नेपाल उद्योग बाणिज्य महासंघमा विधान संशोधनको बहस तत्काललाई स्थगित भएको छ । कम्तीमा २ कार्यकाल प्रत्यक्ष अध्यक्षको निर्वाचनका विषयमा बहस नहुने सहमती जुटेको छ । करिब एक बर्ष महासंघमा विधान संशोधनको बहसले आगो नै ओकल्यो । सोहि बिषयका लागि कार्तिक २९ गते हुने भनिएको विशेष साधारणसभा दुई साता अघि नै नहुने निश्चित भइसकेको थियो । गत शुक्रबार विधान संशोधन समितिले विशेष साधारणसभा नगर्ने र आइतबार महासंघको स्थायी समिति बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गर्यो ।
विधान संशोधनको बहस भवानी राणा अध्यक्ष भएको तीन महिनापछि देखि नै महासंघभित्र सुरु हुन थालेको थियो । बहस शुरु भएपछि २०७४ चैतमा विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डीराज ढकाललाई संयोजक बनाएर एक समिति गठन गरियो । त्यो बेला प्रत्यक्ष अध्यक्षको निर्वाचन तीव्र रुपमा बहस उठेको थिएन । केहि बुँदाहरु संशोधन गर्ने भनिएपनि विधान संशोधन समितिले काम अगाडी बढाएन ।
२०७५ चैत २८–२९ को महासंघको ५२ औं साधारण सभाले विधान संशोधन समितिका संयोजक ढकाललाई २०७६ साउनभित्र विशेष साधारणसभा बोलाउने जिम्मा दियो । सो अवधिभित्र पनि काम भएन । कार्तिक २९ गते विशेष साधारणसभा तोकिएपछि भने महासंघभित्र र बाहिर ठूलै बिधान संसोधनको पक्ष र बिपक्षमा कसरतहरु हुन थाल्यो । विधान संशोधनका लागि महासंघका पदाधिकारीहरु नै पक्ष र विपक्षमा आआफ्नो तर्कहरु सार्वजनिक गर्न थाले । तर, एकाएक पक्ष र विपक्षका समुहहरु एकजुट नै भए जसरी विधान संशोधन नहुने गरि महासंघ अगाडी बढ्यो । यो कसरी संभव भयो त ?
पशुपति मुरारकाको त्यो नोट अफ डिसेन्ट र शेखर गोल्छाको ४ विकल्प
महासंघका निवर्तमान अध्यक्ष पशुपति मुराराका विधान संशोधनको प्रक्रिया विधानसम्मत नै नभएको जनाउँदै आएका थिए । विधान संशोधनको प्रक्रिया सुरुदेखि नै गलत रहेको तथा विधान मिच्ने काम भएको विषयलाई प्रमुखताका साथ उठाउने उनि नै हुन् । २०७६ साउन ३१ गतेको बैठकमा विधान संशोधनको विषयलाई लिएर उनले फरक मत राखे । तेह्रौं बैठकमा बोलाउँदा विशेष साधारणसभाको मिति नतोेकेको विषयमा पनि उनले सहमती जनाएनन् ।
विधान संशोधनको प्रस्ताव रायसहित साधारणसभा सुरु हुनुभन्दा तीन महिनाअगाडि नै महासंघका सबै सदस्य संघ समक्ष प्रस्तुत गर्नेुपर्ने वैधानिक व्यवस्था हुँदाहुँदै अन्तिमसम्म पनि सुझाव संकलन गरिरहेकाले त्यो पनि विधान विपरित रहेकोे कुरा मुरारकाले उठाए । यो विषयमा उनले फरक मत राखिरहे साथै विधान संशोधन समितिमा रहेका केहि सदस्यहरु पनि विधान विपरित राखिएको उनले जिकिर गरिरहे । विधान संशोधन समितिले सुरुदेखि गलत काम गरेको बिषयमा वकालत गरेका मुराराकाले सोहि कारण विशेष साधारणसभा नभएको बुझेका छन् ।
