काठमाडौं। केन्द्रीय बैंकले यसैसाता मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग टकराव हुँदा गत जेठ १३ गते समीक्षा गरिएको थियो। यसपटक वैशाखभित्रै मौद्रिक समीक्षा आउने भएको छ।
केन्द्रीय बैंकले अहिले अर्थतन्त्रमा सूचकहरूको सुक्ष्म विश्लेषण गरिरहेको छ। नाै महिनाको तथ्यांकमाथि अहिले विश्लेषण चलिरहेको छ। समस्याग्रस्त अर्थतन्त्रलाई उकास्ने माध्यम भनेकै मौद्रिक नीतिलाई बनाउँदा केन्द्रीय बैंक थप दबाबमा छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सही दिशामा ल्याउनुपर्ने बताउन थालेपछि गभर्नर महाप्रसाद अधिकारीसहित केन्द्रीय बैंकको टिम दबाबमा परेको हो।
अर्थमन्त्री महतले सेयर कर्जाको जोखिम भार १५० प्रतिशतलाई घटाउनुपर्ने, सेयर बजारलाई चलायमान बनाउनुपर्ने बताएपछि केन्द्रीय बैंक थप दबाबमा परेको हो।
अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले लगातार १० औं पटक ब्याजदर बढाइसकेको छ। फेडरलले मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै लगातार ब्याजदर बढाउँदै आएको छ।
बैंकले गत बिहीबार ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत बिन्दु कायम गरेको हो। यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो।
अमेरिकाको यो ब्याजदर १६ वर्ष यताकै उच्च हो।
अमेरिकाले ब्याजदर बढाउनेबित्तिकै त्यसको असर संसारभर पर्छ। यस्तो अवस्थामा नेपालको केन्द्रीय बैंकले सचेततापूर्वक आफ्ना नीतिहरू लिनुपर्ने देखिन्छ।
बाह्य क्षेत्रको दबाब विस्तारै कम हुँदै गएको छ। रेमिट्यान्समा वृद्धि, पर्यटक आगमन उत्साहजनक हुँदा भुक्तानी सन्तुलन राम्रो अवस्थामा भएकाले आयातमा लगाउँदै आएको जोखिम भारलाई केही कम गर्न अर्थमन्त्री महतले केन्द्रीय बैंकसँग अपेक्षा गरेका छन्।
केन्द्रीय बैंकले अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब परेपछि गाडीको जोखिम भार ७५ बाट १५० प्रतिशत पुर्याएको थियो। त्यसलाई आउने मौद्रिक नीति समीक्षाबाट घटाउन व्यवसायीले पनि केन्द्रीय बैंकलाई दबाब दिइरहेका छन्।
ब्याजदर विस्तारै ओरालो यात्रामा छ। बैंकमा लगानीयोग्य रकम पर्याप्त हुँदै गएको छ। आयात प्रभावित हुँदा सरकारको खर्च र आम्दानीबीचको सन्तुलन समेत नराम्ररी बिग्रिएको अवस्थामा मौद्रिक नीति समीक्षामाथि सरकार बढी निर्भर रहेको देखिन्छ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालका अनुसार केन्द्रीय बैंकले लिएका नीति केही खुकुलो बनाएर माग बढाउन सकिन्छ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर पनि बढायो, बैंक दर पनि वृद्धि गर्याे । त्यहीबेला घरजग्गा कर्जामा पनि कडाई गरियो। काठमाडौंका हकमा ४० बाट घटाएर ३० मा झारियो भने उपत्यका बाहिरका हकमा ५० लाई घटाएर ४० गरियो।
त्यहीबेला सेयर बजारको जोखिम भार पनि १ सयबाट १ सय ५० प्रतिशत पुर्याइयो। पैसा चलायमान हुने क्षेत्र यिनै हुन्। आर्थिक गतिविधि भइरहने क्षेत्रभित्र घरजग्गा पर्छ। यही क्षेत्र लक्ष्य गरी केन्द्रीय बैंकले नीति ल्याउनेबित्तिकै मागमा ठूलो असर परेकाले त्यसलाई खुकुलो पार्नुपर्ने अग्रवाल बताउँछन्।
केन्द्रीय बैंकले यसै साता ल्याउने मौद्रिक नीति समीक्षा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने तयारी पनि गरेको छ।