काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकको ‘मर्जर’ का लागि नेपाल राष्ट्र बैंकले दिएको तीन महिना समयावधि सकिएको छ।
दुई बैंकबीचको मर्जर प्रक्रियाका लागि केन्द्रीय बैंकले दिएको तीन महिनाको समय वैशाख २५ मा सकिएपछि दुई बैंकले थप तीन महिना समय माग्दै मंगलबार राष्ट्र बैंक गुहारेका छन्।
मर्ज गर्ने सहमतियता सनराइजले नयाँ–नयाँ सर्त थप्दै जान थालेपछि पछिल्लोपटक लक्ष्मी बैंक झस्किन थालेको छ। सोही कारण बुधबार दुई बैंकका प्रतिनिधित्व रहेको संयुक्त मर्जर कमिटीको बैठक बस्न सकेन।
प्राविधिक कुरामा मोतिलाल दुगडका नयाँ–नयाँ सर्त थपिन थालेपछि संयुक्त बैठक बस्न नसकेको स्रोतले जानकारी दियो।
‘दुगड यतिबेला अमेरिकामा छन्। मर्जजस्तो गम्भीर विषयमा निर्णय लिनुपर्ने बेला उनी नेपालमा छैनन्। मर्जर कमिटीमा पनि आफ्नो नजिकका बोर्ड सदस्य राखेर गएका छन्,’ सम्बद्ध स्रोतले क्यापिटल नेपालसँग भन्याे, ‘त्यसैले पनि लक्ष्मीका तर्फबाट निर्णय गर्न गाह्रो भएर बैठक नबसेको होला।’
मर्जर सहमतिअनुसार मर्जपछिको अध्यक्षमा लक्ष्मी बैंककै तर्फबाट प्रतिनिधित्व हुने भए पनि सनराइज अध्यक्ष दुगडले आफू अध्यक्ष हुने खबर लक्ष्मीमा पठाएपछि लक्ष्मी झस्किएको छ।
त्यस्तै मर्जर सहमतिपछि सनराइजले वरिष्ठ कर्मचारीमा पनि बढुवा गरेपछि लक्ष्मी थप सशंकित भएको हो। मर्जर तयारीमा रहेको सनराइज बैंकका अध्यक्ष दुगडको लक्ष्मी बैंकमै ३ अर्बभन्दा बढी ऋण छ।
राष्ट्र बैंकले मर्जर सुविधामा ऋणका लागि दुई वर्षको सुविधा दिए पनि दुगडको ऋण धेरै भएकाले मर्जरपछि उनलाई अध्यक्ष बनाउन नमिल्ने संकेत भने दिइसकेको छ। बोर्ड व्यवस्थापनमा लामो समयदेखि टकराव देखिएर कमजोर देखिँदै आएको सनराइज बैंक मर्जरमा जानुपर्ने बाध्यता देखिँदै आएको छ।