काठमाडौं। पर्यटनमन्त्री सुदन किराँतीले वैशाख ८ गते सामाजिक सञ्जाल फेसबुकमा ‘कोरिया जाने नेपाली कामदारलाई चर्को हवाई भाडा लिएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको’ स्टाटस लेखे।
उनै मन्त्री किराँतीले वैशाख २१ गते श्रममन्त्री शरतसिंह भण्डारी भेटेर इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीलाई अत्यधिक महँगो हवाई भाडा लिएको विषयमा छलफल गरेको सामाजिक सञ्जालमै सार्वजनिक गरे। उनले त्यसबेला ‘क–कसले कति–कतिमा टिकट काट्नुभएको छ, त्यो प्रमाण दिएर सहयोग गर्न’ समेत आग्रह गरे।
पर्यटनमन्त्री किराँतीको दौडधुपले सामाजिक सञ्जाल र मिडिया ताते पनि श्रमिकका लागि भने कुनै उपलब्धीमूलक हुन सकेन। जब श्रम मन्त्रालय पुगेर मन्त्रीसँगको छलफलपछि त्यहाँका सम्बन्धित विभागका कर्मचारीसँग छलफल गरे, त्यो बेला थाहा पाए भाडा त तीन महिनाअघि नै घटिसकेको रहेछ। तर, उनले यो विषय सार्वजनिक भने गरेका छैनन्।
श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले पर्यटनमन्त्री किराँतीलाई तीन महिनाअघि नै कोरियन एयरले भाडा घटाएको जानकारी गराए। सहसचिव पोखरेलले जानकारी गराएपछि भने मन्त्री किराँती चुप लागेका छन्। तर, यो विषय सामाजिक सञ्जालमा किन राखेनन् भन्ने प्रश्न भने उनीमाथि उठेको छ।
श्रम सहसचिव पोखरेलका अनुसार चार महिना अघिसम्म कोरियन एयरले प्रतिकामदार १ हजार २ सय १५ अमेरिकी डलर भाडा लिने गरेको थियो। तर, चौतर्फी गुनासो आएपछि श्रम मन्त्रालयले कोरिया जाने कामदारका लागि हवाई भाडामा प्रतिस्पर्धा नै गराएको थियो। त्यसबेला नेपाल एयरलाइन्सले ९ सय ७७ डलर र कोरियन एयरले ८ सय ९५ डलरमा लैजाने गरि टेन्डर भरेका थिए।
जसले सबैभन्दा सस्तोमा लैजान्छ उसैलाइ दिने नीतिअनुसार कोरियन एयरलाई कामदार लैजान अनुमति दिइएको श्रम मन्त्रालयले जनाएको छ।
पर्यटनमन्त्री आफ्नो भनाइबाट पछि हटेपछि नेपालका लागि कोरियन एयरको ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्सले बिहीबार एक सूचना प्रकाशित गर्दै कोरिया जाने कामदारका लागि प्रतिटिकट ८ सय ९५ डलर (१ लाख १६ हजार ६ सय रुपैयाँ) भाडा निर्धारण भएको जानकारी दिएको छ।