काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले आज उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।
आज बिहान खाँडलाई प्रहरीले ‘जरूरी पक्राउ पुर्जी’ जारी गरेर पक्राउ गरेको थियो।
पक्राउ गरेपछि उनलाई परिसर लगिएको थियो। त्यहाँबाट उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ परेका छन्।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ।
उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन्।