काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत २ सय ७० मेगावाट क्षमताका चार जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
चिलिमेले रसुवागढी हाइड्रोपावर लिमिटेडमार्फत १ सय ११ मेगावाटको रसुवागढी, मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडबाट १ सय २ मेगावाटको मध्यभोटेकोसी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडमार्फत १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन आयोजना निर्माण गरिरहेको छ।
निर्माणाधीन चार आयोजनाबाट आगामी असारभित्र बिजुली उत्पादन थाल्ने गरी काम भइरहेको छ। काम भइरहे पनि निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा अझै शंका छ।
चिलिमेको मातृ संस्था नेपाल विद्युत प्राधिकरणले रसुवागढी, मध्यभोटेकोसी र तल्लो सान्जेन आयोजनालाई चालू आर्थिक वर्षभित्र पूरा हुने आयोजनाको सूचीमा राखेको छैन।
चिलिमेले निर्धारित समयमा पूरा गर्न अझै मुख्य चुनौती रहेको बताइरहेका बेला सम्बद्ध कम्पनीले आगामी असारभित्र आयोजना सकेर बिजुली उत्पादन हुने दाबी गरिरहेका छन्। १४.८ मेगावाटको माथिल्लो सान्जेनमा निर्माण व्यवसायीले इलेक्ट्रोमेकानिकल उपकरण जडान सुरु गरेको चिलिमेले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
यस्तै रसुवागढी र सिभिल निर्माणको काम लगभग पूरा भई इलेक्ट्रोमेकानिकल उपकरण जडान अन्तिम चरणमा रहेको चिलिमेले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ।चिलिमेका निर्माणाधीन चार आयोजना पूरा भए विद्युत उत्पादन गत आर्थिक वर्षहारहारी अर्थात साढे ७ सय मेगावाट पुग्ने छ।
रसुवागढीले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ। यस्तै मध्यभोटेकोसीले बिजुली बेचेर वार्षिक २ अर्ब ८० करोड आम्दानी गर्ने छ।
समय लम्बिँदा लागत पनि बढ्यो
चिलिमेले चार आयोजना निर्माण सुरु गरेको लामो समय बितिसकेको छ। भूकम्प, कोरोना महामारी र बाढीका कारण आयोजना ढिलाइ हुँदै आएको छ। यसले लागत बढेको छ भने वार्षिक अर्बौं आम्दानी गुमेको छ। आम्दानी नभएपछि लगानीकर्ताले आयोजनाबाट प्रतिफल पाउन सकेका छैनन्।
कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा मध्यभोटेकोसी निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो।
आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख रुपैयाँ पुगेको छ।रसुवागढीको समय लम्बिँदा लागत बढेर समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ब्याजबाहेक १७ अर्ब १ करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ। यसअघि निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ आधार मानी आयोजना निर्माण सुरु भएको थियो।
आयोजनाको लागत ३ अर्ब ३३ करोड रुपैयाँ बढेको छ। समय थपिएको र डलरको भाउ बढेकाले लागत अझै थप हुने अनुमान आयोजनाको छ। सान्जेन जलविद्युतले बनाइरहेका दुई आयोजनाको लागत ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ अनुमान गरिएको थियो।
माथिल्लो सान्जेनको लागत निर्माण अवधिको ब्याजबाहेक २ अर्ब २१ करोड ८० लाख र तल्लोको ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, कोरोना महामारी, डलरको मूल्यवृद्धि, मुद्रास्फीति र अन्य कारण आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
लागत कतिसम्म बढ्छ भन्ने कुरा विवरणमा उल्लेख गरिएको छैन। आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण लगानी छ।
चार आयोजनाको सम्भाव्यता अध्ययन जारी
चिलिमेले चार जलविद्युत आयोजना बनाउन सम्भाव्यता अध्ययन गरिरहेको छ। नयाँ आयोजनाको विस्तृत अध्ययन अघि बढाएको हो। नयाँ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको चिलिमेले जनाएको छ।
सुदूरपश्चिम बझाङमा रहेको ८७ मेगावाटको सेती नदी ३, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९३ मेगावाटको बुढीगण्डकी र ४५ मेगावाटको स्यारखोला आयोजनाको डिपिआर चिलिमे इन्जिनियरिङ सर्भिसेस लिमिटेडबाट भइरहेको छ।
आयोजनाको जडित क्षमता ३ सय ६ मेगावाट छ। सम्भाव्यता अध्ययन गरी निर्माण पूरा गर्न चिलिमेलाई चुनौती छ। प्रस्तावित आयोजनाको डिपिआर तयारपछि छुट्टाछुट्टै कम्पनीबाट निर्माण हुने भएको छ।
हाल आयोजना अध्ययनमा भएको खर्र्च चालू पुँजीमा देखाइएको छ। कम्पनी स्थापना भएपछि स्वामित्व हस्तान्तरण हुने चिलिमेले जनाएको छ। आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ। चार आयोजना सञ्चय कोषको ऋण लगानीमा निर्माण सुरु भएको हो।
प्रस्तावित सबै आयोजना जनताको जलविद्युत आयोजनामा छन्। आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ। कम्पनीको कर्पोरेट कार्यालय रहेको स्थानमा चिलिमे टावरको निर्माण जारी छ।
चिलिमेको नाफा ५२ करोड ८९ लाख
चिलिमे हाइड्रोपावरले चालू आर्थिक वर्ष तेस्रो त्रैमासमा ५२ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ। कम्पनीको नाफाको अवस्था राम्रो भए पनि विद्युत बिक्रीबाट हुने आम्दानी २.३३ प्रतिशत अर्थात १ करोड ९० लाख रुपैयाँ घटेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
विद्युत प्राधिकरणले कम बिजुली खरिद गरेकाले आम्दानी घटेको कम्पनीले जनाएको छ। चिलिमेले बिजुली बेचेर ८० करोड ४२ लाख रुपैयाँ कमाएको छ। बैंकमा निक्षेप मौज्दात बढेकाले ब्याज आम्दानी ३५ प्रतिशत बढेर ४ करोड ५६ लाख पुगेको छ। कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ९.६२ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ छ।