जाजरकोट। उपल्लो डोल्पाका च्याङ्ग्रापालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङग्रापालन अत्यधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य लिइएको छ।
आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडाहरु बनाइने भएपछि यसलाई आधुनिकीकरणमा जोड दिइएको शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए। उपल्लो डोल्पाका तीनवटा पालिकामा च्याङ्ग्रापालन गरिन्छ। स्थानीय उत्पादनलाई जोड दिनका लागि आधुनिक भुवा कोर्ने तालिम दिइएको पालिकाले जनाएको छ। भुवा संकलन आधुनिक विधिबारे सरोकारवालासँग बृहत् छलफलसमेत गरिएको छ।
युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल पस्मिना उद्योग संघको संयोजनमा उक्त तालिम दिइएको हो। तीन पालिकाका च्याङ्ग्रापालक किसानलाई भुवा संकलनसम्बन्धी तालिम दिइ प्रत्येक पालिकाबाट दुईजनालाई उत्कृष्ट प्रशिक्षक बनाइने आयोजक प्रभाकर घिमिरेले बताए।
तालिममा तीनवटा पालिकाबाट ६० जना सहभागी छन्। भुवालाई आधुनिक बिधिबाट निकालेर पस्मिना कोर्ने, प्रशोधन गर्ने, आपूर्ति तथा गुणस्तर अभिवृद्धि गर्ने विषयमा छलफल तथा तालिम दिइएको छ।
उपल्लो डोल्पाका छार्काताङ्सोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, उद्योगी, व्यापारी, पस्मिना उद्योगी, च्याङ्ग्रापालक किसानहरूको सहभागितामा पहिलो चरणमा दुनैमा छलफल गरी दोस्रो चरणमा तालिम गरिएको हो। किसानहरूलाई गोठमै गएर उक्त भुवा कोर्ने तालिम दिन सुरु गरिनेछ।
पस्मिना बनाउने व्यवसायीले च्याङ्ग्राबाट निकालिएको भुवालाई आफूहरूले बजारीकरण गर्न सहयोग गर्ने बताएका छन्। गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रापालन व्यवसायलाई अझै विकास तथा गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष कार्मा छोइबेल गुरुङले बताए।
आधुनिक तरिकाले भुवा संकलन गर्न आवश्यक सामग्रीहरू हस्तान्तरणसमेत गरिने युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रममा परामर्शदाता शिचन श्रेष्ठले बताए । च्याङ्ग्रा उपल्लो डोल्पाको सबैभन्दा राम्रो पशुपालनमध्येमा पर्दछ। आवश्यक खाद्यान्न ढुवानी, मासु तथा भुवाका लागि च्याङ्ग्रा प्रसिद्ध रहँदै आएको छ। पस्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वेटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ।
नेपालले सन् २०२१ मा दुई अर्ब ५३ करोड रुपैयाँ (करिब एक करोड ९३ लाख अमेरिकी डलर बराबर) को पस्मिना सल निर्यात गरेको थियो। यो रणनीतिले सन् २०२६ को अन्त्यसम्ममा सात करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पस्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पुर्याउनेछ।