काठमाडौं। चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा कूल वस्तु निर्यातमा २६.३ प्रतिशतले कमि आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नौ महिनामा कूल वस्तु निर्यातमा २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ मात्रै कायम भएको छ। तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो।
यो अवधिमा गन्तव्यका आधारमा भारततर्फ भएको निर्यातमा ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ। तथ्यांकअनुसार वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ।
नौ महिनाको अवधिमा कूल वस्तु आयातमा पनि कमी आएको छ। यो अवधिमा कूल वस्तु आयातमा १८.१ प्रतिशतले कमी आएर १२ खर्ब १ अर्ब ५१ करोड कायम भएको छ। तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ। त्यस्तै वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात पनि घटेको छ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। यो अवधिमा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले कमी आई १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो। तथ्यांकले निर्यात–आयात अनुपात भने ९.८ प्रतिशत रहेको देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो। यो अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो।