काठमाडौं। कोरियाली कम्पनीको साझेदारीमा नेपालमा सामसङ टेलिभिजन उत्पादन थालेको गोल्छा ग्रुपको हिम इलोक्ट्रोनिक्स प्रालिको व्यापार १९ प्रतिशत बढेको छ। कम्पनीले सन् २०२२ मा ८ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ।
यस्तै सन् २०२१ मा ६ करोड ८८ लाख र २०२० मा ४ करोड ७० लाख रुपैयाँ व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। एक वर्षको अवधिमा हिमको व्यापार १ अर्ब २८ करोड २० लाख रुपैयाँ बढेको छ।
२०१९ मा ५ अर्ब ९ करोड र २०१८ मा ५ अर्ब ५१ करोड रुपैयाँ कारोबार गरेको थियो। सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार हिमको व्यापार बढ्दै गएको देखिन्छ।
प्रमुख आयातकर्ता हिम इलेक्ट्रोनिक्स घरेलु उपकरणका साथै सामसङ मोबाइलको आधिकारिक आयातकर्ता र वितरक हो। सामसङको बलियो ब्रान्डले गर्दा हिमको दायरा फराकिलो बन्दै गएको देखिन्छ। यसले पछिल्ला वर्षहरुमा हिमको व्यापारमा वृद्धि भएको छ।
ह्यान्ड होल्ड उपकरणका साथै घरेलु उपकरणहरू र इलेक्ट्रोनिक्स, बजाज, इन्डोएसियन र ओसराम र टाइमेक्स घडी जस्ता ब्रान्डका विद्युतीय र साना उपकरणहरू आयात गर्दै आएको छ। हिमस्टार ब्रान्डको उपभोक्ता इलेक्ट्रोनिक्स, घरेलु उपकरण र वैकल्पिक उत्पादन गर्ने एसेम्बलिङ युनिट पनि छ।
हिमले ४ अर्ब ६१ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। कुल व्यापारमा सामसङ उत्पादनहरुको हिस्सा ८० देखि ९० प्रतिशत रहेको छ। जसअनुसार २०१९ मा ७२, २०२० मा ७७, २०२१ मा ८४ र २०२२ मा ८५ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ।
हिम इलेक्ट्रोनिक्स सन् १९८८ मा स्थापना भएको व्यापार कम्पनी हो। नेपालमा इलेक्ट्रोनिक्स व्यवसायको पुरानो खेलाडी मध्ये एक हो। हिम गोल्छा ग्रुपको एक अंग हो।
गोल्छा परिवारको स्वामित्वमा रहेको सबैभन्दा पुरानो र विविध व्यापार समूहहरू मध्ये हिम एक हो। यसको ७५ प्रतिशत हिस्सा शेखर गोल्छाको छ। बाँकी २५ प्रतिशत सेयर गोल्छा परिवारको रहेको हिमले जनाएको छ।
सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका सामसङ टेलिभिजन बनाउने एसम्बल उद्योग सञ्चालनमा ल्याएको छ। गोल्छा ग्रुपले २०२२ अगस्टमा उद्योग शिलान्यास गरेको थियो। कम्पनीले गएको अप्रिल ५ बाट परीक्षण उत्पादन सुरू गरेको छ।
उद्योगले ३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका सामसङ टेलिभिजन उत्पादन गर्ने हिम इलेक्ट्रोनिक्सले जनाएको छ।
कम्पनीले आगामी दिनमा वासिङ मेसिनलगायतका सामान नेपालमा मात्रै नभई विदेशमा पनि निर्यात गर्ने योजना बनाएको छ। ग्रुपले भारतीय बजाज मोटरसाइकलको एसेम्बल गरिरहेको छ।