यदि विशेष साधारणसभाको प्रक्रिया अगाडी चल्दै गएको भए । शेखर गोल्छाका चार विकल्प थिए
१. प्रक्रिया गलत छ भनेर रोकि पाउँ भनि अदालत जाने,
२. ६० र ४० प्रतिशतको लडाईंमा आफ्नो पक्षमा ४० प्लस पुर्याउने
३. विद्यमान विधानअनुसार निर्वाचित भएकाले आफ्नो अधिकारलागि अदालत जाने
४. विधान साधारणसभाबाट पास भएर गएपनि मन्त्रीपरिषदबाट रोक्ने
गोल्छाका यी चार विकल्पका बारेमा चण्डीराज ढकालसमूहलाई पनि जानकारी थियो । धेरै विवाद हुँदै गर्दा त्यसले नकारात्मक असर बढी पर्नेमा पनि ढकाल समूह सर्तक थियो ।
भवानी राणाको समन्वकारी भूमिका
महासंघकी वर्तमान अध्यक्ष भवानी राणा विधान संशोधनका विषयमा तटस्थ बसिन् । उनी ढकालसँग नजिक भएपनि विधान संशोधनका विषयमा अहिले नै प्रत्यक्ष अध्यक्ष निर्वाचित प्रणालीमा जाने नहुने मुडमा सुरुदेखि नै थिइन् । ढकाल समूहले दसैंअघि वल्र्ड ट्रेड सेन्टरमा गरेको शुभकामनासहितको पत्रकार सम्मेलनमा राणा कार्यक्रम सकिएपछि मात्र पुगिन् ।
आफु जुन प्रक्रियाले अध्यक्ष भएको हो सोहि प्रक्रिया अनुसार गोल्छालाई अध्यक्ष बन्न उनले सघाइन् । सुरुमा ढकालसमुह नजिक रहेकी राणा पछिल्लो पटक गोल्छा समुह निकट भइन् । जसले गर्दा ढकाल समुह कमजोर भयो । राणालाई महासंघभित्र उदाउँदै गरेका प्रबलजंग पाण्डेले पनि साथ दिए । चण्डीराज ढकालले महासंघमा आफु अनुकुल काम गराउँछन् भन्ने आरोपबाट मुक्त हुन पनि राणाले शेखरलाई साथ दिइन् ।
चण्डी–चन्द्र फ्याक्टर
चण्डीराज ढकालसमूहमा नै रहेर शेखरलाई साथ दिने खेलाडी हुन् चन्द्र ढकाल । वल्र्ड ट्रेड सेन्टरको पत्रकार सम्मेलनमा चन्द्र ढकालले निकै सन्तुलित मन्तव्य राखेका थिए । त्यो पत्रकार सम्मेलनमा चन्द्र ढकालको उपस्थिती नहोस् भन्ने चाहना गोल्छा समूहको थियो तर चण्डीराजसँगको निकटताका कारण पत्रकार सम्मेलनमा पुगेका चन्द्रले विधान संशोधनको पक्षमा आफ्नो बलियो तर्क नै राखेनन् । उनले मिलेर र सहमतीमार्फत जानुपर्छ भन्ने भावना मात्र राखे । चन्द्र ढकालले सुरुदेखि नै विधान संशोधन गर्न नहुने कुरा चण्डीराज ढकाललाई भनिरहे ।
अहिले शेखर गोल्छा नै अध्यक्ष हुनुपर्छ भनेर चन्द्र ढकालले चण्डीराज ढकाललाई कन्भिन्स गरिरहे । विधान संशोधन नहुँदा चन्द्र ढकाललाई पनि फाइदा थियो । कम्तीमा २ कार्यकाल विधान संशोधन नहुँदा चन्द्र ढकाल बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्ने लाइनमा छन् । त्यसैले पनि चण्डी ढकालसँग नजिक भएर पनि चन्द्रले गोल्छाको वकालत गरिरहे । सोहि कारण पनि चण्डीराज ढकाल विधान संशोधनको विषयमा पछि हटेका हुन् । चण्डीराज ढकाललाई साथ दिइरहेका उमेशलाल श्रेष्ठ, किशोर प्रधान, भाष्करराज कर्णिकारहरुले अन्तिम समयसम्म पनि विधान संशोधन हुनुपर्छ भनेर लागिरहेका थिए । तर, उनिहरुले विशेष साधारणसभा स्थगित गर्ने निर्णयपछि आफ्नो धारणा भने सार्वजनिक गरेका छैनन् । विधान संशोधनको पक्षमा सबैभन्दा बढि लागेका प्रधान अहिले गोल्छासँग निकट भैरहेका छन् ।
