काठमाडौं। प्रतिष्ठित व्यावसायिक घराना त्रिवेणी र विशाल ग्रुपको लगानीमा सञ्चालित घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको चालू आर्थिक वर्ष नाफामा उछाल आउने भएको छ।
चालू आर्थिक वर्ष घोराही सिमेन्टको खुदनाफा १ सय १४ प्रतिशत बढेर ४६ करोड २८ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा २१ करोड ६१ लाख रुपैयाँ खुदनाफा गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा खुदनाफा ४० प्रतिशत बढेर ६४ करोड ८७ लाख रुपैयाँ पुग्ने अनुमान उद्योगको छ। २०८१/८२ मा उद्योगको खुदनाफा ९७ करोड ६३ लाख रुपैयाँ पुग्ने अनुमान छ। नाफा वृद्धिसँगै उद्योगको प्रतिसेयर आम्दानी पनि बढ्ने भएको छ।
चालू आर्थिक वर्ष घोराहीको प्रतिसेयर आम्दानी ११.६५ रुपैयाँ पुग्ने छ। यस्तै २०८०/८१ मा १६.३३ र २०८१/८२ मा २४.५८ रुपैयाँ पुग्ने अनुमान उद्योगको छ।
प्रक्षेपित नाफा प्राप्त गर्न चालू आर्थिक वर्ष घोराहीको सिमेन्ट बिक्री १ सय ४९ प्रतिशत बढेर ९ अर्ब ८९ करोड २८ लाख रुपैयाँ पुग्ने उद्योगको प्रक्षेपण छ।
यस्तै आगामी आर्थिक वर्ष १२ प्रतिशत बढेर ११ अर्ब ४१ करोड ६७ लाख र २०८१/८२ मा ३.४४ प्रतिशत बढेर १२ अर्ब ५० करोड ३५ लाख रुपैयाँको सिमेन्ट बेच्ने लक्ष्य घोराहीले राखेको छ।
संस्थाको प्रतिसेयर नेटवर्थ २०७९/८०, २०८०/८१ र २०८१/८२ मा क्रमशः.२७९.५९, २९५.९२ र ३२०.५० रुपैयाँ रहने अनुमान गरिएको छ। साथै, संस्थाले २०७९/८०, २०८०/८१ र २०८१/८२ को ब्याजदर क्रमशः १०.५०, ९.५० र ९.५० प्रतिशत प्रक्षेपण गरेको छ। तीन वर्षको नेटवर्थमा औसत प्रतिफल ८.३९ प्रतिशतमात्र छ।
घोराहीको जगेडा कोष तथा सञ्चित नाफा चालू आर्थिक वर्ष ७ अर्ब १३ करोड ३० लाख, आगामी वर्ष ७ अर्ब ७८ करोड १७ लाख र तेस्रो वर्ष ८ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ पुग्ने अनुमान छ।
गत असारसम्म घोराहीमा विभिन्न १४ बैंकको १२ अर्ब ३१ करोड १४ लाख रुपैयाँ छ। घोराहीमा हिमालयन बैक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, सिद्धार्थ र्बैंक, माछापुच्छ्रे बैक, कुमारी बैंक, नेपाल एसबिआई बैंकको ऋण लगानी छ।
यसैगरी ग्लोबल आइएमई बैक, सनराइज बैंक, सिटिजन्स बैंक, मेगा बैंक, बैंक अफ काठमान्डु र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग सहवित्तीयकरण कर्जाअन्तर्गत मोर्टगेजमा रहेको घोराही सिमेन्टले जनाएको छ।
उद्योगको ऋणभन्दा बढी कूल सम्पत्ति रहेको छ। जसअनुसार चालू आर्थिक वर्ष २२ अर्ब १६ करोड, आगामी वर्ष २२ अर्ब २३ करोड र २०८१/८२ मा २२ अर्ब २ करोड रुपैयाँ कूल सम्पत्ति हुने उद्योगले जनाएको छ।
हाल संगठित संस्थाको क्षमता वृद्धिपछि कायम रहेको वार्षिक क्लिंकर उत्पादन क्षमता १७ लाख ९७ हजार टन र वार्षिक सिमेन्ट उत्पादन क्षमता १० लाख ४० हजार टन छ।
उद्योगमा ८० प्रतिशत अर्थात ३ अर्ब १७ करोड ७५ लाख रुपैयाँ संस्थापकको लगानी छ। यस्तै सर्वसाधारण समूह (उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीसमेत) का लागि २० प्रतिशत सेयर जारी गरिएको छ।
सेयर निष्कासनपछि घोराहीको चुक्ता पुँजी बढेर ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ पुग्ने छ। उद्योगले आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि वैशाख १९ देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन खुला गरेको छ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई जारी गरिने सेयरको अंकित मुल्य १ सय रुपैयाँमा प्रिमियमवापत ३ सय थप गरी प्रतिसेयर ४ सय रुपैयाँ अंकित र सर्वसाधारणमा जारी गरिने सेयरको अंकित मूल्य १ सय रुपैयाँमा प्रिमियम वापत ३ सय ३५ थप गरी प्रतिसेयर ४ सय ३५ रुपैयाँमा निष्कासन गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट प्रिमियमसहित संकलन भएको रकम तथा सर्वसाधारणबाट प्रिमियमसहित संकलन भएको रकमले विभिन्न बैंकबाट लिइएको कर्जा चुक्ता गर्न उपयोग गरिने उद्योगले स्पष्ट पारेको छ।
