काठमाडाैं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अंकले बढेर तीन सय ५७ दशमलव ९१ अंकमा पुगेको छ। नेप्सेका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
विभिन्न कम्पनीका २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर रु ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ।
उक्त बैंकको संस्थापक सेयर चार करोड ५० लाख रुपैयाँ मूल्यमा खरिद बिक्री भए। शिवम् सिमेन्ट दुई करोड २१ लाख ५५ हजार, नबिल बैंक एक करोड ९६ लाख १२ हजार आठ सय ५०, हिमाल दोलखा हाइड्रोपावर एक करोड ८४ लाख ४७ हजार चार सय ८७ र एभरेष्ट बैंक एक करोड ६५ लाख ७० हजार आठ सय ६६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार नबिल ग्रोथ फण्ड नौ दशमलव ८६, लक्षमी लघुवित्त नौ दशमलब १६,सयपत्री हाइड्रोपावर आठ दशमलव ३७, आत्मनिर्भर लघुवित्त आठ दशमलव २० र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सात दशमलव २० प्रतिशतले बढेको छ।
यस्तै, एनएमबी ऋणपत्र पाँच दशमलव ८५, नेपाल एसबिआई बैंकको ऋणपत्र पाँच दशमलव ३८, इस्टर्न हाइड्रोपावर चार, बाराही हाइड्रोपावर तीन दशमलव शुन्य आठ र जलविद्युत् परियोजनाको सेयर मूल्य दुई दशमलव ७० प्रतिशतल घटेको छ।