काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासघंका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिले मुलुकको स्थिति लथालिङग रहेकाे तर भताभुङग भैनसकेकाले सम्हाल्न भने सकिने बताएका छन्।
बागलुङ उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको अर्थतन्त्रमा केही संकट भए पनि समाल्न सकिने अवस्थामा रहेको बताएका हुन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूण अवस्थामा रहेको भन्दै ऋणात्मक वृद्धिदरलाई समाधान गर्न सबैले मनन गर्न आवश्यक रहेको बताए।
'अर्थतन्त्र संकुचित भएको व्यापार व्यवसाय घटेको, बजार सुकेको, उद्योगको उत्पादन घटेको, व्यवसायीको लागत लगातार बढेर चुनौती थपेको छ, यसलाई सम्हाल्नुको विकल्प छैन,' उनले भने, 'महासंघले सबै व्यवसायी साथ लिएर वर्तमान आर्थिक समस्या समाधान गर्ने तयारी अवस्थामा छ।'
हरेक क्षेत्र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेलाआएको बताउँदै उनले भने, 'मुलुका भएको पुँजी अभावलाई वाह्य देशबाट पैसा ल्याएर समाधान गर्न सबै जुटनुपर्छ।' वर्तमान आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले बनाएका योजनालाई संयुक्तरूपमा कार्यान्वयनमा ल्याएर समाधानको उपाय निकाल्ने तयारी गरिरहेको श्रेष्ठले बताए।
अर्थतन्त्र थप गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा श्रेष्ठले जोड दिए। नेपालको अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको भन्दै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
राष्ट्र बैंकले मौद्रिक नीति परिवर्तन गरी बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपाय ल्याउनुपर्ने बताउँदै अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई साथमा लिएर जानुको विकल्प नरहेको उनकाे भनाइ छ।