काठमाडौं। विश्व बैंकले ‘विकास प्रतिवेदन-२०२३ः आप्रवासन, शरणार्थी र समुदाय’ सार्वजनिक गर्दै बसाइसराइले देशहरूको विकास र साझा समृद्धिको शक्तिको रूपमा काम गर्न सक्ने जनाएको छ। एउटा देशबाट संसारका कुनै पनि मुलुकमा पुगेकाहरूले साथै ल्याउने सीपलाई उपयोग गर्न सके हुने फाइदा प्रतिवेदनले औंल्याएको छ।
विश्व बैंकले उक्त प्रतिवेदन सोमबार नेपालमा पनि औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको हो। नयाँ प्रतिवेदनले आप्रवासीहरूको सीप, आवागमनको उद्देश्य र श्रम गन्तव्य मुलुकहरूको आवश्यकता कतिको मिल्दोजुल्दो छ भन्ने आधारमा नीति निर्माण गर्न ढाँचा प्रस्तुत गरेको छ।
हाल विश्वभरको विकासित मुलुकमा जन्मदर दर घटेको छ। जनसंख्या अप्रत्यासित रूपमा बुढ्यौलीतर्फ धकेलिएको छ। यस्तो अवस्थामा धेरै देशहरू आफ्नो दीर्घकालीन आर्थिक वृद्धि लक्ष्य प्राप्त गर्न आप्रवासनमा बढ्दो रूपमा निर्भर भइरहेका छन्।
अर्थतन्त्र र मानिसहरूका लागि आप्रवासन गतिविधि अझै फाइदाजनक बनाउनको लागि यो प्रवृत्ति एक अवसर भएको यस प्रतिवेदनले औंल्याएको छ। वैदेशिक श्रममा पुगेकाहरुबाट दुई मुलुकलाई प्रत्यक्ष फाइदा छ। रोजगारी दिने र आप्रवासी जन्मेको मुलुकले फाइदा पाउँदा नीतिहरु पनि व्यवस्थित बनाउने खाँचो देखिएको प्रतिवेदनमा छ।
विकसित देश साथै बढ्दो संख्यामा रहेका मध्यम आय भएका देशहरू घट्दो जनसंख्याको समस्याबाट गुज्रिरहेका छन्। जसकारण, यस्ता देशहरूले कामदारको लागि विश्वव्यापी प्रतिस्पर्धालाई तीव्र पारिरहेका छन्।
यसबीच, अधिकांश गरिब देशहरूमा जनसंख्या वृद्धि तीव्र छ। जसले यी देशहरूमाथि युवाहरूका लागि थप रोजगारी सिर्जना गर्न दबाब कायम छ। ‘अब आप्रवासनकोअधिकतम फाइदा लिनका लागि युवालाई विश्वव्यापी श्रम बजारमा आवश्यक पर्ने सीपमा सुसज्जित बनाउन जरूरी हुनेछ,’ प्रतिवेदनको टास्क टिम लिडर जोयस एन्टोन इब्राहिमले भने।
यो जनसांख्यिकीय परिवर्तनभन्दा बाहिर पनि बसाइसराइलाई प्रभाव पार्ने क्षेत्रहरू पनि भइरहेका छन्। यसले अन्तर्देशीय आवागमन थप जटिल बनाएको छ। आप्रवासी जन्मेको र काम गर्न पुगेका मुलुकहरुको आय स्तरमा विविधता छ।
मेक्सिको, नाइजेरिया, र बेलाय जस्ता धेरै देशहरूले आप्रवासीहरू पठाउने र भित्र्याउने दुवै गरिरहेका छन्। पछिल्लो दशकमा शरणार्थीहरूको संख्या झण्डै तीन गुणाले बढेको छ। जलवायु परिवर्तनले थप आप्रवासनलाई बढावा दिने खतरा छ।
विश्वको जनसंख्याको लगभग ४० प्रतिशत अर्थात ३.५ खर्ब मानिसहरू जलवायु प्रभावहरूको उच्च जोखिमका ठाउँहरूमा बसोबास गर्छन्। प्रतिवेदनले बसाइसराइलाई अझ राम्रोसँग व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ।
नागरिकहरू बसाई सर्दा राम्रो काम पाउनका लागि साथै ‘ब्रेन ड्रेन’को प्रतिकूल प्रभावहरूलाई कम गर्न, विदेशमा रहँदा आफ्ना नागरिकहरूको सुरक्षा गर्न यस्ता देशहरूले रेमिट्यान्स लागत घटाउनु पर्ने, आफ्नो डायस्पोराबाट ज्ञान हस्तान्तरणलाई सहज बनाउनुपर्ने, विश्वव्यापी रूपमा उच्च मागमा रहेका सीपहरू निर्माण गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।
श्रम गन्तव्य मुलुकहरूले आप्रवासीहरूले ल्याएका सीपहरूको उच्च माग भएको ठाउँमा आप्रवासनलाई प्रोत्साहन गर्नुपर्छ। आप्रवासीलाई सहजीकरणका लागि आफ्ना नागरिकहरूमाझ चिन्ता उत्पन्न गर्ने सामाजिक प्रभावहरूलाई सम्बोधनमा जोड दिनुपर्छ। यी मुलुकहरूले शरणार्थीहरूलाई रोजगारी र राष्ट्रिय सेवाहरू पहुँच दिनुपर्छ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका आवासीय निर्देशक फारिस हदादजेर्भोसले भने, ‘अन्य धेरै कम र मध्यम आय भएका देशहरू जस्तै नेपालमा पनि विदेश पलायन भएकाहरूले पठाएको रेमिट्यान्स धेरै परिवारहरूको लागि लाइफलाइन हो। यसले गरिबी घटाउन मद्दत गर्छ।’
आप्रवासनलाई विकासको बलियो शक्ति बनाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको प्रतिवेदनमा छ। द्विपक्षीय सहयोगले गन्तव्य देशहरूको आवश्यकतासँग आप्रवासीहरूको सीपलाई बलियो बनाउन सक्छ।