काठमाडौं। एकै महिना तीनवटा हेलिकोप्टर दुर्घटना भएपछि मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित निकायसँग छलफल अगाडि बढाएको छ।
दुर्घटना न्यूनीकरणका लागि कहाँ चुकेका छौं र प्राधिकरणले कस्तो भूमिका निर्वाह गर्याे भने कम हुनसक्छ भन्ने विषयमा आइतबार हेलिकोप्टर कम्पनीका ‘एकाउन्टेबल म्यानेजर’ हरूसँग छलफल गरेको हो।
एयरलाइन्स कम्पनीमा कार्यकारी अधिकारसहित सम्पूर्ण घटनाको जिम्मेवारी लिने गरी एकाउन्टेबल म्यानेजर नियुक्त गरिएको हुन्छ। प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीका एकाउन्टेबल म्यानेजरलाई बोलाएर हवाई दुर्घटनाबारे गहन भएर छलफल अगाडि बढाएको हो।
पछिल्लो एक महिनामा सिम्रिक एयर, हेलि एभरेस्ट र एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो। सिम्रिकको हेलिकोप्टर दुर्घटनामा एकजनाको ज्यान गयो भने चारजना घाइतेको उपचार भइरहेको छ।
दुर्घटना क्रम बढेपछि प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीका एकाउन्टेबल म्यानेजर बोलाएर छलफल गरेको प्राधिकरणले जनाएको छ। वायुसेवा सञ्चालक संघका महासचिव एवं फिसटेल एयरका एकाउन्टेबल म्यानेजर मनोज कार्कीले प्राधिकरणले दुर्घटना न्यूनीकरणबारे छलफल चलाएको जानकारी दिए।
‘प्राधिकरणले सकारात्मकरूपमा हवाई दुर्घटना न्यूनीकरणका लागि आ–आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा छलफल अगाडि बढाएको हो,’ महासचिव कार्कीले क्यापिटल नेपालसँग भने, ‘अनौपचारिकरूपमा भएको छलफलमा सबैले आ–आफ्नो तर्क राखेका छौं, यो छलफल अझै निरन्तर रहन्छ।’
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले हवाई दुर्घटना न्यूनीकरण गर्न कसको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिएको बताए।
हवाई दुर्घटना बढेसँगै सुरक्षा (सेफ्टी) सँग जोडेर शंका उत्पन्न भइरहेका बेला प्राधिकरणले पहिलोपटक हेलिकोप्टर कम्पनीसँग छलफल अगाडि बढाएको उनको भनाइ छ।
एक हेलिकोप्टर कम्पनीका सञ्चालक तथा एकाउन्टेबल म्यानेजरका अनुसार प्राधिकरणले दुर्घटना बढ्नुको कारण के हो र प्राधिकरणले कस्तो भूमिका निर्वाह गर्न सक्यो भने नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेको बताए।
प्राधिकरणले द्विपक्षीय छलफल गरे पनि कुनै निर्णय भने गरेको छैन। दुर्घटना रोक्ने विषयमा प्राधिकरणले चाल्नुपर्ने कदम र हेलिकोप्टर कम्पनीले गर्नुपर्ने दायित्वबारे थप छलफल गरी निर्णयमा पुग्ने ती व्यवसायीले जानकारी दिए।
एउटा हेलिकोप्टर वा जहाज जहाज दुर्घटनालगत्तै उक्त कम्पनीका सबै हेलिकोप्टर वा जहाज नै ‘ग्राउन्डेड’ गर्ने गरेको भन्दै पछिल्लो समय प्राधिकरणसँग हेलिकोप्टर र वायुसेवा कम्पनी रुष्ट छन्।
तथापि, आइतबारको छलफलमा भने यसबारे प्राधिकरणसँग एकाउन्टेबल म्यानेजरहरूले कुरा उठाएनन्।