काठमाडौं। पिरो स्वादको करेन्ट चाउचाउ एक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात भएको उत्पादक कम्पनी यशोदा फुड्सले दाबी गरेकाे छ।
कम्पनीका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) बराबरको निर्यात हुने गरेकाे हाे। उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा सबैभन्दा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएको कम्पनीले जनाएकाे छ।
करेन्टले देशभित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्यांकले बताउँछ। देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफू जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको जनाएको छ।
देशभर प्रतक्ष्य र अप्रतक्ष्य रुपमा लगभग १५ हजार मानिसलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ।
लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गर्यो। उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ।
नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ। अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ। ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ,’ कम्पनीको भनाइ छ।
नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ। कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरू गरेका छन्।