काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले तत्कालीन सञ्चालक शिवेन्द्रबहादुर बस्नेतले प्राप्त गरेको १४ प्रतिशत सेयर २०५६ सालमै बिक्री गरी प्रतिस्पर्धी वायुसेवा माउन्टेन एयर सञ्चालन गरेको जनाएको छ।
बुद्धले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थापक सेयरधनीका रूपमा सुरेन्द्रबहादुर बस्नेत (स्वर्गीय) र उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत भई सञ्चालन भएको थियो। कम्पनी स्थापनापछि कान्छा छोरा शिवेन्द्रले प्राप्त गरेको १४ प्रतिशत सेयर उनले २०५६ सालमा बेचेर बुद्धबाट अलग भई माउन्टेन एयर सञ्चालन गरेका थिए।
विज्ञप्तिअनुसार साविकमा बुद्ध एयरका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुरको नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत वीरेन्द्रसमेत तर्फ र बाँकी ४० प्रतिशत अर्चना बस्नेत, शिवानी बस्नेत, देवयानी बस्नेत र पछिबाट आदर्शबहादुर बस्नेतसमेतको नाममा हुने गरी सुरेन्द्रबहादुरले ‘बकसपत्र’ गरेको तथा सब सेयरधनीबीच कम्पनी ऐन, २०६३ को दफा १४५ समेतअनुसार २०७५ साउन १५ गते भविष्यमा बुद्ध एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहितको सर्वसम्मत सम्झौता गरी कम्पनी ऐन, सर्वसम्मत सम्झौता, प्रबन्धपत्र नियमावलीसमेत व्यवस्था पूर्णरूपमा विधिसम्मत पालना गरी पारदर्शीरूपमा कम्पनीका सेयरधनी, कर्मचारीसमेतको हितमा रही काम कारोबार हुँदै आएको छ।
सर्वसम्मत सम्झौताअनुसार ‘क’समूह (वीरेन्द्र) को ६० प्रतिशत सेयरबाट दुईजना र ‘ख’समूह (अर्चना) को ४० प्रतिशत सेयरमध्येबाट एकजना सञ्चालक नियुक्त गर्नुपर्ने हुँदा उत्त विषयमा प्रस्ताव राखी २०७९ फागुन २२ मा साधारणसभा हुने गरी दैनिक पत्रिकामा सार्वजनिक सूचना गरिए पनि सबै सेयरधनीलाई आह्वान गर्दासमेत अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेत उपस्थित नभएपछि उक्त एक सञ्चालक पद खाली राखी ‘६५ प्रतिशत सेयरधनी’ को उपस्थितिमा साधारणसभा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
बुद्धका अनुसार ३५ प्रतिशत सेयर प्रतिनिधित्व गर्ने तीन सेयरधनी अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेतले कम्पनी ऐन २०६३ को दफा १४६ र १४७ को अधिकार प्रयोग गर्ने सम्बन्धमा विभिन्नपटक पत्राचार आदानप्रदान भई २०७९ चैत १५ का लागि कागजात तथा अभिलेख निरीक्षण गर्न तथा आर्थिक विवरण लिन समय निर्धारण हुँदासमेत कुनै पनि सेयरधनी वा प्रतिनिधि उपस्थित हुन नआएको अवस्था छ।
बुद्धका अनुसार २०७९ चैत २४ गते पूर्वसञ्चालक शिवेन्द्रले आफूसँग दुईजना कानुन व्यवसायी तथा एकजना लेखापरीक्षकसमेत लिएर कम्पनीको रजिस्टर्ड कार्यालय प्रवेश गरी विभिन्न काल्पनिक आरोप लगाइ झुठा, बनावटी कुरा सुनाइ कानुन प्रतिकूलजस्तै समूह ‘क’ र समूह ‘ख’ बाट समानान्तर दुई व्यवस्थापन सञ्चालन गर्ने, नत्र कम्पनी ‘लिक्विडेसन’ मा लगी ४० प्रतिशत सेयरबराबरको सम्पत्ति लगेर छुट्टै वायुसेवा कम्पनी सञ्चालन गर्ने माग राखेको ‘अडियो रेकर्ड’ कम्पनीसँग सुरक्षित छ।
त्यसैगरी ३५ प्रतिशत सेयरधनीले कम्पनी ऐन २०६३ को दफा १४६ र १४७ बमोजिमका अधिकार प्रयोग गर्ने बहानामा गैरकानुनी, अनुचित लाभ प्राप्ति तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा कम्पनी बाध्य भई सेयरधनीहरूले उक्त कानुनी व्यवस्था प्रयोग अगामी साधारणसभामा उपभोग गर्ने बुद्धले जनाएको छ।
कम्पनीको सम्पूर्ण कारोबार विवरण, सर्वसम्मत सम्झौता, साधारणसभा, ३५ प्रतिशत सेयरधनीले कम्पनीलाई पटकपटक गरेका पत्राचार, कम्पनीले ती सेयरधनीलाई विभिन्न मितिमा गरेका पत्राचारसमेतको कागजात कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख भइरहेको र ती कागजात बुद्ध एयरमा पनि सुरक्षित रहेको भन्दै बुद्धले सरोकारवालाले जुनसुकै बखत अवलोकन गर्नसक्ने जनाएको छ।
बुद्धका अनुसार तत्कालीन सञ्चालक शिवेन्द्रले बुद्ध एयर छाड्दा कम्पनी घाटामा थियो। २३ वर्ष लामो मिहिनेत र प्रयासपछि सफल व्यापारिक संस्था बनेको हो। हाल १ हजार ५ सय कर्मचारीलाई रोजगारी, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न कर दस्तुर तथा राज्यलाई वार्षिक करोडौं राजस्व समयमै भुक्तानी गर्दै आएको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ।