काठमाडौं। विदेशी विनिमय सञ्चिति एक महिनामै २५ करोड अमेरिकी डलरले बढेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९ फागुनबाट चैत मसान्तभित्र अमेरिकी डलर सञ्चिति २५ करोडले बढेको हो। गत फागुनमा १० अर्ब ६९ करोड डलर रहेको सञ्चिति चैत मसान्तमा १० अर्ब ९४ करोड पुगेको हो।
चालू आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भएको छ।
केन्द्रीय बैंकका अनुसार नौ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड पुगेको छ। गएको असार मसान्तमा ९ अर्ब ५४ करोड डलरबराबर थियो।
राष्ट्र बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड थियो। चैत मसान्त आइपुग्दा २०।६ प्रतिशतले बढेर १२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड थियो भने चैत मसान्तमा शून्य दशमलव २ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड पुगेको छ।
चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.१ प्रतिशत छ। चालू आर्थिक वर्ष नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ।
२०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन (जिडिपी), कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत छन्। गत असरार मसान्तमा यी अनुपात क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत थिए।