रामपुर। कालीगण्डकी नदीको तटमा अवस्थित केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुँदै गएको छ। स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व)लाई जोडेको यस धामले सबैलाई लोभ्याएको छ।
निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेकाले पनि विभिन्न जिल्लाबाट दर्शन गर्न आउने गरेका छन्। केलादीधामको दर्शन गर्न नसके पनि नाम उच्चारण गरेपनि पुण्य मिल्ने जनविश्वास छ। मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले विशेषगरी हिन्दु धर्म संस्कारका कार्यका लागि यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ।
मन्दिर पुनःनिर्माण, ज्येष्ठ नागरिक भवन निर्माण, महन्त निवास, भान्छाघर, खानेपानी ट्यांकी निर्माण लगायतका पूर्वाधार विकास भइरहेकाले पछिल्लो समय धार्मिक पर्यटक बढ्दै गएको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताए।
‘केलादीधाम क्षेत्रलाई देवघाटधाम जस्तै बनाउने संकल्पका साथ भौतिक संरचना तयार पारेपछि पछिल्लो समय हरेक उमेर समूहका नागरिक दर्शन गर्न आउने क्रम बाक्लिदै गएको छ,’ उनले भने, ‘पहिला काम विशेषले मात्रै आउने नागरिक हिजोआज घुमफिर, अवलोकनका निम्ति आउने गरेको पाइएको छ।’
‘शनिबार र बिदाका दिन अवलोकन गर्न आउनेको चहलपहल बढ्दो रहेको उनी बताउँछन्। उनका अनुसार कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको हुँदा यहाँ केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनका लागि आउने गरेको पाइएको छ।
सडक सुविधाले अहिले देशका विभिन्न स्थानबाट धार्मिक अवलोकन भ्रमणमा सवारी साधनमा धार्मिक पर्यटक आउन थालेका छन्। बस, कार, भ्यान, जीप मन्दिरसम्म पुग्ने सुविधा भएपछि गाडी रिजर्भ गरेर कालीगण्डकी नदी स्नान गरी केलादीधाम दर्शन गरेर फर्कने गरेको पाइएको छ।
पहिला हिँडेर बास बसेर दर्शन गर्न आउने गरेकोमा अहिले सडक सुविधाले सवारी साधनमा आएर फर्कने गरेका छन्। यहाँ गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ।
आश्रममा हाल २२ ज्येष्ठ नागरिक छन्। विसं २०१० मा निर्माण भएका पुराना कुटीहरू (ज्येष्ठ नागरिक बस्ने घर) अझै पनि भेटिन्छन्। आश्रममा चार दशकदेखि आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेको ८० वर्षीय श्यामदासी सिग्देलले बताए।
केलादीधामको पौराणिक इतिहास
विसं २००६ मा निर्माण थालनी भई २००८ मा सम्पन्न भएको पुरानो सत्तल (दर्शनार्थी तथा बटुवा बास बस्ने ठाउँ) अहिले जीर्ण अवस्थामा छ। नौ कोठासहितको चारतले सत्तल नदी स्नान गर्न आउने, बाटो हिँड्ने बटुवा तथा मन्दिर दर्शन गर्न आउनेको आश्रयस्थलका रुपमा लिइन्थ्यो। विसं २०७२ को विनाशकारी भूकम्पले जीर्ण बनाएर पनि पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ।
यहाँ पहिलेदेखि नै पूजाआजा हुँदै आएको राधा दामोदरको पुरानो मन्दिरको विसं २०१३ मा पुनःनिर्माण गरी विधिवत पूजाआजा सुरु गरिएको छ। सो मन्दिर पनि जीर्ण बनेपछि २०७० सालदेखि निर्माण सुरु गरी २०७४ मा नयाँ निर्माण सम्पन्न भएपछि पूजाआजा सञ्चालन भइरहेको छ।
मन्दिरको नामबाट राधा दामोदर मावि र राधा दामोदर संस्कृत क्याम्पस सञ्चालन हुँदै आएको छ। विसं २०३८ मा स्थापित राधा दामोदर माविमा उच्च शिक्षासम्म आधुनिक तथा संस्कृत भाषामा पनि पठनपाठन हुन्छ। विसं २०५१ सालमा राधा दामोदर संस्कृत क्याम्पस स्थापना गरी शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ। मन्दिरमा नै बसेर पढ्न चाहनेका लागि गुरुकुल शिक्षाको पनि व्यवस्था छ। मन्दिरमा गोपाल शरण देव महन्तका रूपमा रहेका छन्।
बाटो हिँड्ने क्रममा समस्यामा परेका नागरिक, नदी स्नान गर्न आउने तथा मन्दिर दर्शन गर्न आउनेलाई आपत परेमा संस्थाको संरक्षणमा यहीँ खाना तथा बसोबासको पनि व्यवस्था छ। राधा दामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करिव १८५ रोपनी जग्गा छ। यसको संरक्षण, रेखदेख, भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा पाल्पा, स्याङ्जा र तनहुँ स्थानीयले सहयोग गरिरहेका छन्।
केलादीधाममा हाल दैनिक बिहान ६ बजेदेखि साँझ ६ वजेसम्म अखण्ड भजनकृतन हुन्छ। एक समूहलाई दुई घण्टाको समय भजन गाउने वातावरण मिलाइएको छ। दिनमा छ समूहमा आफ्नो पालो अनुसार भजनमा सहभागी हुने गर्दछन्। चौबिसै घण्टा अखण्ड भजनकृतन भइरहने गरेकोमा अहिले जनशक्ति अभावमा दिनको समयमा मात्रै नियमित भजनकृतन हुने गरेको छ।
विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाखदेखि १२ घण्टामा सीमित भएको छ। अहिले रातको समयको अखण्ड भजन भने बन्द छ। रासस