काठमाडौं। पछिल्लो समय मुलुकमा हवाई दुर्घटनाको दर बढ्न थालेसँगै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सेफ्टीको विषयमा चासो बढाएको छ।
प्राधिकरणले सेफ्टीका विषयमा नियामक निकाय र अपरेटरहरुबाट कहाँ कहाँ गल्ती भयो र को कहाँ चुक्यो भन्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल अगाडी बढाएको हो।
प्राधिकरणले शुक्रबार एयरलाइन्स कम्पनीका अपरेटरहरुलाई बोलाएर सेफ्टीको विषयमा चासो राखेका छ। हवाई दुर्घटनाको दर बढेको कारण चौतर्फी विरोध भइरहेको बेला प्राधिकरणले पहिलो पटक सरोकारवाला निकायहरुसँग छलफल अगाडी बढाएको हो।
प्राधिकरणले एयरलाइन्स कम्पनीका एकाउन्टेबल म्यानेजरहरुलाई बोलाएर दुर्घटनाको दर बढ्नुको कारण र न्यूनिकरणका लागि पुरा गर्नुपर्ने दायित्वका लागि कसले के गनुपर्छ? भन्ने विषयमा छलफल अगाडी बढाएको जनाएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्स कम्पनीका एकाउण्टेबल म्यानेजरहरुसँग हवाई दुर्घटना न्यूनिकरणका लागि प्राधिकरणले पुरा गर्नुपर्ने विषयहरु र एयरलाइन्सको तर्फबाट गर्ने कामहरुको विषयमा छलफल केन्द्रित गरिएको बताए।
हवाई दुर्घटनालाई रोक्नका लागि को कहाँ चुकेको छ? र कसले के गर्दा ठिक हुन्छ? भन्ने विषयमा सबै जना गम्भिर भएर लाग्ने विषयमा एकमत भएको उनले बताए।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलले प्राधिकरणले हवाई सुरक्षाको विषयमा छलफल गरेको बताए। पछिल्लो समय दुर्घटनाको दर बढिरहेको, एयरलाइन्स र प्राधिकरणकै चौतर्फी विरोध भइरहेको बेला महानिर्देशकको पहलमा भएको छलफल निकै सकरात्मक भएको उनले जानकारी दिए।
‘सम्भवतः प्राधिकरणले पहिलो पटक सबै एकाउन्टेबल म्यानेजरहरुलाई बोलाएर छलफल गराएको हो,’प्रवक्ता कंडेलले भने, ‘हामीसँगै प्राधिकरण पनि सेफ्टीको विषयमा गम्भिर भएर लागेको पाइन्छ।’
छलफलको क्रममा हवाई सेफ्टीलाई चुस्त बनाउन प्राधिकरण दुई वटा बनाउने विषयमासमेत चर्चा चलेको थियो। खासगरी बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत,श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तल लगायतले प्राधिकरणमा सेफ्टी हेर्ने विभाग चुस्त हुनुपर्ने बताएका थिए।
उनिहरुले नियमन गर्ने र पूर्वाधार बनाउने निकाय एउटै हुँदा सेफ्टीमा केही समस्या भएको हुन सक्ने बताउदै यसलाई छुट्टाछुट्टै बनाउदा राम्रो हुने सुझावसमेत दिएका थिए।
पूर्व महानिर्देशकहरुले प्राधिकरण दुईवटा बनाउने विषयमा छलफल अगाडी बढाएर संसदमासमेत प्रक्रिया अगाडी बढिसकेको अवस्थामा हालका महानिर्देशक अधिकारी भने यो विषयमा मौन रहेका बारेमा प्रश्न गरेका थिए।
तर,महानिर्देशक अधिकारीले भने युरोपियन युनियन (इयु) ले प्राधिकरण दुईवटा बनाउनु पर्ने विषय कही उल्लेख नगरेको र त्यसको प्रभाव सेफ्टीमा नपर्ने जिकिर गरेका थिए।
छलफलमा थोरै मात्र बोलेका महानिर्देशक अधिकारीले बढि मात्रामा हवाई सञ्चालकहरुकै जिज्ञासा र सुझाव सुनेका थिए। उनले सुरुमै आज म धेरै बोल्दिन तपाईहरुकै सुझाव र गुनासो मात्र सुन्छु भनेका थिए।
छलफलमा सहभागी एक एकाउन्टेबल म्यानेजरले शुक्रबारको छलफलले वायुसेवा सञ्चालक संघ प्रति महानिर्देशकको हेर्ने दृष्टिकोणनै परिवर्तन भएको पाइएको बताए।
महानिर्देशक भएर आएलगत्तै अधिकारी र वायुसेवा सञ्चालक संघसँगको सम्बन्धमा दरार आएको थियोर्। शुक्रबारको छलफल र यसअघि हेलिकप्टर सञ्चालकहरु र तीनका एकाउन्टेबल म्यानेजरहरु र पाइलटहरुसँगको निरन्तरको छलफललाई हेर्दा महानिर्देशक अधिकारी सेफ्टीको विषयमासमेत गम्भिर भएर लागेको देखिन्छ,’ एक सञ्चालकले क्यापिटल नेपालसँग भने,‘मुलुकको हवाई उद्योगको लागि राम्रो विषय हो।’
छलफलमा सहभागिहरुले हवाई सुरक्षाका लागि आफुहरु गम्भिर भएर लाग्दा लाग्दै पनि प्राविधिक समस्या आउदा बेला बेलामा सामान्य खालका देखिएका समस्याहरुको पनि मिडियाहरुले बढि हल्ला गरिदिएको कारण समाजमा नकरात्मक सन्देश फैलिएको बताएका थिए।