काठमाडौं। खानेपानी मन्त्रालयले २०८० को बर्खामा मेलम्चीको पानी आपूर्ति नियमित गर्ने योजना बनाएको थियो। तर, आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने घोषणा गर्यो।
समितिले गर्दै आएको काम कसलाई जिम्मा दिने र त्यहाँका कर्मचारीलाई कसरी व्यवस्थान गर्ने जस्ता कुनै योजना नबनाइ सरकारले हचुवाका भरमा उक्त निर्णय गरेको जाकारहरू बताउँछन्।
बजेटमा घोषणा गरेको विषय सरकारले न कार्यान्वयन गर्न सक्यो न त नियमितरूपमा भइरहेका काम सञ्चालन हुन पाए। बरु समितिका कार्यरत ६० भन्दा बढी कर्मचारीले करिब ७ महिनासम्म तलब पाएनन्। अन्ततः २०७९ चैत २७ गतेको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी पुनर्गठन गर्ने निर्णय गरेको खानेपानी मन्त्रालयले जनाएको छ।
सरकारले जेठमा घोषणा गरेको आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेर चैत अन्तिममा फिर्ता लिएपनि मन्त्रालय र विकास समितिले पानी नियमित ल्याउने गरी काम गर्न पर्याप्त समय नभएको बताएका छन्। नियमित पानी सञ्चालन गर्ने योजना बनाउँदा बनाउँदै पनि २०८० मा बन्द गर्नु पर्ने अवस्था आएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) पदम कुँवर बताउँछन्।
उनका अनुसार मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा ल्याउन १० करोड रुपैयाँभन्दा बढी लाग्छ। तर, यो वर्ष भने बजेटभन्दा पनि समय नै थोरै हुँदा मेलम्ची मर्मत गर्न नसकिएको हो। सिडिई पन्तले क्यापिटल नेपालसँग भने, ‘मन्त्रालय र विकास समितिको योजना यसपालि नियमित पानी सञ्चालन गर्ने थियो। तर, समिति निस्क्रिय भएपछि काम गर्न सकिएन, अन्तिम समयमा आएर पुनर्गठन भयो, छोटो समयमा मर्मत गर्न सक्ने अवस्था छैन।’
दुई साताका लागि जेठमै पानी बन्द
विकास समितिले जेठ १ गतेबाट २ साताका लागि काठमाडौंमा पानी नपठाउने भएको छ। एक सूचना जारी गर्दै मेलम्चीको पानी केही समय बन्द हुने जनाएको हो।
बर्खा लाग्न सुरु हुनै लाग्दा मेलम्ची किन बन्द हुँदैछ? जवाफमा सिडिई कुँवर भन्छन्, ‘बर्खाका लागि अहिले नै बन्द गर्न लागेको होइन, पोहोरको जस्तो छिट्टै बन्द गर्न नपरोस र हिउँदमा पनि कात्तिक अन्तिम तिर वा मंसिर लाग्ने बित्तिकै पानी छोड्न सकियोस भनेर अहिले मर्मतका लागि बन्द गरेको हो। बढीमा दुई साता पछि नियमित पानी सञ्चालन हुन्छ।’
आयोजनाको गेट नम्बर १ र ९ मा समान्य मर्मतका लागि विकास समितिले पानी बन्द गर्न लागेको हो। गत वर्ष जेठ १६ मै प्रिमन्सुन सुरु भएकाले पानी बन्द गरेर मंसिर १२ गते मेलम्चीबाट सुरुङमा पानी हालिएको थियो। काठमाडौंमा भने मंसिर २२ गतेबाट नियमित वितरण गरिएको पानी जेठ १ गतेबाट २ साताका लागि बन्द हुँदैछ।
गेट मर्मतका लागि भने छुट्टै बजेट आवश्यक नपर्ने विकास समितिले जनाएको छ। २०७८ असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले निर्माणको अन्तिम चरणमा पुगेको खानेपानी आयोजनामा क्षति पुगेको थियो। जसकार कारण हिउँदमा पानी काठमाडौंमा ल्याउने र बर्खामा बाढीले सुरुङमा क्षति पुग्ने भएकाले बन्दै गर्ने गरिन्छ।
तर, २०८१ को बर्खामा भने पानी नियमित ल्याउने गरी मर्मत गर्ने तयारीमा मन्त्रालय, विकास समिति र एसियालि विकास बैंक रहेका छन्।