काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्यमी डा. रुप ज्योतिलाई पक्राउ गर्न आदेश दिएलगत्तै गत बिहीबार उनी र उनकी छोरी सुरुचीलाई प्रहरीले विदेशबाट फर्कदैं गर्दा त्रिभुवन विमानस्थलमा पक्राउ गर्यो ।
लगत्तै अदालतले उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश मात्रै दिएन रुपका दाजु नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा ज्योति गुप्रका अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गरी अनुन्धान गर्न प्रहरीलाई आदेश दियो । उनी अहिले भारतमा छन ।
काठमाडौंको बाँसवारीस्थित एक जग्गासम्वन्धि कारोबारमा ठगी भएको आरोपमा रुप पक्राउ परेपछि आत्तिएको निजी क्षेत्र पद्मलाई पनि पक्राउ गरि अनुसन्धान गर्न आदेश दिएपछि थप आतङ्कित भएको छ । ठगी आरोपमा रुप ज्योति पक्राउ परेपछि नेपाल चेम्बर अफ कमर्सले पहिलो चरणमा विरोधको आवाज उठायो ।
तर, त्यो तेजिलो देखिएन । त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गरी आफ्नै वेभसाईटमा राख्यो । तर, त्यो बिज्ञप्ति के, किन, कसका लागि र कसले जारी गरेको भन्ने सम्म जानकारी थिएन । यतिसम्म त थियो नै महासंघले जारी गरेको विज्ञप्तिमा उसको ‘लेटरप्याड’समेत प्रयोग गरेको देखिएन ।
यसले अदालतको आदेशपछि निजी क्षेत्र डराएको या आफ्नै पुर्व अध्यक्ष र व्यवसायिक घरानाका व्यक्तिहरु एकपछि अर्को पक्राउ पर्ने देखिँदासमेत चुईंक्कसम्म नबोल्नुले उद्यमी/व्यवसायीमा पनि गम्भिर समस्या रहेको देखाउँछ । यद्यपी अदालतमा विचाराधिन विषयमा कसैले पनि हस्तक्षेप गर्नुहुँदैन भन्ने सामान्य मान्यता रहिआएको पाईन्छ ।
तर, व्यावसायिक घराना एकपछि अर्को समस्यामा पर्दा चुप लागेर बस्दा भोली त्यही खाल्डोमा आफूपनि नपरिएला भन्न सकिन्छ र ! अझ महासंघका पूर्व अध्यक्ष नै पक्राउ पर्ने परिस्थितिले उद्योगी/व्यवसायी एकजुट भएर र वास्तविकता के हो भन्ने सार्वजनिक गरिदिएर घट्नाको मुकाविला गर्नुपर्ने होइन र ? लेनदेनसम्वन्धि विवादमा देवानी कानुनअनुसार मुद्दामामिला चल्छ तर, आरोपीलाई सिधै पक्राउ गनुपर्ने परिस्थिति बन्दैन । यस विषयलाई समेत उद्योगी/व्यवसायीले आफ्नो कवच बनाउन खोजेको देखिएन ।
‘नियत राखेर ज्योति ग्रुप र त्यहाँका सदस्यलाई सिध्याउने खेल भइरहेको छ,’ एक उद्योगीले नाम नबताउने सर्तमा भने, ‘ज्योतिको विषयलाई लिएर प्रतिक्रिया दियो भने भोलि हामीलाई पनि अप्ठयारो बनाउँछन् । त्यसैले बोल्ने आँट आएन ।’ ज्योतिलाई नियोजित रुपमा फसाइएको हो भन्ने सबैलाई थाहा छ भनेर अनौपचारिक व्याख्या गर्न लालायित हुने उद्योगीहरु भोली हामी पनि अप्ठ्यारोमा पर्छौं भनेर ज्योतिको पक्षमा बोल्न वा वकालत गर्न नसक्नु भनेको आँफ्नै अस्तित्व समाप्त पार्ने अवसरको खोजी गर्नु हो ।
‘सम्मानित व्यावसायिक घरानामाथि बक्रदृष्टि राख्नु अत्यन्तै घृणित कार्य हो । एक पछि अर्को गर्दै उद्योगीलाई पक्राउ गर्न आदेश दिनुले सबैको नियत प्रस्ट भएको छ,’ अर्का एक उद्योगीले भने, ‘ज्योति समूहले कसैको निहीत स्वार्थ पूरा नगरेकाले आज सिकार हुनुपर्यो ।’
ज्योति समूहले राज्यलाई अहित हुने कुनै कार्य नगरेपनि औद्योगिक इतिहास बोकेको संस्थालाई राज्यका विभिन्न निकायले सिध्याउने प्रपञ्चमा लागेको उद्योगीको बुझाइ छ । कसैलाई चन्दा नदिएको निहुमा वा कसैलाई घुस नदिएकै आधारमा यसरी आक्रमण गर्न नहुने उद्योगीको तर्क छ । तर, अहित गरेको छ भन्ने मान्ने हो भने बोल्न डराउनुपर्ने कारण के छ ?
