काठमाडौं। अहिले अर्थमन्त्रीदेखि त्यहाँका कर्मचारीसम्म बजेट निर्माणमा व्यस्त छन्। खर्च र आम्दानीबीचको खाडल बढिरहेका बेला सम्हालिएर बजेट बनाउनुपर्ने दबाबमा अर्थमन्त्री र उनको ‘कोर टिम’ लागिपरेका छन्।
अहिले आफ्ना कार्यकर्ताले बोकेर आएका योजनाको पोकोबारे बुझाउनुपर्ने, सीमित स्रोतलाई हेरेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने, नगरी नहुने आयोजनामा मात्रै बजेट पठाउनुपर्ने र खर्च कटौतीमा निर्मम बन्नुपर्ने बेला छ। अर्थ मन्त्रालयका कर्मचारी त्यसैमा लागेका बेला भन्सार कर्मचारीलाई भने यो समय पैसा कमाउने मौका बनिरहेको छ।
उसै पनि माग घटिरहेको छ। सरकार माग बढाएर आर्थिक गतिविधि चलायनमा बनाउन चाहन्छ। केन्द्रीय बैंक ब्याज घटाएर आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न चाहिरहेका बेला भन्सार कार्यालयमा बसेका कर्मचारीको ध्यान अन्यत्रै छ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेका पालामा चोरी तस्करी कम भएकाे उद्योगी/व्यवसायीले महसुस गरेका थिए। तर, अहिले खुलेआम चोरी तस्करी भइरहेका छन्। त्यसबाट गुम्ने राजस्वको हिस्साको हिसाबकिताब नै छैन।
त्यसबाहेक व्यवसायीले वैधानिक बाटोबाट ल्याएको सामान पनि वीरगंज भन्सार कार्यालयका कर्मचारीलाई घुस नखुवाइ सामान नै छुट्दैनन्। एक व्यवसायीका अनुसार उनले केही दिन अघि २ लाख भारुको सामान लिएर आएको थिए, भन्सारका अधिकारीले १० हजार रुपैयाँ नखाइ सामान नै छुटाइदिएनन्।
‘१० हजार रुपैयाँ घुस दिनेबित्तिकै सामान पास भयो। मानौ कुनै सामानको मूल्य १५ प्रतिशत तोकिएको छ। १५ प्रतिशत भन्सार लाग्ने सामानलाई अनेक जालझेल गरेर ४० प्रतिशत लगाउँछु भनेर व्यवसायीसँग बार्गेनिङ थाल्छन्। उनीहरुले मागेअनुसारको घुस नदिए ४० प्रतिशत लगाइदिन्छन्,’ वीरगंजका व्यवसायीले भने, ‘त्यसले झन ठूलो असर पर्ने भएकाले उनीहरुले मागेको रकम दिएर सामान छुटाउन थालेका छौँ। ‘प्रकाशशरण महत अर्थमन्त्री भएर आएपछि सही तरिकाबाट ल्याएको सामानमा केही न केही घुस नखुवाइ भन्सार छुट्दै छुट्दैनन।’
खासगरी, भन्सारका कर्मचारीले ठूला व्यवसायीसँग भन्दा साना व्यवसायीसँग बढी असुली गर्न थालेका छन्। राज्यसंयन्त्र बजेट निर्माणतिर जुट्दा त्यसको भरपूर फाइदा कर्मचारीले उठाएको ती व्यवसायीको भनाइ छ।
विगत एक महिनादेखि घुस माग्ने प्रवृत्तिले व्यापकता पाएको व्यवसायीको गुनासो छ। मागमा गिरावट आउँदा लामोसमयदेखि आयात ठप्प थियो। तर, अर्थतन्त्र चलाउन माग बढाउन सरकारको प्रयासले छिटफूट माग बढेको र आयात पनि वृद्धि भएको हो। त्यही मौका छोपेर भन्सारका कर्मचारीले अत्यन्तै दुःख दिने गरेका छन्।
‘औद्योगिक कच्चा पदार्थ आयात गर्दासमेत भन्सार कार्यालयका कर्मचारीलाई नरिझाइ सामान छुटाउनै सकिन्न। हरेक दिन उनीहरुसँगै ठोक्किनुपर्छ, कति निउ खोज्नु’ ती एक उद्योगीले भने, ‘बरु उनीहरूले भनेको दियो भने सामान पनि त्यही दिन छुट्छ, दुःख पनि पाइँदैन।’
सन्दर्भ मूल्य पुस्तिकामा भन्सार दर तोकिएको हुन्छ। त्यो भन्सार तिरेर सामान ल्याउन खोज्दा अनेकन बहाना बनाएर रोक्छन्। पैसा नखुवाई सामान नै छाड्दैनन्।
सरकारले राजस्व असुली तीव्र पार्न कर्मचारीलाई निर्देशन दिएपछि उनीहरूको 'बार्गेनिङ पावर' थप बढेको व्यवसायीको दुखेसो छ। ‘माथीबाटै राजस्व असुलीलाई बढाउन भनेको छ भन्दै व्यवसायीलाई अर्को भन्सार दर लगाउँछु भनेर धम्क्याउँछन्,’ ती व्यवसायीले भने, ‘यदि मलाई यति रकम दिने हो भने पुरानै दरमा सामान भित्र्याइदिन्छु भन्छन्।’