काठमाडाैं। उबेला– सिनेमा हलमा घुमिरहेको पंखाको आवाजले फिल्मको डाइलग (संवाद) छायामा पारिदिन्थ्यो। हलमा बस्न व्यवस्थित सिट पनि हुन्थेन। साघुँरो सिटमा अटेसमटेस भएर गर्मीका बेला खलखलती पसिना बगाउँदै फिल्म हेरेको सम्झना अहिले पनि धेरैको मानसपटलमा ताजै छ।
हलमा टिकट खुलेको १०/१५ मिनेटमै ‘टिकट सकियो’ भनेर भीडभित्र दोस्रो व्यक्तिबाट बढी शुल्क तिरेर ‘ब्ल्याक’ मा टिकट खरिद गर्नेको जमात पनि ठूलै थियो।
त्यसयता बागमतीमा धेरै पानी बगिसकेको छ। प्रविधिले सिनेमा हलमा ठूलो क्रान्ति गर्न भ्याइसकेको छ। ठाउँ उही, तर दृष्य फेरिएको छ। फिल्म हेर्ने ठाउँ फेरिएको छ। घन्टौं लाइनमा उभिएर पनि टिकट नपाएपछि ब्ल्याकमा किन्नुपर्ने बाध्यता ठाउँको ठाउँ हटेको छ।
अहिले– आफूलाई चाहिएको हलको टिकट तलमाथि, दायाँबायाँ, बीच जहाँको चाहियो त्यहाँको मोबाइल फोनबाटै छानिछानी काट्न सकिन्छ। हलहरूमा पछिल्लो डेढ दशकभित्र यस्तो परिवर्तन आइसकेको छ कि कुनै हलमा प्रवेश गर्दा उस्तैपरे पाँचतारे होटलको झल्को पाउन सकिन्छ। हल प्रवेश गर्नुअघिको ‘इन्टेरियर डिजाइन’, सँगै खुलेका बार र रेस्टुरेन्ट हेर्दा पाँचतारे होटलको झल्को मेटिनु स्वाभाविक हो।
त्यस्तै ‘आलिशान’ सिनेमा हतलमध्येको एउटा हो– ‘दरबार सिनेम्याक्स’। व्यापारिक तथा पर्यटनकीय केन्द्र दरबारमार्गको दरबारमलमा रहेको दरबार सिनेम्याक्स अन्तर्राष्ट्रियस्तरको सुविधा दिने उद्देश्यसाथ २०७९ वैशाख १ बाट व्यावसायिक घराना गुण ग्रुपले सञ्चालनमा ल्याएको थियो। सिनेम्याक्सले ‘प्रिमियम लोकेसन’ मा लक्जरियस सुविधा दिँदै आएको छ।
गुण ग्रुपले साढे दुई दशकदेखि ललितपुर ग्वार्कोमा ‘गुण सिनेमा हल’ सञ्चालन गरेको अनुभवलाई काठमाडौं दरबारमार्गमा लक्जरियस सुविधासहितको हलमा उतारेको हो। दरबार सिनेम्याक्सभित्र जडान गरिएका हरेक सामानले सबैको मन एकपटक पक्कै लोभ्याउँछ।
नेपालमा पछिल्लो समय सिनेमा हेर्नेहरूको जमात फेरिँदै छ। अहिले अधिकांश हलमा ‘क्युएफएक्स’ को व्यवस्थापनमा उच्च गुणस्तरमा फिल्म हलहरू सञ्चालनमा छ।
पहिला सामान्य हलमा फिल्म हेर्नेहरू अहिले क्युएफएक्समा जान थालेका छन्। पहिला–पहिला सिंगल थिएटरहरू नेपालमा धेरै चलेका थिए। २०/२५ वर्ष अघिसम्म नेपालमा सिंगल थिएटरले फिल्म धानेका थिए।
त्यो बेला गुण सिनेमा, गोपिकृष्ण, विश्वज्वोतीलगायत हलको रजगज थियो। मानिसहरूको मनोरञ्जनको थलोका रूपमा फिल्म हल नै हुन्थे। नेपाली एवं विदेशी फिल्म हेर्नेको भीड थेगिनसक्नु हुन्थ्यो।
एकदेखि डेढ दशक अघिदेखि भने त्यही फिल्म हेर्ने बानीमा परिवर्तन भएको छ। सहज र सुविधाजनक ढंगबाट फिल्म हेर्ने गन्तव्य खोजीमा दर्शक लागेका देखिन्छन्। सानो पर्दामा भए पनि सुविधाजनक ढंगले हेर्न चाहेनको संख्या बढेकाले पनि क्युएफएक्सको रजगज बढेको हो।