सरकार र नेकपाको अनटोल्ड स्टोरी
महासंघको पछिल्लो राजनीतिमा सरकार र नेकपाको पनि चासो थियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि महासंघको विधान संशोधनको विषयमा चासो राखेका थिए । प्रधानमन्त्रीको चाहना पनि तत्काल विधान संशोधन नहोस् भन्ने थियो । सुरुमा अध्यक्षमा चुनाव हुनु राम्रो भन्ने कुरामा समहति जनाउदै संशोधनका पक्षमा देखिएका प्रधानमन्त्री ओली पछि केहि कार्यकाल यहि प्रक्रिया ठिक छ भन्नेमा पुगेका थिए । यसमा ओली निकट व्यवसायीले बिफ्रिङले समेत काम गरेको देखिन्छ । उद्योग मन्त्री मातृका यादवले त कसैलाई रोक्नका लागि विधान संशोधन गर्न नहुने सार्वजनिक मन्तव्यसमेत दिएका थिए । नेकपाका नेताहरुले पनि सार्वजनिक कार्यक्रममासमेत व्यवसायीहरुसँग विधान संशोधनका विषयमा जानकारी लिदैं तत्काल विधान संशोधन गर्न नहुने धारणासमेत राख्दै आएका थिए ।
र अबको बाटो
महासंघको वेटिङ प्रेसिडेन्ट शेखर गोल्छा हुन् । अध्यक्षका विषयमा कुराहरु प्रष्ट भएपछि अब महासंघको राजनीति बरिष्ठ उपाध्यक्षका लागि हुन्छ । जुन कसरत अहिले सुरु भैसकेको छ । अहिले निवर्तमान अध्यक्ष मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र वेटिङ प्रेसिडेन्ट गोल्छाको चाहना छ । उमेशलाल श्रेष्ठ, चन्द्र ढकाल उपाध्यक्षमा नै बसेर बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई ल्याउने तर यसका लागि चन्द्र ढकाल सहमत छैनन् । उनी कुनैपनि हालतमा बरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने मनस्थितीमा छन् । अबको पाँच महिनापछि महासंघको निर्वाचन हुँदैछ ।
अहिलेको अवस्था किशोर प्रधान गोल्छा समुहबाट र चन्द्र ढकाल चण्डीराज ढकालसमुहबाट बरिष्ठ उपाध्यक्ष लड्ने तयारीमा छन् । उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठले पनि बरिष्ठ उपाध्यक्षमा लड्नका लागि कसरत गरिरहेका छन् । निर्वाचन नजिकिदैं गर्दा गोल्छा समुहले चन्द्र ढकाललाई नै बरिष्ठ उपाध्यक्षमा सहयोग गर्ने अनुमान ढकाल समुहको छ । प्रधानले विधान संशोधनका पक्षमा तीव्र लबिङ गरिरहेका थिए जबकी चन्द्र ढकालले शेखर गोल्छा नै अध्यक्ष हुनुपर्छ भनेर लागिपरेका थिए । विधान संशोधनको बहसमा चण्डिराज ढकाल र शेखर गोल्छाको गुट बनेजस्तै महासंघमा बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र चन्द्र ढकाल टाढा हुनु हुँदैन ।