काठमाडौं। नेपालमा पछिल्लो समय हातले काम गरेर व्यवसाय सञ्चालन गर्ने अर्थात घरेलु व्यवसाय गर्नेको संख्या बढ्दो छ। घरेलु व्यवसायमा पनि तत्कालै नबिग्रिने र स्टक राख्दा पनि घाटा नहुने व्यवसायतर्फ धेरैको ध्यान जानु स्वाभाविक हो।
कहिलेकाहीँ महामारी एवं विपत्ति हुँदा आफ्ना उत्पादन बिक्री गर्न समस्या हुन्छ। त्यस्तो अवस्थामा उत्पादित सामान स्टक राख्दा पनि नबिग्रिएर पछि बेच्न सकिने व्यवसायमा सबैको चासो हुन्छ।
त्यस्तै व्यवसायभित्र पर्छ ऊनबाट हातले सामान बनाउने काम, अर्थात् ह्यान्डीक्राफ्ट व्यवसाय। चितवनमा जन्मिएका तेलबहादुर कुमाल (विशाल) ले ३ जना साथीसँग मिलेर सन् २००२ मा ट्रेडिङ बिजनेसका रूपमा व्यवसाय सुरु गरेका थिए।
चितवनमा जन्मिएपनि उनले काठमाडौंबाट आफने व्यवसायीक यात्रा सुरु गरेका हुन्। ४ लाख रुपैयाँमा ३ जना मिलेर सुरु गरेको व्यवसाय अहिले उद्योगमा परिणत भएको छ भने पुँजी बढेर ६ करोड रुपैयाँ पुगेको विशाल बताउँछन्।
साथ दिन्छु भन्नेहरू सधैंसँगै हुन सजिलो छैन। कुमाललाई साथ दिएका २ जनाले व्यवसाय सुरु गरेको करिब ३ वर्षमा छोडेर अन्य काम गरे। तर, कुमाल आफने व्यवसायलाई थप व्यवस्थित बनाउन तर्फ लागेको सुनाउँछन्। ‘साथीहरूले बीचमै छोड्नु भयो, अनि आफ्नै परिवार मिलेर सञ्चालन गर्यौं। लाखबाट सुरु गरेको उद्योग करोडौंको बनिसक्यो खुसी छ,’ उनले सुनाए।
कुमाल जातिको परम्परागत बसोबास खोला किनार छेउमा हुन्छ। जिविकोपार्जन भने माछा मारेर, जङ्गलमा निगुरो खोजेर चल्थ्यो। पीछडिएको समुदाएमा जन्मिएका विशालले आफ्नो जीवन मात्रै सफल बनाएका छैनन् आफ्नो समुदयकै जीनस्तर सुधार गर्नतर्फ लागिरहेका छन्।
सन् २००२ मा नेपाली उत्पादनलाई विदेश निर्यात गर्ने गरी ‘लस्ट होराइजन इन्टरनेस्नल ह्यान्डीक्राफ्ट’ काठमाडौंमा स्थापना गरेका थिए। ह्यान्डीक्राफ्टसम्बन्धी उद्योगीहरूको साझा संगठन ‘नेपाल उनी फेल्ट उतपादक तथा निर्यात संघ’ छ। तेजबहादुर लस्ट होराइजन इन्टरनेस्नल ह्यान्डीक्राफ्टका मेनेजिङ डाइरेक्टर एवं संघको महासचिव हुन्। उक्त संघमा एक सयबढी कम्पनी आबद्ध छन्। सबै कम्पनीहरू काठमाडौंभित्र सञ्चालनमा रहेपनि कुमालले आफ्नो उद्योगको शाखा चितवनमा सञ्चालन गरेका छन्।
सन् २००९ सम्म व्यापारीकै रूपमा उनीहरूले विदेशबाट अर्डर लिने र नेपालमा अरुले ऊनबाट हातले बनाएका सामान विदेश निर्यात गरेको उनको भनाइ छ। त्यसपछि भने अरुका सामान बेच्ने मात्रै होइन लस्ट होराइजनमै अर्डरअनुसारका सामान बनाउन थाले अर्थात् लस्ट होराइजनलाई उद्योगका रूपमा अघि बढाए।