फिल्म हेर्न आउनेको चाहना बुझेर मल्टिचेन ब्रान्ड क्युफएक्सले नेपालमा सन् २००२ बाट जयनेपाल हलमा सुविधासम्पन्न तरिकाले हल व्यवस्थापन गरेर आफ्नो यात्रा अगाडि बढाएको थियो।
सिट संख्या कम गराएर उत्कृष्ट सेवा दिँदा हलमा झनै आकर्षण बढेको देखिन्छ। अहिले आएर फिल्म हलमा ‘कम्फर्टेबल’, ‘क्वालिटी’ र ‘लक्जरी’ सिट खोज्ने दर्शक असीमित छन्।
नेपाली बजारमा पहिले स्वदेशी तथा विदेशी सिनेमा हेर्न उच्च वर्गका दर्शक, व्यावसायिक घरानाका परिवार, विभिन्न देशका राजदूत, भिभिआइपी, भिआइपी तथा सेलिब्रिटीहरूले हल बुक गरेर जानुपर्ने बाध्यता थियो। उनीहरू हलमा गइहाले पनि कोरोना महामारीअघि नै मास्क लगाएर नचिनिने तरिकाले जानुपर्ने बाध्यता थियो। यस्ता समस्या नजिकबाट नियालेकै कारण समाधानका लागि ‘प्रिमियम लेभल’ को हल सञ्चालनमा ल्याएको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य बताउँछन्।
नेपालमा सञ्चालित हलमध्ये प्रिमियम लेभलको नभएको महसुस गरेर दरबार सिनेम्याक्स सञ्चालनमा ल्याएको र छोटो समयमा धेरैको माया पाएको उनको अनुभव छ।
हलमा सिट संख्याभन्दा गुणस्तरीय सेवा ध्यानमा राखेर प्रिमियम लेभलको हल बनाइएको उनको भनाइ छ। सीमित सिट, आरामदायी बसाइ, गुणस्तरीय दृश्य र गुणस्तरीय सेवा सिनेम्याक्सले दिइरहेको छ।
‘दर्शकलाई सिनेमा हेर्दा लक्जरियस फिल गराउने उद्देश्यसाथ सीमित व्यक्तिमात्र सामेल भएर चलिचित्र देखाउने गरी २०७९ को नयाँ वर्ष सुरुवातको दिन पारेर हल सञ्चालनमा ल्याएका हौं,’ प्रबन्ध निर्देशक शाक्य भन्छन्।
हलमा प्रिमियम इटालियन लेदरबाट बनेको सिट प्रयोग भएका छन्। सिटमै इलेक्ट्रोनिक सिस्टममार्फत आफ्नो सहजताअनुसार बसाइ अनुभव लिन पाइन्छ। पूर्णरूपमा सुतेरै फिल्म हेर्न मिल्छ। त्यतिमात्र होइन, त्यहाँ ‘लेजर प्रोजेक्टर’ बाट सिनेमा देखाइन्छ। हुन त लेजर प्रोजेक्टर गुण सिनेमा हलमा पनि प्रयोग भइरहेको छ। साउन्ड सिस्टम पनि उच्च गुणस्तरको प्रयोग भएको छ। जसले कम्र्फट सिटिङसँगै साउन्ड सिस्टमले पनि सबैको ध्यान तानेको देखिन्छ।
हलको इन्टेरियर पनि हाइप्रोफाइल दर्शक लोभ्याउने खालको राखिएको छ। हलमा छिर्नेबित्तिकै स्वागतका लागि उच्च गुणस्तरको इन्टेरियर डिजाइन गरिएको छ। जसले त्यहाँ प्रवेश गर्नासाथ अर्कै संसार पुगेजस्तो आभाष दिलाउँछ। गुण गुपद्वारा निर्माण भएको दरबार मलमा सञ्चालित दरबार सिनेम्याक्स सिनेमा हल क्युएफएक्सले व्यवस्थापन गरेको छ। सिनेम्याक्समा दुइटा हल छन्।
सिटबाटै खाना अर्डर, बारको समेत व्यवस्था
खानपिनको सुविधा लिँदै सिनेमा हेर्न चाहनेका लागि पनि गजबको सुविधा सिनेम्याक्सले ल्याएको छ। बसेकै सिटबाट अर्डर गरेर इच्छाअनुसारका परिकार खान पाइन्छ। ५० र ५३ सिट क्षमताका दुई हलमा सिनेमा हेर्न आउने दर्शकले सिटबाट इच्छा अनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी रेस्टुरेन्ट र बार सञ्चालनमा छ। जसबाट सिनेमा लागिरहेको बेला बीचमै उठेर खाजा वा कफ लिन जानुपर्ने बाध्यता हटेको छ।
