काठमाडौं। राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माण सुरु भएको १३ वर्षपछि मुल नहरबाट पानी पठाइएको छ। स्थानीय कृषकले १२० वर्षभन्दा पहिलाबाट नहर निर्माण गर्दै आएपनि सरकारले आर्थिक वर्ष २०६६/०६७ बाट आधुनिकरूपमा रानीजमरामा नहर निर्माण सुरु गरेको थियो।
आयोजना पहिलो र दोस्रो चरणमा निर्माण हुँदैछ। जसमध्ये पहिलो चरणको मुल नहरमा २०८० वैशाख २५ बाट पानी पठाउन थालिएको आयोजना प्रमुख केदार श्रेष्ठले बताए। उनका अनुसार ९ मिलोमिटर लामो मुल नहरबाट १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।
आयोजना प्रमुख श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘मुल नहरबाट गएको पानीले १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ। त्यसबाहेक पथरैयाको अरु केही भागमा पनि पानी पुग्छ। पथरैयाको पानीले मात्रै त्यहाँ सिँचाइ गर्न पुग्दैन र रानीजमराको पानीले सहयोग गर्ने हो।’
किसानले आफ्नै इन्टेकबाट सिँचाइ गर्दै आएको उक्त जमिनमा आयोजनाले पानी पुर्याएपछि किसानलाई सजिलो भएको छ। रानीजमराले कर्णाली नदीको पानीलाई नहरमार्फत् कैलाली जिल्लाको जमिन सिँचाइ गर्ने लक्ष्य राखेको छ।
निर्माण कम्पनीले नहरको भौतिक संरचना तयार गरेपनि आयोजना कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ। नहर परीक्षणसँगै सिँचाइ गर्ने उद्देश्यले पानी पठाइएको आयोजनाले जनाएको छ।
पहिलो चरणमा आयोजनाको मुल नहरको लम्बाइ ९ मिलोमिटर छ भने फिडर नहर ११ किलोमिटर लामो निर्माण भएको छ। आयोजनाको पहिलो चरणमा भौतिक प्रगति ६० प्रतिशत भएको छ। तर, निर्माणको म्याद भने १४ महिना अर्थात् आर्थिक वर्ष २०८०/०८१ सम्म छ।
अर्को वर्ष काम नसकिने भएकाले म्याद थप गर्ने तयारी रहेको आयोजना प्रमुख श्रेष्ठ बताउँछन्। ‘अहिले ६० प्रतिशत भएको निर्माणकार्य अर्को वर्ष सकिँदैन, त्यसैले म्याद थपको प्रक्रियामा जान्छौं,’ उनले भने। प्रमुख श्रेष्ठका अनुसार २ वर्ष म्याद थप गर्ने तयारीमा आयोजना रहेको छ। यद्यपि अझै एक वर्ष म्याद रहेकाले अर्को आर्थिक वर्ष सुरु भएपछि मात्रै म्याद थपको प्रक्रिया सुरु हुनेछ।
दोस्रो चरणको लागत १३ अर्ब
पहिलो चरणको काम सञ्चालन भएपनि दोस्रो चरणको गुरु योजना (मास्टर प्लान) बनेको छैन। प्रमुख श्रेष्ठका अनुसार दोस्रो चरणको काम सुरु हुने समय अहिले नै भन्न सक्ने अवस्था छैन। तर, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।
‘डिपिआर तयार भएको छ, त्यसलाई पेस गरेर स्वीकृत गराएपछि गुरुयोजना बनाउने हाम्रो लक्ष्य हो।’ प्रमुख श्रेष्ठ भन्छन्, ‘पहिलो चरणकै काम सकिएको छैन, अहिले नै दोस्रो चरणको विषयमा धेरै भन्न सकिदैन।’
पहिलो चरणको निर्माण कार्य सकिएपछि मात्रै दोस्रो चरणको काम गर्नुपर्ने बाध्यता भने छैन। गुरुयोजना तयार भएर स्वीकृत भए दुवै चरणको काम सँगसँगै गर्न सकिने आयोजनाको भनाइ छ।
दोस्रो चरणमा १८ हजार हेक्टर जमिन सिँचाइ गर्ने गरी संरचना तयार हुनेछ। पहिलो चरणमा १४ हजार ३ सय र दोस्रो चरणको १८ हजार हेक्टर गरी रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट कुल ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ पुग्छ।
असारमा बिजुली बल्ने
रानीजमरा सिँचाइको आयोजना भएपनि विद्युत उत्पादन गर्ने तयारी छ। आयोजनाका अनुसार विद्युतगृह निर्माणको काम लगभग सकिएको छ। यसअघि २०७९ चैतमा बिजुली बाल्ने तयारी गरेर मेसिन राख्ने ठाउँ निर्माणाधीन थियो।
मेसिन राख्ने स्थानमा अस्थायी बाँध बनाएर पानी छेकिएको समयमा अस्थायी बाँध भत्किएर पानी पसेपछि बिजुली बल्ने समय लम्बिएको हो। सिँचाइको आयोजना रानीजमराबाट ५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ।
आयोजनाको पहिलो चरणको लागत २७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षमा आयोजनाले २ अर्ब ९० करोड ६ लाख रुपैयाँ बजेट प्राप्त गरेको हो। रानीजमरामा नेपाल सरकार र विश्व बैंकको लगानी छ।