काठमाडौं। नेपाली बजारमा आइकेबिएच ग्रुपले बेलाको ब्रान्डका प्रडक्ट लन्च गरेको छ। ग्रुपले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच विभिन्न २८ किसिमका घर तथा भान्छामा प्रयोग हुने उपकरण र विद्युतीय सामग्री लन्च गरेको हो।
साथै ग्रुपले ब्रान्ड एम्बास्डरमा नायक प्रदीप खड्कालाई चुनेको छ। नायक खड्काले आइकेबिएच ग्रुपसँग दुई वर्षको सम्झौता गरेका छन्। नायक खड्का र ग्रुपका सिइओ अब्दुल बसिदले आइतबार नै सम्झौता पत्रमा हास्ताक्षर गरेका छन्।
प्रडक्ट लन्च तथा सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आइकेबिएच ग्रुपका सिइओ अब्दुल बसिदले आफूहरूले सामग्रीको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए। ‘हामी हाम्रो उपकरणहरूको गुणस्तरमा कुनै पनि सम्झौता गर्दैनौँ,’ सिइओ बसिदले भने, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो।
त्यसैले यही मान्यताका साथ हामीले नेपालमा पनि आफ्ना सामग्रीहरू लन्च गरेका हौं।’ उनले बेलाको ब्रान्ड बेलायतको ब्रान्ड भएको र कतारलगायत विश्वका विभिन्न देशका उपकरण उपलब्ध भएको जनाउँदै नेपालमा पनि ब्रान्ड भित्र्याउन पाउँदा खुसी लागेको बताए।
‘नेपालमा हामीले गरेको यस सुरूवातले केही संख्यामा रोजगारी सिर्जना हुनेछ भने आर्थिक अवस्थामा पनि सुधार आउनेछ,’ उनले भने, ‘हामी र हाम्रो सामग्रीले विदेशमा जसरी माया पाएको छ, नेपालमा पनि त्यसरी नै माया पाउँछ भन्नेमा आशावादी छौँ।’ उनले आफूहरूको सामग्रीको प्रयोगले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा आइकेबिएच ग्रुपका कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले आफूहरूले ग्राहकको सन्तुष्टिलाई सबैभन्दा बढी प्राथकितामा दिने बताए। ‘हामीले अहिले नेपालमा विभिन्न २८ वटा प्रडक्टको बिक्रीवितरण सुरु गरेका छौं,’ सापकोटाले भने, ‘फ्रिज, आइरन, वासिङ मेसिन, भ्याकुम मेसिनलगायत सबै गुणस्तरीय उपकरण सस्तो र सुलभ दरमा नेपालमा उपलब्ध गराएका छौं।’ उनले आफ्नो सामग्रीको बिक्रीवितरणका लागि नेपालका प्रमुख शहरमा आफ्नै एजेन्ट उपलब्ध भएको जानकारी दिए।
त्यस्तै आइकेबिएच ग्रुपका नवनियुक्त ब्रान्ड एम्बास्डर खड्काले बेलाको ब्रान्डमा जोडिन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए। ‘आफ्नो क्षेत्रमा मैले दर्शकहरूको माया पाइरहेकै छु। तर यस्ता कर्पोरेट क्षेत्रसँग जोडिन पाउँदा मलाई थप गौरव अनुभुति हुन्छ,’ खड्काले भने, ‘बेलाको ब्रान्डका उपकरणहरू निकै आकर्षक र गुणस्तरीय छन्। यस ब्रान्डका सबै सामग्री आफैंलाई प्रयोग गरिरहुँ भन्ने लागिरहेको छ।’ उनले आर्थिक संकटको समयमा पनि यस्तो गतिविधि गर्नु नेपालका लागि खुसीको कुरा भएको बताए।
आफ्नो व्यावसायिक क्षेत्रलाई विस्तार गर्दै उपभोक्ताको रोजाइका सामग्री उपलब्ध गराउन आइकेबिएच ग्रुपले बेलायती कम्पनी बेलाकोका सामग्रीहरूको बिक्री सुरु गरेको हो। जसमा बेलाको रेफ्रिजरेटर, वासिङ मेसिन, टिभी, विद्युतीय किट्ली, अटोमेटिक ग्यास चुलो, हिटर, विभिन्न किसिमका राइस कुकर, स्यान्डविच मेकर, आइरन, स्ट्रिस जुसर र मल्टीफंक्सन ब्लेंडर जस्ता उपकरणहरू छन्।
आइकेबिएच ग्रुप कतारमा आधारित कम्पनी हो। यसले इभापोरेटिभ एयर कूलर, मिस्ट फ्यान, इन्डस्ट्रियल फ्यान, भेन्टिलेसन फ्यान, घरेलु उपकरण, किचन एप्लायन्सेस, हिटर, एयर कन्डिसन, इत्यादि उत्पादनहरू उपलब्धता गराउँदै आएको छ। हाल यसले नेपालमा यी उपकरणको डेलिभरी गर्ने, मर्मत गर्नेलगायतका काम गर्दै आएको छ।