सिनेमा हेर्दै मदिरा पिउनेका लागि छुट्टै बारको पनि व्यवस्था छ। जहाँ बियरसहित विभिन्न मदिरा उपलब्ध छन्। बिहान ७ः४५ देखि राति ९ः ४५ बजेसम्म सञ्चालन हुने हलमा दैनिक नौवटा शो चलिरहेको हुन्छ। हलको टिकट १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म तोकिएको छ। बिहान फिल्म हेर्न चाहनेका लागि भने केही छुटको व्यवस्था गरिएको छ।
संक्रमणबाट बचाउन ‘वुल्फ एयर मास्क’
नेपालमै पहिलोपटक दरबार सिनेम्याक्समा ‘वुल्फ एयर मास्क’ राखिएको छ। कोभिडलगायत अन्य भाइरस, ब्याक्टेरिया पूर्णरूपमा निस्तेज गर्न वुल्फ एयर मास्क र एयर स्टेरिलाइजेसन सिस्टम जडान गरिएको हो।
यो मास्कले हावामा फैलिने मोल्ड, कोरोना वा इन्फ्लुएन्जा भाइरस, एलर्जी, ब्याक्टेरिया, परागकण, धुलो इत्यादि निष्क्रिय बनाउँछ। जसका कारण सिनेमा हलमा भाइरस, ब्याक्टेरिया, धुलो वा गन्ध केही समयभित्रै पूर्णरूपमा निस्प्रभावी बनाउँछ र शुद्ध हावा उत्पादन गर्दै स्वस्थ सास फेर्न सक्ने वातावरण बनाउने गर्छ।
वैज्ञानिकरूपमा समेत सबै उमेर समूहका लागि उपयुक्त मानिएको उक्त प्रविधिले दरबार सिनेम्याक्समा चार घन्टाभित्र वायु गुणस्तर सुधार देखाएको छ। यो प्रविधि जडान गरेपछि सिनेपारखीका लागि सुरक्षाको अधिकतम सुनिश्चितताका खातिर हलसम्म गएर सिनेमा हेर्न उच्चतम सुरक्षा मापदण्ड कायम राख्दै सुरक्षित वातावरण व्यवस्थापन भइरहेको छ।
नेपालको सबैभन्दा सुरक्षीत र लक्जरियस : थिएटर वर्ल्ड
विश्वभरिका फिल्म हल र थिएटरबारे लेख्दै आएको प्रिमियम म्यागजिन ‘थिएटर वल्र्ड’ मा दरबार सिनेम्याक्सको चर्चा भएको छ। आफ्नो कभर पेजमै स्थान दिएर उक्त म्यागजिनले नेपालको सबैभन्दा सुरक्षित र लक्जरियस सिने हल भएको लेखेको छ।
भारतबाट प्रकाशन हुँदै आएको उक्त म्यागजिनले कोभिडका बेला वुल्फ एयर मास्क जडान गरी संक्रमण न्यूनीकरणका लागि प्रयास गरेको विषयलाई प्राथमिकता दिएको छ। थिएटर वल्र्डमा विश्वभरिका कुन–कुन सिनेमा हलले कस्ता खालका प्रविधि राखिरहेका छन् र कोभिडपछिको सिनेमा उद्योगले कसरी कोल्टे फेरिरहेको छ भन्ने विषय प्राथमिकतासाथ प्रकाशन गर्र्दै आएको छ।
थिएटर वल्र्डमा दरबार सिनेम्याक्सले स्थान पाउनु नै नेपाली सिनेमा हल जगतका लागि खुसीको विषय भएको प्रबन्ध निर्देशक शाक्य बताउँछन्। ‘विश्वभरिका हल तथा थिएटरभित्र हाम्रो पनि स्टोरी छापिनु गौरवको विषय हो,‘ प्रबन्ध निर्देशक शाक्य भन्छन्।
पूर्व राजपरिवारदेखि भिभिआइपीसम्मको रोजाइ
दरबार सिनेम्याक्समा फिल्म हेर्न पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाहसहितको राजपरिवार पुगेका छन्। उनीहरूले भारतीय सिनेमा ‘पठान’ हेर्न हल नै बुक गरेका थिए। पूर्व राजपरिवारमात्र नभई नेपालका ठूला व्यावसायिक घरानाका व्यक्ति, राजदूतहरू र सेलिब्रिटीसमेतले हल बुक गरेर आउने गरेका छन्।