काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकदरलाई चलाएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंकदर १ प्रतिशत विन्दुले घटाएर ७.५ प्रतिशत कायम गरेको छ। यसअघि बैंकदर साढे ८ प्रतिशत थियो।
केन्द्रीय बैंकले ब्याजदर करिडोरअन्तर्रगतका अन्य दरहरूलाई भने चलाएको छैन्। यसले सीमिततापूर्वक ब्याजदर घटाउने अवस्था सिर्जना भएको छ। यद्यपि बैंक तथा वित्तीय संस्थाले गत माघदेखिनै ब्याजदर घटाउने प्रक्रिया सुरु गरेका थिए।
अर्कोतिर बैंक दरमा उपलब्ध हुँदै आएको दैनिक तरलता सुविधा ७ प्रतिशतमा सीमित गरेकाले अन्तर बैंक ब्याजदर १.५ प्रतिशत विन्दुले घट्न पुगेको छ। यसको अर्थ ब्याजदर कम्तिमा डेढ प्रतिशत विन्दुसम्म घट्ने आधार तय भएका छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्दा ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्याएको छ।
यसले बैंकहरूको सिडी रेसियो कायम राख्न सहजीकरण गर्ने भएको छ। राष्ट्र बैंकले पछिल्ला दुई त्रैमाशमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनर्कर्जा सुविधा दिने भएको छ। यसको विधि र क्षेत्र एकिकृत निर्देशनमा आउने छ।
राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड रुपैयाँसम्मको कर्जालाई २०८० असारभित्र पुनसंरचना र पुर्नतालिकीकरण गर्ने सुविधा दिएको छ।
त्यसैगरी अल्पकालिन तथा चालूपुँजी प्रकृतिका कर्जाहरूलाई पनि ३ महिनासम्मको म्याद थप गर्ने सुविधा दिएको छ। साँवा तथा ब्याज भुक्तानी गर्ने ३ महिनासम्मको अवधिमा थप शुल्क र हर्जना लिन पाइने छैन।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दा चालू निर्माण उद्योग थोक तथा खुद्रा गाडी तथा मोटरसाइकल क्षेत्र ऋणात्मक देखाएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो हुनुपर्नेमा जोड दिँदै आएका थिए। मौद्रिक नीति खुकुलो भएपछि ब्याजदर सस्तो भई लगानीमैत्री वातावरण तयार भई अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री डा। महतको जिकिर थियो। उनको मागलाई पनि मौद्रिक नीति समीक्षाले सम्बोधन गरेको छ।
मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ।
ब्याजदर क्रमशः घट्न थालेकाले कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने र यसले समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न अनुमान केन्द्रीय बैंकको छ।
मौद्रिक नीतिमा लिइएका उपायहरुको कार्यान्वयन स्थिति तथा विद्यमान राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक स्थिति र परिदृश्यलाई दृष्टिगत गरी कार्यदिशालाई सजगतापूर्वक केही लचिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ। यसको कार्यान्वयनबाट आन्तरिक तथा बाह्य क्षेत्र स्थायित्व सुदृढ भई आर्थिक गतिविधि सहज हुन सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ।