काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्न रहेको पुष्टि भएपछि वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले उनको निवासबाटै पक्राउ गर्यो। उनलाई प्रहरी परिसर टेकुमा रखिएको छ। अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
यही प्रकरणमा खाँणकी श्रीमती तथा बहालवाला सांसद मञ्जु खाँणको नाम पनि मुछिएको छ। यो प्रकरणमा पक्राउ परेको गिरोहका एक सदस्यले मञ्जु खाँणलाइ ६ करोड बुझाएको भनिएको अडियो रेकर्ड सार्वजनिक भएको थियो। तर, लगत्तै मञ्जु फरार भइन्।
यसअघि यो मुद्दामा १२ जना पक्राउ परिसकेका छन्। जसमा उपराष्ट्रपति कार्यालयका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप छन्। त्यस्तै विचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई छन्।
छोरा पक्राउ परे पनि एमाले सचिव रायमाझी भने अझै फरार छन्। उनलाई एक साताअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
यो विशुद्ध ठगी घटना हो। सरकारले यो वा त्यो निहुँमा यो प्रकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगायो भने घटना सामसुम हुनेछ। अब देशमा केही हुन्छ भनेर सानोतिनो आश’ मा बसेका सर्वसाधारणको कानुन र न्यायबाट विश्वास हराउने छ।
त्यही भएर महाठगीको यो घटनालाई प्रहरीकै जिम्मामा छाडिदिनुपर्छ। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रशासन सबै एकतमत भई कारबाही प्रक्रियालाई प्रहरी प्रशासनबाटै टुंगोमा पुर्याउनुपर्छ।