काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले एक वर्षमै सबै समस्या समाधान गर्ने ठोकुवा गर्न नसक्ने तर यसतर्फ पूर्णरुपमा अग्रसर हुने बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रिबजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। ‘म यही वर्षमा सम्पूर्ण समस्या समाधान गरेर सबै समस्यालाई सम्बोधन गर्छु भनेर भन्दिन। यो दाबी गरेपनि कसैले पत्याउँदैनन्,’ अर्थमन्त्री महतले भने, ‘तर म अर्थमन्त्रीको हैसियतले र हाम्रो संयुक्त सरकारको हैसियतले यसतर्फ पूर्ण रुपमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दछु।’
उनले हामीले चाहेको रफ्तारमा अर्थतन्त्र अगाडि बढ्न नसकेको पनि स्वीकारे। ‘अर्थतन्त्र धरायसी भइसक्यो खतम भइसक्यो भन्ने कुरा यहाँ धेरै उठ्यो। तर वास्ताविकतामा त्यस्तो होइन। यो ओरालो लागेको पनि होइन,’ अर्थमन्त्री महतले भने, ‘उकालो छिटोछिटो चढ्नुपर्ने ठाउँमा विस्तारै विस्तारै चढिरहेको छ। हाम्रो आर्थिक वृद्धि सकरात्मक नै छ। हामीले भनेको जस्तो छैन, तर पहिलाको भन्दा बढेको छ। यो भनेको ओरालो लागेको होइन। उकालो नै लागिरहेको छ।’ उनले तर जुन रफ्तारमा हामी अगाडि बढ्नुपर्ने थियो, त्यो रफ्तारमा हामी उकालो लाग्न नसकेको भने स्वीकार गरे।
‘अहिलको समस्या के हो भने हामीले चाहेजस्तो आर्थिक वृद्धि भएको छैन। हामीले यो वर्षमा ३२ प्रतिशतले राजस्व बढाउने लक्ष्य राखेका थियौं। त्यसको धेरै तल हामी छौं,’ महतले भने, ‘यसको धेरै कारणहरु पनि छन्। त्यस्तैगरी व्यापार घाटा त पहिला पनि व्यापार घाटा नै थियो। अहिले पनि व्यापार घाटा कायम नै रहेको छ। ऋणको दायित्व बढ्दै छ। त्यसले पनि हाम्रो विकास खर्च गर्ने क्षेमतालाई कम गरेको छ।’
उनले यसका बाबजुद अर्थतन्त्रमा सकरात्मक तस्बिर देखिएको पनि बताए।
‘हाम्रो अगाडि अहिले एउटा सकरात्मक तस्बिर पनि रहेको छ। त्यो भनेको अहिले हाम्रो पर्यटन क्षेत्र अगाडि बढिरहेको छ। पर्यटन आवागमन बढिरहेको छ। त्यसले आर्थिक गतिविधिलाई बढाउँछ,’ अर्थमन्त्री महतले भने, ‘हाम्रो विप्रेसन बढेर विदेशी मुद्रा सञ्चिति सकिएर हामी किन्नै नसक्ने र हाम्रो आवश्यक्ता पूर्ति नै गर्न नसक्ने अवस्थामा पुग्छौं कि भन्ने एउटा डर थियो। श्रीलंका हुन्छ कि भन्ने डर थियो, त्यति धेरै डर मान्नुपर्ने अवस्था थिएन।’
उनले त्यसमा धेरै नै डराएको बताउँदै अहिले विदेशी मुद्रा सञ्चिति बढिरहेको जानकारी दिए। यसमा पनि सहज अवस्था भएको उनको भनाइ छ।
‘म पुँजीगत खर्च एकदमै चाहेजस्तो बढाउन चाहन्छु भनेर भन्न सक्दिन। किनकी हाम्रो श्रोतको नै निश्चित सिमा छ। यो सिमा क्षेत्रभित्र नै बसेर मैले काम गर्नुपर्ने भएकाले यसमा कति सकिन्छ, कति रबर तन्काउन सकिन्छ मैले त्यति नै तन्काउने हो।
यति तन्किनेभन्दा बढी तानेमा चुडिँन्छ,’ महतले भने, ‘त्यसैले त्यसमा ध्यान दिएर काम अगाडि बढाइन्छ।’ उनले हाम्रो राज्य प्रणालीमा धेरै नै समस्या रहेको पनि स्वीकारे। ‘हामी अन्तिमसम्म सुतेर बस्ने र अन्तिममा गएर खर्च गर्ने प्रवृतिलाई हामीले अन्त्य गर्नुपर्छ। यो लामो समयदेखि हुँदै आएको हो,’ उनले भने, ‘अब पहिलो दिनदेखि नै हाम्रो खर्च गर्ने प्रक्रिया बढाउनुपर्छ। साउनमा ठेक्का लगाइसक्नुपर्छ। यस्तो भएको खण्डमा हाम्रो पुँजीगत खर्च बढ्छ।’
त्यस्तै उनले मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र चलयमान बनाउने पनि बताए। ‘एकातर्फ कसिलो मौद्रिक नीति र अर्कोतर्फ पुँजीगत खर्च नहुनुले हाम्रो अर्थतन्त्रमा शिथिलता ल्यायो,’ अर्थमन्त्री महतले भने, ‘तर यसलाई कसरी चलायमान बनाउने र आशा जगाउने भन्दा मौद्रिक नीति र वित्त नीतिको तातम्य मिलाउने र एउटै गतिमा हिडाउँनुपर्छ भन्ने कुरा मैले राखेको छु।’ उनले मौद्रिक नीतिलाई खुकुलो बनाउँदा ब्याजदर कम हुने र ब्याजदर कम हुँदा उद्योग व्यवसायमा ऋण लिन चाहनेलाई सहज हुने बताए। यसले आर्थिक गतिविधि बढाउँने उनको दाबी छ।