काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिको सभापतिमा उद्योगी राजेशकुमार अग्रवाल चुनिएका छन्। एक दर्जन उद्योगका सञ्चालक अग्रवाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सभापतिमा नियुक्त गरेका हुन्।
औद्योगिक क्षेत्रको समस्यालाई प्रष्टरूपमा राख्न सक्ने, नेपालमा औद्योगिक विकासमा राज्यले गर्नुपर्ने कार्यका बारेका अग्रवाल राम्रोसँग जानकार छन्। उत्पादनमुलक उद्योगबाट मात्रै देश आर्थिकरूपमा सबल हुने र त्यसका लागि सरकारले नीतिगत सुधार गरेर उद्योगमैत्री कानुन बनाउनुपर्ने बताएका छन्।
नवनियुक्त सभापति अग्रवालकाअनुसार नेपालमा अहिलेसम्म औद्योगिक पार्कहरू छैनन्। बिजुली, बाटोघाटो फराकिला छैनन्, देशको एक ठाउँमा उत्पादन भएको वस्तु देशकै अर्को ठाउँमा पुर्याउनुभन्दा आयात गरेर ल्याउन सस्तो पर्छ। ‘कस्ट अफ डुइङ बिजनेस’ पनि नेपालमा अत्यधिक छ।
भारतमा १० करोड भारुमा एउटा उद्योग लाग्छ भने नेपालमा त्यही उद्योग लगाउन १८ करोड भारु खर्च हुन्छ। एकातिर उद्योग लगाउँदै डेढी लागत पर्ने र अर्कातिर ब्याज पनि बढी तिर्ने र माग पनि कम हुने भएपछि त उद्योग–व्यवसाय टिकाउनै नसकिने अवस्था छ। यो समस्या सरकारसँग राख्ने र व्यावसायिक वातावरण निर्माणमा लागू लाग्ने अग्रवालले बताए।
नेपालमा आर्थिक पूर्वाधारको ठूलो खडेरी छ। व्यवसायीको बलबुतामा अहिलेसम्म उद्योग–व्यवसाय चलेका छन्। सरकारले दिन्छु भनेका सुविधासमेत व्यवसायीले पाउँदैनन्। सरकारले बजेटमार्फत विभिन्न सुविधा घोषणा गर्छ, तर सुविधा दिने बेला अनेकन बखेडा झिक्ने गरेका छन्। सरकारले दिने भनेको सुविधा प्राप्त गर्न आफूले पहल गर्ने अग्रवालले बताए।
अर्घाखाँची, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ खाद्यन्न उद्योग, एसियन कंक्रिटो, श्री स्टील, मिलानो चप्पल उद्योगलगायतका उद्योगमा उनको प्रमुख लगानी छ। उनको समग्र उद्योगमा ३ हजार भन्दा बढीले रोजगारी पाएका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघमा दुई कार्यकाल सदस्य भइसकेका छन्। तेस्रो कार्यकालमा उनी उद्योग समितिको सभापतिमा चुनिएका हुन्।