काठमाडौं। सरकारले नयाँ स्टक एक्सचेञ्ज सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया रोकिएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद बैंठकले तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।
हिमालयन स्टक एक्सचेन्ज लिमिटेड, नेसनल स्टक एक्सचेन्ज लिमिटेड र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएका थिए।
नेपाल धितोपत्र बोर्डले आवेदन दिएका कम्पनीहरुको फाइलको मूल्याँकन गर्न समिति बनाएर अध्ययन सुरु गर्न लागेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो प्रस्तावमा मन्त्रिपरिषदले तत्काल प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।
प्रतिस्पर्धी नहुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को मनोमानी बढेको, लगानीकर्ताले हरेक दिन हैरानी खेप्नु परेको, सिष्टममा समस्या आउँदा पनि घण्टौसम्म नबन्ने समस्यालाई निराकरण गर्न बोर्डले नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रिया अघि बढाएको थियो। नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएपछि पछिल्लो समय सुस्ताएको सेयर बजारले गति अपेक्षा गरिएको थियो।
बोर्डको उक्त कार्यलाई लगानीकर्ता तथा ब्रोकरलेसमेत स्वागत गरेका थिए। तर, प्रधानमन्त्री दाहालले तत्काल अघि नबढाउने मन्त्रीपरिषद्बाट निर्णय गराएपछि प्रक्रिया रोकिएको हो। केही सांसदहरुले नयाँ स्टक एक्सचेन्जको विरोध गरेका थिए।
बोर्डका अध्यक्ष रमेश हमालका अनुसार बिहीबार बेलुका ६ बजे तत्कालका लागि प्रक्रिया रोकिएको जानकारी आएको बताए। ‘बुधबार निर्णय भइसकेको छ। शुक्रबारसम्म तपाईलाई पत्र आउँछ होला भनिएको हो,’ हमालले क्यापिटल नेपालसँग भने, ‘अब प्रक्रिया अघि बढ्दैन। हामी रोक्छौ।’
बजारलाई दिगो रुपमा अघि बढाउन, लगानीकर्ताको लगानी सुरक्षित गराउन, नेप्सेलाई थप सशक्त र प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन लागिएको हो।
अहिले नेप्सेको अवस्था भारतमा सन् १९८० ताका बम्बे स्टक एक्सचेन्ज (बिएसई) जस्तो छ। बिएसई सुधार्न अनेकन प्रयास गर्दा पनि सम्भव नभएपछि नेसनल स्टक एक्सचेन्ज (एनएसई) ल्याउनुपरेको थियो। पुरातन सोचबाट अघि बढेको बिएसईमा प्रतिस्पर्धी थपिएपछि सुधारको बाटो समायो र विश्वको प्रतिस्पर्धात्मक स्टक एक्सचेन्जका रूपमा चिनिएको छ।
यहाँ पनि त्यही गर्न बोर्डले चाहेको थियो। नेप्सेलाइ सुधार्न अर्को कम्पनी चाहिने बोर्ड, लगानीकर्ताको निश्कर्षपछि नयाँ प्रक्रिया थालिएको थियो। तर, प्रधानमन्त्री दाहालले रोकिँदिएर लाखौं लगानीकर्तामाथि अन्याय गरेको लगानीकर्ताका समूहले बताएका छन्।
विश्वका प्रायः विकसित देशमा दुई वा दुईभन्दा बढी स्टक एक्सचेन्ज छन्। भारतमा २३ स्टक एक्सचेन्ज सञ्चालनमा छन्। तर, राष्ट्रियस्तरमा नाम चलेका सन् १८७५ मा स्थापित बम्बे स्टक र १९९३ मा स्थापित नेसनल स्टक एक्सचेन्ज मात्र हुन् भने बाँकी स्टक एक्सचेन्ज प्रदेशस्तरमा क्रियाशील छन्।
सुरुमा खुलेको बिएसई पुरानो प्रविधिमै रहेका बेला एनएसईले सुरुवाती दिनदेखि नै आधुनिक प्रविधि र प्रणालीमा आधारित सेवा दिएका कारण सेयर खरीद बिक्री सजिलो बन्दै गयो। त्यसपछि बिएसईले पनि आधुनिक प्रविधि प्रयोग गर्न थाल्यो।
अहिले बिएसई विश्वको छैठौं स्थानमा छ। एनएसईसँगको प्रतिस्पर्धाका कारण बिएसईलाई अझ अगाडि बढ्न हौसला मिल्यो। बिएसई र एनएसईबीच कम्पनी सूचीकरणदेखि नयाँ प्रविधि भित्र्याउनेसम्म प्रतिस्पर्धा हुने गरेको छ।