काठमाडौं। करोडौं रूपैयाँ सञ्चित नोक्सानमा भएको नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर(आइपिओ) निष्कासन गरेको छ।
नागरिक दैनिक र रिपब्लिका अंग्रेजी संस्करण प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाको सञ्चित नोक्सान ४७ करोड २४ लाख १० हजार रुपैयाँ रहेको आइपिओ निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनी आगामी ३ वर्षमा सञ्चित नोक्सान घटेर ३१ करोड ६४ लाख ४७ हजार रुपैयाँ झर्ने देखाएको छ। ३ वर्षको प्रक्षेपित वित्तीय विवरण हेर्दा लगानीकर्ताले लामो समयसम्म लाभांश पाउने अवस्था देखिन्दैन्। कम्पनीको सञ्चित नोक्सान धेरै भएकाले जोखिम बहन गर्ने क्षमता कमजोर रहेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले नेपाल रिपब्लिकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाएको छ।कम्पनीको वित्तीय सूचक सबै कमजोर देखिएको छ।
कम्पनीले चालू आर्थिक वर्षमा सञ्चित नोक्सान घटेर ४६ करोड ३५ लाख रूपैयाँ हुने अनुमान गरेको छ। यस्तै आगामी आर्थिक वर्ष ०८०/०८१ मा कम्पनीको सञ्चित नोक्सान ४० करोड ९९ लाख रूपैयाँ कायम हुने सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
आइपिओ निष्कासन प्रयोजनका लागि नेपाल रिपब्लिकले चालू आर्थिक वर्षदेखि नाफामा जाने वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षमा ६५ लाख १७ हजार रूपैयाँ खुदनाफा गर्ने वित्तीय विवरणमा उल्लेख छ।
यस्तै आगामी आर्थिक वर्षमा ५ करोड ३६ लाख र तेस्रो वर्ष ०८१०८२ मा ९ करोड ३४ लाख रूपैयाँ खुदनाफा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। कम्पनी नाफामा जाने अनुमानका आधारमा प्रतिसेयर आम्दानी १.२२ रूपैयाँ हुने अनुमान कम्पनीको छ।
आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी बढेर ५.५५ र तेस्रो वर्ष ९.६६ रूपैयाँ पुग्ने प्रक्षेपण नेपाल रिपब्लिक मिडियाको छ। अघिल्ला ३ वर्षमा निरन्तर घाटामा गएको वित्तीय विवरणमा देखाइएको छ।
प्रतिसेयर आम्दानी पनि ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्षदेखि बढ्ने देखिएको छ। जसअनुसार यो वर्ष ९९.७६ रुपैयाँ पुग्ने अनुमान छ। गत आर्थिक वर्षमा ८६.१३ रुपैयाँ मात्र थियो।
आगामी आर्थिक वर्षमा प्रतिसेयर नेटवर्थ १ सय ७.९४ र तेस्रो वर्ष १ सय २०.४१ रूपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ। ३ वर्षको नेटवर्थमा औसत प्रतिफल १३.५४ प्रतिशत ऋणात्मक छ।
चालू आर्थिक वर्षमा १७ करोड ४ लाख रूपैयाँ कूल आम्दानी गर्ने अनुमान कम्पनीले गरेको छ। आगामी वर्ष २३ करोड ४३ लाख र तेस्रो वर्ष २५ करोड ११ लाख रूपैयाँ खुदआम्दानी गर्ने वित्तीय विवरणमा उल्लेख छ।
३२ करोड ९४ लाख ऋण
नेपाल रिपब्लिकको कूल ऋण ३२ करोड ९४ लाख रूपैयाँ छ। जसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई २७ करोड ५ लाख र नबिल बैंकलाई ५ करोड ८९ लाख रूपैयाँ ऋण तिर्न बाँकी छ। आइपिओ बिक्रीबाट संकलन हुने रकम कर्जा तिर्ने योजना रहेको मिडियाले जनाएको छ।