राज्य संयन्त्रसँग निजी क्षेत्र यसरी डराएको पहिलो पटक हो । यसअघि यति विध्न डराएको थिएन । राज्यले हरेक पटक विभिन्न बहानामा उद्योगीलाई जेल पठाउने योजना बनाएकै हो । तर, निजी क्षेत्रले त्यसको डटेर सामना गरेका थिए । यसअघि २०७२ सालमा सरकारले राजपत्रमा प्रकाशित गरेको मूल्यमा ६ महिनासम्म औषधि नबेचेर सरकारी निर्णय कार्यान्वयनमा अटेरी गरेपछि नेपाल उद्योग परिसङ्घ (सीएनआई)का तत्कालीन अध्यक्ष हरिभक्त शर्माको औषधि उद्योग देउराली जनता र लोमस फर्मास्यूटिकल्समा छामा मारेको थियो ।
ती औषधी उद्योगले राजपत्रमा प्रकाशित मूल्यअनुसार औषधि नबेचेको पाइएपछि देउराली जनताका कर्मचारी र लोमसका निर्देशक प्रवलजङ्ग पाण्डेलाई नियन्त्रणमा लिएको थियो । उद्योगीलाई नियन्त्रणमा लिने वित्तिकै तत्कालिन समयमा महासङ्घका तत्कालीन अध्यक्ष पशुपति मुरारको अग्रसरतामा सीएनआई र चेम्बरले संयुक्त पत्रकार सम्मेलन गरेर तत्काल पक्राउ गरिएका उद्योगी तथा कर्मचारीलाई नछाडे देशभरका औद्योगिक प्रतिस्ठान बन्द गर्ने चेतावनी दिएकै भोलीपल्ट उनीहरु रिहा भएका थिए ।
त्यो बेला सम्पूर्ण निजी क्षेत्र एक जुट भएर बोलेको थियो र त्यसले परिणाम पनि दियो । र एकजुट भएर बोल्ने हो भने अहिले पनि उनीहरुको आवाज बुलन्द हुन सक्छ ।
वास्तविक समस्या के हो भन्ने भन्ने निजी क्षेत्रले आधिकारिक रुपमा बताउन सक्नुपर्छ । तर, अहिले निजी क्षेत्रका संस्था डराएका जस्ता देखिन्छन् वा यो समस्या ज्योति समूहको आफ्नो हो यसमा हामीले धेरै टाउको दुखाउनु जरुरी छैन भनेर बसेका छन् ।
यदि उद्योगी/व्यवसायीले आफ्ना अभिभावकसमेतमाथी आएका लाञ्छनाहरुलाई चिर्न सकेनन् भने अहिले ‘बुढी मरि भन्दा पनि काल’ पल्कियो भन्ने चिन्ताले उनीहरुलाई नै गाँज्दै लैजाने छ । अन्याय भएको छ भन्ने जान्दाजान्दै आज ‘तै चुप मै चुप’ भनेर बस्ने हो भने भोली आँफैमाथी अन्याय हुँदा को–सँग गुहार माग्ने नि ?