्तै विद्युतीय बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवं स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्ने हुन्छ।
साझाले ल्याएका विद्युतीय बस २६ सिट क्षमतासहित अपाङ्गमैत्री छन्। ती बस एकपटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर २ सय किलोमिटर गुड्छन्। विद्युतीय बसको खरिदले खनिज पदार्थको प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरी देशको अर्थतन्त्रलाई टेवा दिने तथा वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने साझाले जनाएको छ।