आइपिओ बिक्रीको रकम बुझाउँदा पनि कम्पनी ऋण २ करोड रूपैयाँ बाँकी रहने छ। कोभिड १९ को महामारीको प्रभावले विज्ञापन आम्दानी प्राप्ति १ हजार रूपैयाँ सिसीबाट घटेर ४ सय रूपैयाँ सिसीमा पुगेकोमा बजार सुधारसँगै क्रमशः १ हजार रूपैयाँमानै पुर्याउने लक्ष्य राखिएको छ।
कोभिड १९ को महामारीपछि पत्रिकाको ग्राहक शुल्कमा धेरै छुट दिँदै आएकोमा उक्त छुट रकम घटाउँदै जाने र प्रतिअंक आम्दानी प्राप्ति बढाउँदै लैजाने लक्ष्य राखिएको छ।
कम्पनीले छापिएको पत्रिकाको संख्या, बिक्रीबाट खुद आय प्राप्ति, जम्मा विज्ञापन बिक्री (प्रतिसिसी) औसत दरप्रति सिसी, प्राप्ति प्रतिसिसी खुद आय प्राप्ति, कूल बिक्री आम्दानीलाई आधार मानिएको छ।
कोभिड सुरू हुनुभन्दा पहिले यस मिडियाले वार्षिक ५१ करोड रूपैयाँसम्मको व्यापार गरिरहेकोमा त्यस पश्चात प्रभावित भएको बजारको कारण कम भएको व्यापारलाई माथि उल्लेखित योजनाहरु कार्यान्वयन पश्चात् दुई वर्षभित्रमा प्राप्ती गर्ने दाबी कम्पनीको छ। कम्पनीको भवन र जग्गा गरी ५१ करोड रूपैयाँ सम्पत्ति लेखाङकन गरिएको छ।
नेपाल रिपब्लिक मिडिया २०६५ साउन २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो। २०७८ असार ७ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ।
कम्पनीले २०६६ वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरु प्रकाशन गर्न सुरू गरेको हो। २०६८ साउन ४ गतेदेखि नेपालमा अन्तर्राष्ट्रिय दैनिक पत्रिका न्युयोर्क टाइम्सको इन्टरनेसनल इडिसनको नियमित प्रकाशन तथा बिक्री वितरण गर्दै आईरहेको छ।
बन्द रहेको रिपब्लिका अंग्रेजी दैनिक २०८० जेठदेखि प्रकाशन गर्ने कम्पनीले जनाएको छ। यसको प्रकाशनले बजार क्षेत्र थप विस्तार हुने कम्पनीको भनाइ छ। छपाई कार्यलाई थप आधुनिकरण गदै प्रविधिमैत्री बनाउदै लैजाने इमाडोलमा रहेको प्रेसलाई थप आधुनिकिकरण गरी नयाँ ठाउँमा स्थानान्तरण गर्ने योजना रिपब्लिकले सार्वजनिक गरेको छ। उक्त कार्य २०८० साउनदेखि सुरू गरिने विवरणपत्रमा उल्लेख छ।
उक्त प्रेसको स्तर वृद्धि गरी किताबहरू समेत छपाई कार्य गरिने योजना रहेको छ। ईमाडोल ललितपुरस्थित प्रेसको स्तरिकरण साउनदेखि र नेपालगञ्ज तथा पोखरा लगायतका प्रेसहरूमा एक वर्षपछि सुरू गरिने विवरणपत्रमा उल्लेख छ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा जानेलाई त्यसपछि सर्वसाधारणलाई आइपिओ निष्कासन गर्न लागेको हो। साधारण सेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रूपैयाँ पुग्ने छ।
कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रूपैयाँको ४४.९९ प्रतिशत सेयर अर्थात ४३ करोड ५३ लाख रूपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरि प्राप्त रकम बैंकबाट लिइएको कर्जा चुक्ता, नयाँ छपाई केन्द्रको स्थापना, पत्रकारको क्षमता तथा खोजमूलक पत्रकारिताको स्रोत साधन वृद्धिमा उपयोग गरिने उल्लेख छ।