काठमाडौं। संघीय राजधानी काठमाडौं ज्ञानेश्वरमा लक्जरी अभरा भिल्ला निर्माण गरिरहेको आरभी ग्रुपले ललितपुर कुपन्डोलमा पनि नयाँ प्रपर्टी ‘सांग्रिला अपार्टमेन्ट’ बनाउने भएको छ।
केही महिनाभित्रै अपार्टमेन्ट निर्माण सुरु गर्ने गरी तयारी थालेको आरभी ग्रुपले कुपन्डोलका लागि बुकिङ भने खुला गरिसकेको छ।
आरभी ग्रुपका सञ्चालक निसहित मित्तलका अनुसार तीन रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुनेछ। भैंसेपाटी क्षेत्रमा ‘कार्यविनायक होम्स’ बनाएको आरभी ग्रुपको रिङरोड (चक्रपथ) भित्र दुई प्रपर्टी पहिलो हो। रिङरोडभित्रै सुविधा सम्पन्न अपार्टमेन्ट खोज्नेलाई लक्ष्य गरी कुपन्डोलमा निर्माण हुने अपार्टमेन्ट १४ तलाको हुनेछ।
‘काठमाडौं उपत्यका सहजै नियाल्न सकिने गरी निर्माण हुने अपार्टमेन्टमा ३६ वटा फ्ल्याट हुनेछन्,’ ग्रुप सञ्चालक मित्तलले क्यापिटल नेपालसँग भने, ‘पछिल्लो समय काठमाडौं उपत्यकाभित्र जग्गाको मूल्य ह्वात्तै बढिरहेका बेला अपार्टमेन्ट किन्नेको लहर बढेको छ। त्यही भएर हामीले एकसाथ काठमाडौं र ललितपुरमा दुईवटा लक्जरी अपार्टमेन्ट निर्माण सुरु गरेका हौं।’
ग्रुपका अनुसार सांग्रिला नाम दिइएको उक्त अपार्टमेन्ट कुपन्डोल कानदेवताथान नजिकै निर्माण हुनेछ। अपार्टमेन्टमा सबै वर्गलाई सहज होस् भनेर न्यूनतम मूल्य १ करोड ५० लाखदेखि अधिकतम १३ करोड ५० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।
१ करोड ५० लाख पर्ने फ्ल्याट ७ सय ५० वर्गफिट क्षेत्रफलको हुनेछ भने १३ करोड ५० लाखको फ्ल्याट ५ हजार वर्गफिटको हुनेछ। अपार्टमेन्टभित्र सामूहिकरूपमा हुने गरी स्विमिङ पुल, बालउद्यान, जिम हललगायत व्यवस्था हुनेछन्।
हरेक फ्ल्याटबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ। अपार्टमेन्टलाई आकर्षक बनाउन रङ पनि त्यहस् किसिमको लगाउने र बाह्रै महिना हरियाली (ग्रिनरी) हुने ग्रुपले जनाएको छ। साथै, अपार्टमेन्टमा सुरक्षा गार्डदेखि सिसी टिभी क्यामेरासमेत राखिने भएकाले सुरक्षाका हिसाबले समेत राम्रो हुने कम्पनीले जनाएको छ।
फ्ल्याट बुकिङका लागि ३० प्रतिशत रकम अग्रिम बुझाउनुपर्ने छ। कम्पनीले फाइनान्स सुविधाका लागि बैंक तथा वित्तीय संस्थाको समेत व्यवस्था गर्ने जनाएको छ।
जग्गाबाहेक अपार्टमेन्ट निर्माण गर्न ७० करोडभन्दा बढी खर्च हुने जनाएको छ। निर्माण भएको दुई वर्षभित्रै ग्राहकले अपार्टमेन्ट पाउने ग्रुपको भनाइ छ। अपार्टमेन्टको बेसमेन्टमा पार्किङको व्यवस्था गरिएको छ।