काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै उनले लगानी गर्ने पुँजीको अभावमा उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेकाले यो विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।
‘लगानीमैत्री वातावरण सिर्जना गर्ने, उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु,’ उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरू परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौँ। कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन।’
कर तिर्न घुस खुवाउनुपर्ने स्थितिको अन्त्य गर्न माग गर्दै उनले बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न माग गरे।
लिङ्देनले यदि साँच्चिकै सुशासन र पारदर्शी खर्च प्रणाली चाहेको भए सार्वजनिक खरिद ऐन संशोधन गरेर अघि बढ्न आग्रह गरे । ‘जो मन्त्री हुन्छ, उसले एउटा एउटा गौरवका आयोजना छान्दै जान्छ । तर बजेट नभएकाले कुनै पनि आयोजना बेलामा सम्पन्न भएको छैन,’ उनले भने, ‘बरू हरेक आयोजनामा लागत बढाएको छ । कमिसनको गोलचक्कर चलेको छ ।’
उनले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको छ र भ्रष्टाचारीमाथि सरकार निर्मम छ भन्ने विश्वास दिलाउन पनि आग्रह गरेका छन्।