काठमाडौं। मलेसियाको वायुसेवा कम्पनी एयर एसियाको भगिनी संस्था थाई एयर एसियाको नेपालमा ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा फरक–फरक ‘लबिङ’ मा लागेका छन्।
एयर एसियाले विगतमा नेपाल उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने १८ करोड रुपैयाँ अझै तिरेको छैन। तर, त्यही कम्पनीको भगिनी एयरलाइन्स ल्याउन प्रधानमन्त्रीपुत्री गंगा र पूर्वप्रधानमन्त्री देउवापत्नी आरजु लागिपरेको पर्यटन मन्त्रालय उच्च स्रोतले जानकारी दियो।
‘पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई उडान स्लट दिइसकेका छन्,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘तर, गंगा दाहाल र आरजु राणानिकट व्यवसायीबीचको टकरावका कारण प्राधिकरणले निर्णय गर्न सकेको छैन र दुवै पक्षबीच सहमति पनि हुन सकेको छैन।’
प्राधिकरण भने ‘जसले जस्तो दबाब दिए पनि १८ करोड बक्यौता नतिरेसम्म थाई एयर एसियालाई नेपालमा उडान गर्न नदिने’ अडानमा छ।
‘सबैभन्दा पहिला एयर एसियाले प्राधिकरणलाई बुझाउनुपर्ने १८ करोड बक्यौता बुझाएपछि मात्र प्रक्रिया अगाडि बढ्छ,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले क्यापिटल नेपालसँग भने।
प्राधिकरणले आगामी अक्टोबरबाट लागू हुने गरी मध्यरात १२ः३० बजे अवतरण र बिहान १ः३० बजे उडान गर्ने गरी अनुमति दिएको छ। तर, जिएसएस परिवर्तन र कम्पनीको आधिकारिक मान्छे फरक–फरक आइरहेकाले यो अनुमति अन्तिम नभएको प्राधिकरणले जनाएको छ।
पहिला प्राधिकरणमा थाई एयर एसियाको जिएसएका रूपमा हंश इन्टरनेसनल प्रालिले आफ्नो कागजपत्र प्रस्तुत गरेको थियो। हंशमा आरजु राणानिकट व्यवसायी संलग्न छन्। हंशका सञ्चालक आभा शाह हुन्। हंश विगतमा भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको नेपालस्थित जिएसए थियो। हंशमा आरजुका छोरा जयवीर देउवा ‘अनसिन’ साझेदार छन्।
थाई एयर एसियाको जिएसए लिन अर्का व्यवसायी दीपक मल्होत्राको कम्पनी अगाडि बढे पनि आरजु राणाले एक कल फोन गरेपछि मल्होत्रा पछि हटेको सम्बद्ध स्रोतले बतायो। अहिले थाई एयर एसियाको जिएसए लिन विराटनगरका व्यवसायीहरू मिलेर प्राधिकरणमा नयाँ प्रक्रिया अगाडि बढाएका छन्।
त्यस्तै माओवादीनिकट व्यवसायीहरूले पनि लबिङ गरेपछि प्राधिकरणलाई थप दबाब सिर्जना भएको छ। प्रधानमन्त्रीपुत्री गंगाले ट्राभल कम्पनी एक्टिभ एसियाका लागि थाई एयर एसियाको जिएसए लिन प्राधिकरणमाथि ठूलै दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ।
थाई एयर एसियाको जिएसए आफूले पाएको भन्दै हंश र एक्टिभ एसियाले प्राधिकरणमा दाबी गरिरहेका छन्। प्राधिकरणले भने कसैलाई पनि आधिकारिकता दिएको छैन। प्राधिकरणले माउ कम्पनीको बक्यौता चुक्ता नभएसम्म थाई एयर एसियाको आधिकारिकता नहेर्ने जनाएको छ।