काठमाडौं। पर्यटकको संख्या बढेपछि चारतारे स्तरको ठमेल प्लाजा होटल एन्ड स्विट्स प्राइभेट लिमिटेडको व्यापार बढेको छ। सन् २०२३ को हालसम्म होटलले १५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो वर्षको तुलनामा अकुपेन्सी दर बढेर ६८ प्रतिशत पुगेपछि होटलको आम्दानी बढेको हो। २०२२ मा होटलले ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ।
सन् २०२१ मा होटलले २ करोड २० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो। होटल २०२१ को जनवरीदेखि रमदा इन्कोरको ब्राण्डमा सञ्चालनमा आएको हो।
२०२२ मा होटलको कुल आम्दानीमध्ये फूड एन्ड वेभरेज बिक्रीबाट ६८ प्रतिशत योगदान छ। यस्तै ३० प्रतिशत कोठा बिक्रीबाट हुने गरेको होटलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। होटलको अकुपेन्सी दर ३६ प्रतिशत छ। मार्जिन ४१.७८ प्रतिशत थियो।
कोरोना महामारीको असर सकिएको र पर्यटकको चहलपहल बढेकाले होटलले व्यापारमा रिबाउन्स गरेको छ। होटल डालिया इन्भेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपालीको लगानीमा रमदा इन्कोर बाई वाइनहेम काठमाडौंको व्यवस्थापनमा सन् २०२१ को जनवरीदेखि सञ्चालनमा आएको हो। जुन अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो।
उक्त चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाले गर्दा एक वर्ष ढिला गरी सञ्चालनमा आएको थियो।
होटलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रहेको होटलमा १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ लगानी भएको छ।
सन् २०१२ मा स्थापना भएको हो। होटल राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा छ। १ हजार १ सय ७० वर्गमिटरमा फैलिएको होटलमा ९० वटा कोठा रहेका छन्।
होटल सन् २०२१ जनवरीदेखि रामदा इन्कोर काठमाडौंको नाममा सञ्चालनमा छ। होटल विश्वमा ९ हजार २०० भन्दा बढी छन ।
रमदा इन्कोरको भारतमा ५२ र चीनमा १ हजार ४०० भन्दा बढी चेन होटल छन। नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन्।