काठमाडाैं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नियममा आधारित, पारदर्शी र निष्पक्ष बहुपक्षीय व्यापार प्रणालीप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित युनियन (ईयू)- नेपाल बिजनेस फोरम २०२३ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।
फोरमले सदस्य राष्ट्रहरू र बाहिरका साझेदारहरूसँग नेपालको आर्थिक, व्यापार र लगानी सम्बन्ध सुदृढ पार्ने लक्ष्य राखेको भन्दै मन्त्री रिजालले कृतज्ञता ज्ञापन समेत गरे। त्यस्ता कार्यक्रमहरूले व्यापारबाट व्यापार (बि२बी), सरकारबाट व्यापार (जि२बी) र सरकारदेखि सरकार (जि२जी) सम्पर्कहरू बढाउन मद्दत पुग्ने भन्दै मन्त्री रिजालले व्यापार र लगानीका लागि नयाँ अवसर खोल्नसमेत मद्दत गर्न सक्ने बताए।
सरकारले व्यापार र लगानी व्यवस्थालाई निरन्तर सुधार गर्दै आएको स्पष्ट पार्दै मन्त्री रिजालले थप सुझावका लागि सरोकारवालासँग आग्रह गरे।
सरकारले व्यापार नीति, नेपाल व्यापार एकीकरण रणनीति (एनटिआइ) र क्षेत्र विशिष्ट रणनीति र व्यापार, उद्योग र लगानीसम्बन्धी अन्य नीतिहरू अद्यावधिक गर्दै गरेको बताउँदै मन्त्री रिजालले व्यवसायमैत्री वातावरण सिर्जना गर्न यी रणनीतिक उपकरणहरू कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
युरोपियन इकोनोमिक चेम्बर–नेपालसँगको सहकार्यमा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय साझेदार रहेको उक्त फोरम युरोपेली संघको प्रतिनिधिमण्डलले सोमबार र मंगलबार गरी दुई दिनका लागि आयोजना गरेको थियो। फोरमको उद्देश्य नेपाली र युरोपेली संघका व्यवसायीबीच बढ्दो सम्पर्क प्रवर्द्धन गर्नु रहेको थियो।