काठमाडौं। चालू आर्थिक वर्ष नौ महिनामा अर्थतन्त्रको वाह्य क्षेत्र सुधारले निरन्तरता पाएको छ। फागुनको तुलनामा विदेशी विनिमय सञ्चिति २५ करोड अमेरिकी डलरले सुधारिएको छ। फागुनसम्म १० अर्ब ६९ करोड डलर सञ्चिति रहेकोमा चैतमा आउँदा १० अर्ब ९४ करोड पुगेको हो।
आयात निर्यात दुवै खुम्चिएको स्थितिमा रेमिट्यान्सका कारण विदेशी विनिमय सञ्चिति बढेको देखिन्छ । यसले शोधनान्तर स्थिति पनि मजबुत बनाउँदै १ खर्ब ८० अर्ब १७ करोड बचतमा छ।
यस अवधिमा रेमिट्यान्स डलरमा १३.९ प्रतिशतले बढेको छ। यद्यपि, यो वृद्धिदर फागुनभन्दा कम हो । फागुनमा डलरमा रेमिट्यान्स वृद्धि १४ प्रतिशत थियो।
उता आयात र निर्यात दुवै चैतमा पनि घटेको छ। चैतमा १८.१ प्रतिशतले आयात र २६.३ प्रतिशतले निर्यात घट्दा कूल व्यापार घाटा १७.१ प्रतिशतले घट्न पुगेको छ।
फागुनसम्म आयात १९.१, निर्यात २९.१ र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म निर्यात १ खर्ब ४ अर्ब ० करोड पुगेको छ भने आयात १० खर्ब ५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
आयात र निर्यात दुवै घटे पनि रेमिट्यान्सका कारण नेपालको वित्तीय क्षेत्रमा निक्षेपको वृद्धिदर बढेको छ। चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ। निक्षेपको वृद्धि फागुनमा ५.५ प्रतिशत मात्रै थियो। उता निक्षेप वृद्धि बढे पनि निजी क्षेत्रमा प्रवाहित कर्जाको विस्तार भने खुम्चिएको छ।
चैतमा कर्जा ३.५ प्रतिशतले मात्रै बढेको छ। जबकि फागुनमा कर्जा वृद्धि ४.६ प्रतिशत थियो। यद्यपि, वार्षिकरूमा भने निक्षेप कर्जा दुवै बढेको देखिन्छ।
फागुनमा वार्षिक विन्दूगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेकोमा चैतमा सामान्य सुधार हुँदै निक्षेप ११ प्रतिशत र कर्जाको वृद्धिदर ३.२ प्रतिशत छ।
यसले निजी क्षेत्रमा कर्जाको माग भए पनि बैंक तथा वित्तीय संस्था लगानीका लागि पर्ख र हेरको स्थितिमा रहेको झल्काउँछ। समग्रमा वाह्य क्षेत्र सन्तुलनमा देखिए पनि कर्जा विस्तार रोकिँदा त्यसले अर्थतन्त्रमा अन्य अवयवहरूको विस्तारमा रोक लगाएको छ। यसवर्ष आर्थिक वृद्धिसँगै मूल्य वृद्धिमा असर देखिन्छ। चैतमा मूल्यवृद्धि फागुनको भन्दा बढेको देखाउँछ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति (मूल्यवृद्धि) चैतमा अझ बढेर ७.७६ प्रतिशत पुगेको छ। जबकि, फागुनमा ७.४४ प्रतिशत थियो।
यद्यपि, बजारमा मुद्राको चलायमानता भने चैतमा बढेको छ। विस्तृत मुद्रा प्रदाय फागुनमा ५.३ प्रतिशत रहेकोमा चैतमा ६।६ प्रतिशतले बढेको छ। यसले राष्ट्र बैंकबाट वित्तीय संस्थामा जाने र त्यसबाट आम सर्वसाधारणमा पुग्ने पैसाको चलायमानता बढेको देखाउँछ।
वाणिज्य बैंकहरूले माघबाट घटाएको निक्षेपको ब्याजदरले औसत आधारदरमा झिनो परिर्वतन ल्याएको छ। फागुनमा आधारदर १०.६४ प्रतिशत रहेकोमा चैतमा भने १०.४८ प्रतिशतमा झरेको छ। यसले ब्याजदर सामान्य घट्दो क्रममा रहेको देखाउँछ।
फेरि बैंकहरूले बैशाखबाट पनि निक्षेपको ब्याजदरमा केही कटौती गरेको छ। त्यसको असर आगामी दिनमा औसत ब्याजदरमा पर्ने नै छ। विश्वव्यापीरूपमा महँगी नियन्त्रण गर्न ब्याजदरलाई बढाइराखिएको छ।
केही दिनअघि मात्रै अमेरिकाको फेडर रिर्जभ बैंकले १०औं पटक ब्याजदर नीतिगत ०.२५ प्रतिशतले बढाएर ५.५ प्रतिशत पुर्याएको छ। यस्तोमा राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्न लागिरहेको छ।
यस्तो बेला हतारमा नीतिगत दरहरू परिवर्तन गरिनु हुँदैन। सरकारबाट निरन्तर दबाब भए पनि नीतिगत दरमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्णय लिनुपर्छ।
त्यतिबेलासम्म (२०८० साउन) विश्वपरिवेश पनि कता जान्छ भनेर आँकलन गर्न सकिन्छ। तर, अन्य केही क्षेत्रमा सामान्य खुकुलोपन ल्याउँदा अहिलेको परिस्थिलाई सामान्य चलायमान बनाउन सहयोग गर्छ। घरजग्गा मूल्यांकनमा सामान्य (२/३ प्रतिशत) मात्रै लचकता अपनाउँदा सकारात्मक सन्देश जान्छ।
अर्कातिर, सेयर बजारमा सेयर धितोमा दिइने कर्जाको सीमा १२ करोडलाई चलाइकन जोखिमभार सामान्य घटाउन सकिन्छ। जोखिम भारलाई २५ प्रतिशत बिन्दुसम्म घटाउँदा सकारात्मक सन्देश त जान्छ नै न्यूनबिन्दुमा रहेको सेयर बजारले ठूलो धक्का अर्थतन्त्रमा दिन नसक्ने भएकाले केही हिस्सा सेयर बजारमा लगानी हुँदा अर्थतन्त्रलाई ठूलो असर पनि पर्दैन।
त्यसै पनि राष्ट्र बैंकले सेयर धितोमा दिने साना ऋणलाई प्राथमिकता दिएकै छ। अर्को सवारीसाधनको जोखिम भारमा पनि केही लचकता अपनाउन सकिन्छ। अहिलेकै परिस्थितिमा सवारीसाधनमा ठूलो लगानी हुने र बढिभन्दा बढी गाडी आयात गर्ने परिस्थिति छैन। यस्तो बेला सामान्य सहजीकरण गरेर १ सय ५० प्रतिशत रहेको जोखिम भार पनि २५ प्रतिशत बिन्दुले घटाउन सकिन्छ।