संगठित संस्थाले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्ट एन्ड मेसिनरी जडित उद्योगको निर्माण, चुनढुङ्गा संकलनका लागि पर्याप्त क्षेत्रफलसहितको चुनढुङ्गा राख्न सक्ने क्षमतायुक्त भण्डारण कक्ष, वातावरणीय वायु प्रदुषण नियन्त्रणका लागि ब्याग फिल्टर र ब्याग हाउसको उचित प्रबन्ध मिलाएर संगठित संस्थाले आफ्नो उत्पादनमा गुणस्तर सुनिश्चित गरेको छ ।
उद्योगबाट हरेक घन्टा उत्पादन हुने सिमेन्ट तथा क्लिंकर संगठित संस्थाको अत्याधुनिक ल्याबबाट नियमित परीक्षण गरी गुणस्तर मापन गर्ने गरिएको छ।
संगठित संस्थाले सिमेन्टका लागि आवश्यक मुख्य कच्चापदार्थ सिमेन्ट ग्रेड चुनढुङ्गा खोजतलास, अनुसन्धान गरी उत्खनन गर्न खानी तथा भूगर्भ विभाग समेतबाट नियमबमोजिम अनुमति लिई विभिन्न स्थानमा अनुसन्धानात्मक कार्य नियमित गर्ने गरेको छ।
संस्थाले उद्योग विभागबाट विभिन्न मितिमा, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ बमोजिम घोराही सगरमाथा, सगरमाथा गोल्ड, गोरखा प्रिमियम, गोरखा गोल्ड, गोरखा टफ र गोरखा प्रिमियम गोल्ड नामक ट्रेडमार्क प्रयोग अनुमति सम्झौताको स्वीकृति लिएको छ ।
संगठित संस्थाले नेपाल गुणस्तर तथा नापतौल विभागबाट २०७९ असार २३ मा सगरमाथा ओपिसी ५३ ग्रेड, २०७८ साउन ५ मा सगरमाथा गोल्ड पिपिसी र सगरमाथा ओपिसीमा नेपाल गुणस्तर चिह्न प्रियोग गर्न इजाजत प्राप्त गरेको छ ।
बजार प्रतिस्पर्धा
संगठित संस्था पश्चिम नेपालको सबैभन्दा ठूलो र नेपालको दोस्रो ठूलो क्लिंकर तथा सिमेन्ट उत्पादन गर्ने कम्पनी रहेको छ।
पश्चिम नेपालमा ठूलो बजार हिस्सा ओगटेको यस कम्पनीले नेपालभरि नै आफ्नो बजार आक्रमकरूपमा विस्तार गरिरहेको छ। नेपालमा स्थापित अन्य उद्योगले समेत यस कम्पनीबाट उत्पादित क्लिंकरर खरिद गरी सिमेन्ट उत्पादन गरिरहेका छन्।
समान उद्योगसँग तुलना गर्दा यस कम्पनीले उत्पादन गरिरहेको सगरमाथा ब्रान्डअन्तर्गतका क्लिंकर तथा सिमेन्ट पश्चिम नेपालको मात्र नभई नेपालकै अग्रणीमध्येको एक उत्पादन रहेको छ।
कम्पनीको रणनितिक योजनाअनुसार आगामी दिनमा बजार विस्तार गर्दै नेपालकै लिडिङ ब्रान्डका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ।
संगठित संस्थाको आन्तरिक सर्वेक्षण विभागले गरेको सिमेन्टको बजारसम्बन्धी विश्लेषणका आधारमा नेपालमा दर्ता भएको सिमेन्ट उद्योगको संख्या ६८ रहेको मध्ये हाल सञ्चालनमा जम्मा ४२ उद्योग छन्।
ती उद्योगको कूल स्थापित वार्षिक उत्पादन क्षमता २ करोड ४७ लाख ६५ हजार टन छ र सञ्चालनमा भइरहेका उद्योगको वार्षिक उत्पादन क्षमता १ करोड ६० लाख टन छ।
आफ्नै प्याकेजिङ उद्योग
उत्पादन तथा ढुवानी लागत कम गर्न र उपभोक्ता मागअनुसार मूलउद्योग र इकाई उद्योगबाट उत्पादित अर्धतयारी सिमेन्ट प्याकेजिङ गरी सही समयमा आपूर्ति गर्न वाँके बैजनाथ गाँउपालिका-५ मा उद्योग स्थापनाका लागि उद्योग विभागबाट २०७८ भदौ १० मा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड, सिमेन्ट प्याकेजिङ नामक उद्योग स्वीकृति प्राप्त गरेको छ ।
यो उद्योगको निर्माण सम्पन्न भई २०७८ मंसिर २८ देखि व्यावसायीक सिमेन्ट बोरा प्याकिङ र बिक्री सुरु गरिसकेको छ।
संस्थाले नवलपरासी सुनवल नगरपालिका-९ मा उद्योग स्थापनाका लागि उद्योग विभागबाट २०७८ कात्तिक २३ मा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड, सिमेन्ट प्याकेजिङ–१ नामक उद्योग स्वीकृति प्राप्त गरेको छ।
यो उद्योगको निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन सुरु गर्न सम्बन्धित निकायको स्वीकृति लिई सञ्चालनमा ल्याइने घोराहीले जनाएको छ ।