काठमाडौं। केन्द्रीय बैंकले सकेसम्म आगामी शुक्रबार (वैशाख २९ गते) मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी गरेको छ।
नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले वर्तमान आर्थिक सूचकलाई सूक्ष्मरूपमा विश्लेषण गरी अहिलेको कडिकडाउ खुकुलो बनाउन सुझावसमेत दिइसकेको छ।
विदेशी मुद्रा सञ्चिति राम्रो अवस्थामा रहेको, भुक्तानी सन्तुलन पनि बचतमै रहेको, रेमिट्यान्स आप्रवाहमा पनि निरन्तर वृद्धि देखिएको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लिएका औजारहरू बिस्तारै खुकुलो बनाउनुपर्ने अनुसन्धान विभागले सुझाव दिएको छ।
अझै पनि मूल्यवृद्धि माथि नै छ। तर, भुक्तानी सन्तुलन राम्रो भएकाले मध्यमार्गी बाटोबाट मौद्रिक नीति ल्याउन सकिने देखिएको हो। भुक्तानी सन्तुलन सहज अवस्थामा छ। मूल्यवृद्धि अझै उच्च अवस्थामै छ। दुवै सूचक सकारात्मक र सहज भइदिएको भए उदार भएर नीतिगतरूपमा खुकुलो बनाउन सकिने अवस्था हुन्थ्यो। तर, मूल्य अझै उच्च भएकाले केही सचेत हुनुपर्ने अनुसन्धान विभागको निष्कर्ष छ।
‘खुलमखुला हुनुपर्ने अवस्था छैन्। अहिलेकै अवस्थामा बसिरहनुपर्छ भन्ने सूचकांकबाट देखिँदैन,’ अनुसन्धान विभागले दिएको सुझावमा छ, ‘एउटा पक्ष सुधार छ, एउटा पक्ष अझै सुधार भएको छैन। रियल रेटहरू नेगेटिभ बनाइहाल्न नहुने अवस्था छ। नीतिगत दरहरू नेगेटिभ बनाउँदैनौं भनिएको अवस्था छ।’
कहाँ ‘स्पेस’ हुनसक्छ? सीमित स्पेसबाट अर्थतन्त्र कति चलायमान हुन सक्छ? यसका लागि केन्द्रीय बैंकले काम गरिरहेको छ। डेढ÷दुई खर्ब पुनर्कर्जा दिनुपर्याे। त्यो सम्भव छैन। अन्य उपाय केही छैन। ब्याजदर चलाउँदैमा अर्थतन्त्रमा सकारात्मक असर परिहाल्छ भन्ने देखिँदैन।
राष्ट्र बैंक अनुसन्धान विभागले विगतमा गरिएको कडाई अहिलेसम्म कायम रहेको र अब बिस्तारै खुकुलो बनाउन सुझाव दिएको छ। ‘जुन–जुन क्षेत्रमा कडाई गरियो, अब त्यस्ता क्षेत्र बिस्तारै छाड्दै जानुपर्छ,’ विभागले दिएको सुझावमा छ।
केन्द्रीय बैंकले समीक्षामार्फत सेयर कर्जामा लगाएको जोखिम भार सतप्रतिशतमा झार्न सक्ने सम्भावना छ। त्यसैगरी गाडी आयात गर्दा राखेको जोखिमभार पनि ७५ प्रतिशतमा झार्ने सम्भावना छ।
राष्ट्र बैंकले अर्थतन्त्रका वाह्य क्षेत्र जोगाउन मौद्रिक नीतिमार्फ आयात कडाई नीति लिएको असर सरकारी राजस्वमा परेको हो। अहिले सरकार चल्नै नसक्ने अवस्था राजस्व लक्ष्यअनुुसार नउठेर हो।
आर्थिक गतिविधि चलायमान बनाउन केन्द्रीय बैंकले मौद्रिक नीतिलाई केही खुकुलो बनाउन सक्ने देखिन्छ।
केन्द्रीय बैंकले प्रकाशित गरेको आठ महिनाको तथ्यांकअनुसार मुद्रास्फीति ७.४४ प्रतिशत छ। आयात १९.१ प्रतिशत, निर्यात २९.१ प्रतिशत र कूल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ।
विप्रेषण (रेमिट्यान्स) आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ।
शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ। कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड छ।
संघीय सरकारको खर्च ७ खर्ब ७९ अर्ब २३ करोड र राजस्व परिचालन ५ खर्ब ८२ अर्ब ७७ करोड छ। विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ।
तर, केन्द्रीय बैंकले नौ महिनाको तथ्यांकलाई विश्लेषण गरेर मौद्रिक नीति समीक्षा तयार पारिरहेको छ। ‘भुक्तानी सन्तुलन बचतमा देखिएको, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ। तर, मूल्यवृद्धिमा चाप परेकाले थोरै खुकुलो बनाएर समीक्षा आउने सम्भावना छ,’ केन्द्रीय बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो।