काठमाडौं। नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ स्थापना गरेका छन्। बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटमार्फत गुरूङले नेपाल र भारत उडान गर्ने तयारी अगाडि बढाएका छन्।
गुरुङ उनै व्यवसायी हुन् जसले सन् २०२२ मा विश्व सुन्दरी प्रतियोगिताको ७१औं संस्करणको सहआयोजक बनेका थिए। उनले विश्वप्रसिद्ध फिल्म मल्टिप्लेक्स चेन ‘प्राइभा लक्जरी सिनेमाज’ पनि सञ्चालन गर्दै आएका छन्।
गुरुङले हिमालय जेटमार्फत बेलायतबाट नेपाल, भारत, अमेरिका, अस्ट्रेलियालगायत गन्तव्यमा लामो दुरीको ‘प्रिमियम’ उडान सञ्चालन गर्ने तयारी अगाडि बढाएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकतासाथ प्रकाशन गरेका छन्।
आगामी सेप्टेम्बरबाट व्यापारिक उडान सञ्चालन गर्ने योजना बनाएका गुरुङले हिमालयन जेटलाई के कस्ता किसिमको जहाज आवश्यक पर्छ भनेर अमेरिकी जहाज निर्माता कम्पनी बोइङ भ्रमण गरेका छन्। गुरुङको हिमालय जेटलाई बोइङ स्वयंले सहयोग गर्ने जनाउ दिएको छ।
हिमालय जेट ‘स्टार्टअप’ एयरलाइन कम्पनी हो। यसले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो। गत अप्रिल २६ मा बोइङ कम्पनी भ्रमणमा गुरुङले आफ्ना आमाबाबुलाई समेत लगेका थिए। गुरुङ परिवारका लागि बोइङले ‘डिनर’ (रात्रिभोज) समेत आयोजना गरेको थियो।
हिमालय जेटले काठमाडौं, नयाँदिल्ली र मुम्बईलाई युरोपका लन्डन र पेरिसलाई सिधा प्रिमियम उडानमार्फत जोड्ने योजना बनाएको छ। त्यसैगरी आगामी वर्ष सेवा विस्तार गर्दै अमेरिका र अस्ट्रेलिया उडान गर्ने पनि कम्पनीको महत्वाकांक्षी योजना छ।
हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सुञ्चालन गर्न लागिएको हिमालय जेटको जहाज संख्या (फ्लिट) कति हुन्छ भन्ने विस्तृत विवरण आइसकेको छैन।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।