काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २९.५० मेगावाट क्षमताका दुई जलविद्युत आयोजना बनाउन लागेको छ।
३ मेगावाटको पिलुवाखोला जलविद्युत आयोजनाबाट ऊर्जामा लगानी यात्रा सुरु गरेको अरुण भ्यालीले पछिल्ला वर्ष नयाँ आयोजनामा लगानी बढाउँदै लगेको हो।
त्यसैगरी १५ मेगावाटको माथिल्लो काबेली–२ र १४.५ मेगावाटको बुदुमखोला जलविद्युत आयोजना पनि बनाउने भएको छ। दुई आयोजना निर्माण गर्न अरुण भ्यालीले विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाइसेकेको छ। उत्पादन हुने विद्युत खरिद सम्झौता (पिपिए) गर्न नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएको छ।
अरुणले एक वर्षअघि ९.८४ मेगावाटको काबेली बी १ क्यासकेड आयोजना पूरा गरी बिजुली उत्पादन गरिरहेको छ। दुई आयोजनाको जडित क्षमता अहिले १२ मेगावाट छ। सञ्चालनमा आएको र निर्माणमा जाने तयारीमा रहेका दुई आयोजना गरी केही वर्षभित्र अरुण भ्यालीको जडित क्षमता ४२ मेगावाट पुग्ने छ।
कम्पनीले ९.९४ मेगावाटको काबेली बी १ क्यासकेड आयोजना बनाउन चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँबराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।
उक्त आयोजनामा ग्लोबल आइएमई बैंक (बैंक अफ काठमाण्डु) को अगुवाइमा ऋण लगानी भएको छ।
खुदनाफा ६ करोड ४४ लाख
चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा अरुण भ्यालीले ६ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ। समीक्षा अवधिमा कम्पनीले बिजुली बेचेर २२ करोड ३५ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। ७३ लाख ६० हजार रुपैयाँ थियो।
गत आर्थिक वर्षमा कम्पनीको खुदनाफा ९ करोड ९९ लाख ८१ हजार रुपैयाँ थियो। गत वर्षको यही अवधिमा अरुण भ्यालीको खुदनाफा ४ करोड ७३ लाख ६० हजार रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ छ।