‘हाम्रो समुदाय आर्थिकरूपमा पछाडि परेको थियो, आयस्रोत नहुँदा जङ्गलमा निगुरो खोज्न जाँदा बाघले मान्छे खाएको देखेको थिएँ, माछा मार्दा पानीमा डुमेर मरेका पनि देखेपछि यहाँको जीवनस्तरलाई माथि उठाउन उत्पादनमा जोड दिनुपर्छ भनेर चितवन शाखा विस्तार गरेको हो,’ क्यापिटन नेपालसँगको कुराकानीमा कुमालले भने, ‘अहिले धेरै परिवर्तन भएको छ, शिक्षा र स्वास्थमा पहुँच बढेको देख्दा खुसी लाग्छ।’
उनका अनुसार चितवनको मेघौली क्षेत्रमा ह्यान्डीक्राफ्ट सुरु गर्दा १५० जना थिए। सो सङ्ख्या बढेर ४०० पुगिसकेको छ। खरको छानो लगाएर दुई छाक खान धौधौ हुने समुदायले टीनको छानो फेरेर उद्यममा जोडिएको सुनाउँदा कुमालको अनुहारमा चमक देखिन्थ्यो।
१० अर्बको उत्पादन निर्यात गर्ने योजना
नेपाल ऊनी फेल्ट उतपादक तथा निर्यात संघमा जोडिएका एक सय उद्योगीले वार्षिक ६ देखि ७ अर्ब रुपैयाँको ऊनका सामान विदेश निर्यात गर्दै आएका छन्। त्यस्तै २५ हजारले रोजगारीसमेत पाएका छन्। उत्पादनको मात्रा बढाएर वार्षिक १० अर्ब पुर्याउने तयारीमा उद्योग व्यवसायीहरू छन्।
तर, सरकारले बजारीकरणदेखि उत्पादनमा सहयोग नगर्दा समस्या भएको कुमालले बताए। भेडाको ऊनबाट ह्यान्डीक्राफ्टका सामान बनाउनु पर्छ। ‘अहिले वार्षिक ७ अर्ब रुपैयाँ बढीको सामान निर्यात गर्छौं। सय वटै उद्योगमा २५ हजार बढीले रोजगारी पाएका छन्। राज्यले उद्योगीलाई सहयोग गर्ने हो भने अझै निर्यात गर्न सकिन्छ,’ कुमाल भन्छन्। उनका अनुसार संघले अब ५ वर्षमा वार्षिक १० अर्ब रुपैयाँबराबरका सामान निर्यात गर्ने लक्ष्य राखेको छ।
युवा जनशक्ति विदेश पलाय हुनबाट रोक्न स्वदेशी उद्योगमा लगानी गर्नुपर्ने उनको भनाइ छ। राजनीतिक अस्थिरताले विकास गर्न नसकिएको र युवामा निराशा बढ्दै गएकाले राज्यलाई घाटा भइरहको विशाल बताउँछन्।
ऊन बनाउनका लागि भेडा आवश्यक पर्छ। तर, नेपालमा उद्योगलाई आवश्यक पर्ने ऊन उत्पादन हुँदैन। भेडा पालन प्रसस्त नहुँदा उद्योगीले विदेशबाट ऊन आयात गर्नुपर्ने बाध्यता छ। वार्षिक ३ अर्ब रुपैयाँबराबरको भेडाको ऊन भित्रिले कुमालले बताए।
‘नेपालमा भेडा पालन गर्ने परम्परा छ तर, त्यसले उद्योग चल्दैन, व्यसायीकरूपमा भेडापालन गर्न सरकारले सहयोग गर्यो भने ३ अर्ब नेपालमै बस्छ,’ कुमाल भन्छन्, ‘सँगै मासुको व्यवसाय पनि बढ्छ र रोजगारी सिर्जना हुन्छ। तर, सरकारले यसतर्फ ध्यान दिएको छैन।’
ऊनबाट बनाएका सामानको मूल्य बढी पर्ने भएकाले नेपालमा भन्दा विदेशमा बढी बजार रहेको व्यवसायीको अनुभव छ। पेपर क्राफ्ट, मेटल क्राफ्ट हुँदै अहिले भेडाको ऊनबाट मात्रै बनेका सामान लस्ट होराइजनमा पाइन्छ।
