काठमाडौं। व्यवसायिक घराना त्रिवेणी ग्रुपले पहिलोपटक चामल उद्योगमा लगानी सुरु गरेको छ।
मेनुफ्याक्चरिङ, ट्रेडिङ, बैंक तथा इन्स्योरेन्स, उर्जा, रिटेल, शिक्षा, हस्पिटालिटी, कृषि र अटोमोबाइल क्षेत्रमा लगानी गरिरहेको त्रिवेणी ग्रुपले ३० करोड भन्दा बढी लगानीमा प्रिमियम चामल अमृत ल्याउन थालेको हो। अहिले त्रिवेणीले अमृत ब्रान्डमा केही वर्ष अघिबाट खाने तेल उत्पादन गर्दै आएको छ।
खाने तेलले बजारमा राम्रो प्रभाव जमाउन सफल भएपछि चामल उत्पादनमा जोड दिएर लगानी विस्तार गरिएको ग्रुपका निर्देशक साकेत संघईले जानकारी दिए। ग्रुपले यसअघि त्रिवेणी दाल, रिलायन्स चिनी र टोकला चिया उत्पादन गरिरहेको छ।
खाद्यन्न क्षेत्रमा राम्रो बजार रहेकोले पनि प्रिमियम चामल उत्पादनमा आफुहरूको जोड रहेको संघईको भनाई छ। त्रिवेणी राइस उद्योगको नाममा विरगन्जमा अहिले प्लान्ट निर्माण भइरहेको छ। आर्थिक मन्दीको प्रभावले निर्माणमा केही ढिलाइ भएको बताउँदै अबको ४ महिना भित्रमा उत्पादन सुरु गरी बजारमा आइसक्ने उनले बताए।
त्रिवेणीले प्रिमियम र मास क्वालिटी दुबै खालको ल्याउने तयारी थालेको छ। तर, पहिलो चरणमा प्रिमियम चामल मात्र उत्पादन हुने जनाएको छ। चामलको मूल्य भने अहिले निर्धारण भएको छैन्। उत्पादन भएर बजारमा जुन किसिमको मुल्य छ त्यही अनुसारले निर्धारण हुने उनले बताए। बजारमा माग बढ्दै गए मूल्य बढ्ने र माग घटे बढ्दै जाने उनले बताए। यद्यपि, त्रिवेणीले प्रिमियम चामलको मूल्य अन्य भन्दा केही सस्तो तर गुणस्तरीय दिने तयारी थालेको छ।
उद्योगमा प्रति घण्टा ८ टन धान कुट्न सक्ने क्षमता छ। धान कुटेको आधारमा ५० प्रतिशत मात्र चामल हुने भएकोले प्रति घण्टा ८ टन धान कुट्दा ४ टन मात्र चामल उत्पादन हुने गर्दछ।
उद्योगले नेपालमै उत्पादन हुने धानबाट चामल खुवाउने नीति लिएको जनाएको छ। तर,पछिल्लो समय नेपालमा धान उत्पादन घट्दै गएको कारणले भारतबाट आयात गर्नुपर्ने बाध्यता धेरै रहेकोले केही प्रतिशत मात्र त्यहाँबाट ल्याउने उद्योगको तयारी छ।
भारतबाट आउने धान कम गराउनका लागि किसानहरूसँग सहकार्य गरेर आवश्यक सहयोग गर्ने उद्योगको तयारी छ। नेपाली किसानले नै उत्पादन गरेको धानबाट नेपाली चामल बिक्री गर्ने उद्देश्य आफुहरूले राखिरहेको बताउँदै सरकारले पनि धान उत्पादन गर्नेहरुलाई विषेश सहुलियत दिनुपर्ने उनको भनाई छ। अहिले सञ्चालनमा रहेका राइस मिलमा ७० प्रतिशत धान भारतबाट आउने गरेको छ।