काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजीक्षेत्रमाथि सरकारको विश्वास एकदमै न्यून रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार भएको ‘पूर्व बजेट अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘हाम्रोमा सबै मौसममा पर्यटकहरू रमाउन सक्ने वातावरण छ। यस्तो अवस्थामा हामी गरिब भैरहनुपर्ने कुनै कारण देखिदैन्। तर केही व्यवस्थापकीय र नियामकीय समस्या छन,’ अध्यक्ष ढकालले भने, ‘सबैभन्दा ठूलो कुरो निजी क्षेत्रमाथिको विश्वास एकदमै न्युन छ।’
उनले कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको भूमिका ८१ प्रतिशत रहेको उल्लेख गर्दै राजश्व संकलन र रोजगारीमा पनि निजी क्षेत्रको त्यति नै हिस्सा रहेको बताए।
‘भारत, चीन, रवान्डा, बंगलादेशजस्ता मुलुकमा गरिबी तीव्र गतिमा घटनुका मुख्य कारण निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो,’ उनले भने, ‘अब आउने नीतिले त्यो आँट गर्नुपर्छ। हामी यत्तिकै बस्यौ भने अर्थतन्त्रमा सुधार हुँदैन। यो सुधार तत्कालै आउने मौद्रिक नीतिको चौथो त्रैमासिक समिक्षा, आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीति मार्फत गरिनुपर्छ।’ उनले दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिन जरुरी रहेको पनि बताए।
‘नेपाल श्रमशक्ति सर्वेक्षणले मुलुकमा ११ प्रतिशत पुर्ण बेरोजगारी देखाएको छ। अर्ध बेरोजगारी त धेरै बढि छ। यता, उद्योग व्यवसायले दक्ष जनशक्ति पाइरहेका छैनन्,’ अध्यक्ष ढकालले भने, ‘वैदेशिक रोजगारीमा जाने ७४ प्रतिशत युवा अदक्ष छन्। त्यसैले आय बढाउन दक्षता बढाउनु आवश्यक छ। अर्को निजी क्षेत्रको मर्यादाको विषय छ।’ उनले यसपटकको बजेट तयार पार्दा यी विषयलाई विशेष प्राथमिकता राख्न सुझाव दिएको पनि जानकारी दिए।