काठमाडौं। विपश्यना गर्न भारतीय सिने उद्योग बलिउडका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन्। उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विपश्यना ध्यान केन्द्र बूढानीलकण्ठ गएर ध्यानमा बसेका छन्।
विपश्यना ध्यान केन्द्रका सञ्चालक तथा व्यावसायिक घराना ज्योति समूहका अध्यक्ष डा. रूप ज्योतिले बलिउड अभिनेता खान आइतबार काठमाडौं आउनासाथ विपश्यना ध्यान केन्द्रमा बसिसकेको जानकारी दिए। अभिनेता खानले ध्यान केन्द्रमा बसेर ११ दिनको विपश्यना गर्ने ज्योतिले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अभिनेता खान भिस्टारा एयरलाइन्सको जहाजमा नेपाल आएका थिए। बलिउड अभिनेता खान यसअघि सन् २०१४ मा लुम्बिनी भ्रमणका गर्न नेपाल आएका थिए। खानले पछिल्लोपटक चलचित्र अभिनयमा लामो ‘ग्याप’ राखेका छन्।
उनले चलचित्र अभिनय त्यागेको घोषणासमेत गरेका थिए। यसअघि सन् २०१४ अक्टोबर ७ मा अभिनेता खान युनिसेफमार्फत नेपाल आएका थिए। त्यसबेला दुई दिने भ्रमणमा आएका खानले काठमाडौंबाट यती एयरलाइन्सको जहाज चढेर बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए। लुम्बिनीको होक्के होटलमा दिउँसोको खाना खाएर उनी बेलुका काठमाडौं फर्र्किएका थिए।
११ दिन विपश्यना ध्यानमा बसेपछि अभिनेता खानले नेपालका अन्य पर्यटकीय गन्तव्य भ्रमण गर्छन् वा सिधै भारत फर्किन्छन् भन्ने विस्तृत विवरण आउन बाँकी छ। ५८ वर्षीय अभिनेता खानको पछिल्लो दाम्पत्य जीवन २०२१ मा टुंगिएको थियो। उनले १९८६ मा पहिलो विवाह रिना दत्तसँग गरेका थिए।
२००२ मा रिनासँग सम्बन्धविच्छेद गरेका खानले २००५ मा किरण रावसँग दोस्रो विवाह गरेका थिए। तर, २०२१ मा किरणसँग पनि उनले सम्बन्धविच्छे गरे। तीन सन्तान रहेका बलिउड अभिनेता, निर्देशक तथा निर्माता खानले तारे जमिन पर, गजिनी, रंग दे बसन्ती, फना, दिल चाहता हे, थ्रि इडियट्स, पिके, धुम ३, दंगल जस्ता चर्चित चलचित्रमा मुख्य भूमिकामा काम गरेका छन्।
फाइल तस्बिरहरू