जुम्ला। जिल्लाका आठवटै स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयवासीलाई रोजगारी दिने थालेका छन्। बेरोजगारलाई रोजगारी दिन सरकारले सुरू गरेको उक्त कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहका रोजगार शाखाले जनाएका छन्।
उक्त कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकामा तीन सय ५० जनालाई रोजगारी दिइएको छ। पचास दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी दिइएको र सो अवधिमा रोजगारदाताले प्रतिव्यक्ति २८ हजार आठ सय ५० रूपैयाँ आम्दानी गरेको गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेले जानकारी दिए।
कार्यक्रमअन्तर्गत पालिकामा १७ मध्ये १० आयोजना सम्पन्न भइसकेका छन्। चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक करोड एक लाख १५ हजार रूपैयाँ बजेट छुट्याइएको थियो।
उक्त कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुंगा विछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाइँवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेको संयोजक न्यौपानेको भनाइ थियो ।पालिकाभित्रका एक सय दुई जनालाई रोजगारी दिएका छौं।
विकास निर्माण काममा बेरोजगारलाई रोजगार दिने गरी सय दिनको काम लगाइएको पातारासी गाउँपालिका रोजगार संयोजक अनुज्ञा भण्डारीले जानकारी दिए। चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ७० लाख रूपैयाँ बजेट विनियोजित गरिएको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन भएका विकासे योजना अन्तिम चरणमा पुगेका छन्। उक्त कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाको अन्तिम अनुगमन गर्न बाँकी रहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए। उक्तपालिकाभित्रका नौवटै वडामा सो कार्यक्रम लागू गरिएको थियो।