काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्नु उद्योगी व्यवसायीहरुको लागि चुनौती रहेको बताएका छन्।
बागलुङ उद्योग बाणिज्य संघको ५९ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै ढकालले सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्ने स्थिति उद्योगी व्यवसायीहरुका लागि दुःखद भएको बताए। हालै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत छ।
प्रक्षेपणले अर्थतन्त्रमा समस्या रहेको ढकालले बताए। अहिले देखिएको आर्थिक संकटमा सरकार र नेपाल राष्ट्र बैंकलाई मात्र दोष दिएर उम्कन नमिल्ने भन्दै अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौती समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा, सेयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि कमजोरी रहेको बन्दै वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतीबाट बाहिर आउन सबै पक्ष मिलेर जानुपर्ने अध्यक्ष ढकालले जोड दिए।
कतिपय गलत हल्लाका कारण उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको भन्दै व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याउन उनले माग गरे।
बागलुङ आफ्नो गृह जिल्ला पनि भएकोले बागलुङका व्यवसायीहरुले सम्भावित क्षेत्रमा आयोजनाहरू पहिचान गरेको खण्डमा त्यसमा पुँजी र प्रविधिको अभाव नहुने नदिने बताए।
बागलुङको पर्यटन, कृषि र जलविद्युत कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ त्यसको पहिचान गर्न आग्रह गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानी भित्राउन आफु तयार रहेको ढकालले स्पष्टपारे। अध्यक्ष ढकालले आफ्नो कार्यकालमा पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए।
ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको जानकारी दिए।
महासघंका नगर तर्फका उपाध्यक्ष सुरकृष्ण श्रेष्ठ, वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्याय,नेपाली काँग्रेसका सहसचिव ज्ञानकुमारी श्रीस, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओबादी केन्द्रका ईञ्चार्ज बलावती शर्मा, रास्वापाका अध्यक्ष गणेश पौडेल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एकबहादुर केसी, बागलुङ उद्योग बाणिज्य सघंका निवर्तमान अध्यक्ष युवराज राजभण्डारी, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, उद्योग बाणिज्य सघंका पुर्वअध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र म्याग्दी उद्योग बाणिज्य सघंका अध्यक्ष बेलबहादुर कटुवाल, बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका अध्यक्ष अर्चना पालिखे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा खोजमुलक तथा आर्थिक पत्रकारिता गरेको भन्दै राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश संयोजक राम थापालाई सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट व्यवसायीलगायत उद्योग बाणिज्यसँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेलको अध्यक्षता तथा स्वागत, महासचिव ऋषिराम गौतमको सञ्चालन र वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यको संमापन मन्तव्यमा सम्पन्न भएको थियो।