काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौंको अव्यवस्थित तार व्यवस्थापनका लागि १३ रुट तय गरेको छ।
प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै विभिन्न १३ रुट तय गरेको हो। जसमा माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरिएको छ।
त्यसपछि माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ। सूचनामा उल्लेख गरेअनुसार डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन हुनेछ। माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।
सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापनको अर्को रुट तोकिएको छ।
आइतबार काठमाडौं महानगर, दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरीबीच अनावश्यक तार हटाउने सहमति भएको थियो।