लस्ट होराइजनको काठामाडौं कार्यालयमा २ सय र चितवनमा ४ सय जनाले रोजगारी पाएका छन्। रोजगारी पाउनेमा अधिकांश महिला छन्। ति महिला पनि शिक्षाको पहुँच कम भएका वा आर्थिक अवस्था कमजोर भएकाहरु रहेको विशालको भनाइ छ।
ह्यान्डीक्राफ्टको क्षेत्रमा भारत र चीनभन्दा नेपालले राम्रो गर्न सक्ने भएपनि सरकारी वेवास्ताले गर्दा उत्पादनकर्ता र उद्योगीले उचित स्थान पाउन नसकेको कुमालले बताए। नेपालमा बनेका सामान विश्वका १५० देशमा पुग्ने र सबै देशबाट राम्रो प्रतिक्रिया आउने गरेको छ। ‘बजारीकरणदेखि अन्य सौलियतमा सरकारले चासो नदिने तर, उत्पादनलाई विदेश निर्यात गर्नु भन्ने मात्रै हुन्छ?’ उनले आक्रोश पोखे।
आफ्ना उत्पादनलाई प्रचार प्रसार गर्न कुमाल नेपलका विभिन्न स्थानमा हुने प्रदर्शनी कार्यक्रममा जान्छन्। काठमाडौंको हायात होटल, भृकुटिमण्डपलागत देशका अन्य ठाउँमा पुगेका छन्। त्यस्तै जापान, अमेरिकालगायत देशमा पनि उनले प्रदर्शन गरी सकेका छन्।
पछिल्लो पटक भने ‘चितवन उद्योग संघ’ ले भरतपुरमा बनाएको प्रदर्शनी हलमा २०८० वैशाखमा उनले आफ्ना उत्पादन पुर्याएका थिए। तेजबहादुरले जस्तै चितवनमा देशैभरीका उद्योगीहरू आफ्ना उत्पादनको प्रदर्शन गर्न पुगेका थिए।
त्यसबाहेक कुमाल तालिम दिनका लागि चितवन, पोखरा, विरगन्ज, काठमाडौंमा पुगेका छन्। तर, पूर्वाधारको राम्रो व्यवस्था नहुँदा काठमाडौं बाहिर भने उद्योग सञ्चालन गर्न नसकिएको उनको भनाइ छ। ‘एउटै स्थानमा धेरै उद्योग व्यवसाय हुनु राम्रो होइन, तर, उपत्यका बाहिर पूर्वाधारको राम्रो व्यवस्था नहुँदा ह्यान्डीक्राफ्ट उद्योग सञ्चालन गर्न समस्या भएको छ’ उनले भने।
कति हुन्छ आम्दानी?
ह्यान्डीक्राफ्ट व्यवसायबाट जिविकोपार्जन गर्न समस्या नहुने कुमाल बताउँछन्। घरको काम गरेर ७/८ घण्टा ह्यान्डीक्राफ्टलाई समय दिँदा मासिक २० हजार रुपैयाँ बढी कमाउन सकिन्छ। मिहिनेत गरेर धेरै समय दिने हो भने ४० हजारभन्दा बढी कमाइ हुने गर्छ। जसका कारण जिवन चलाउनकै लागि विदेश जानुपर्ने बाध्यता नरहेको कुमालले बताए।
कुमाल भन्छन्, ‘हामीसँग श्रीमान/श्रीमती पनि सँगै काम गर्नु भएको छ। विदेश जानुपर्ने बाध्यता हुँदैन, सीप सिके घरमै बसेर सामान बनाएर बेच्न पनि सकिन्छ।’ उनको उद्योगमा क्रिसमसका आइटम, कार्पेट, जुत्ता, चप्पल, टोपी, जनावर, पर्स, ब्याग, रुमाललगायत ग्राहकको अर्डरअनुसार सबै सामान बन्ने गर्छ। कुमालका २ छोरा छन्। दुवै छोरा र श्रीमती पनि उद्योगमै आबद्ध छन्।
सीप सिक्न वा व्यवसायमा जोडिन चाहानेले लस्ट होराइजन वा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघमा जोडिन सक्ने उनको भनाइ छ।