काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक सवारीसाधनलाई विद्युतीयतर्फ लग्न सशक्त भूमिका खेल्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
`सार्वजनिक सवारीलाई विद्युतीयतर्फ कसरी लग्न सकिन्छ र यस क्षेत्रमा व्यवसायीलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयलाई हामीले प्राथमिकतामा राख्नपर्छ भन्ने लाग्छ,´ मन्त्री ज्वालाले भने, `विशेषगरि हाम्रो सार्वजनिक सवारीसाधनलाई पनि विद्युतीयतर्फ लग्न मैले मेरो तर्फबाट सशक्त भूमिका खेल्नेछु।´
उनले अब आउने बजेटमा पनि यो विषयलाई प्राथमिकतामा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। `आजको हाम्रो उर्जा अवस्था हिजोको जस्तो छैन। आज उर्जा निर्यात गर्न सक्ने अवस्थामा हामी पुगेका छौँ,´ मन्त्री ज्वालाले भने, `सार्वजनिक सवारीलाई विद्युतीय बनाउँदा उर्जाको उपयोग हुने, वातावरणीय प्रदुषणको हिसाबमा पनि उपयुक्त हुने भएकाले यसतर्फ अगाडि बढ्न आवश्यक छ।´
उनले सार्वजनिक सवारीसाधनलाई विद्युतमा लगेको खन्डमा सस्तो र सुलभ भाडा हुने र नेपालको व्यापार घाटा कम गर्न योगदान पुग्ने भएकाले यसतर्फ जानुपर्ने उनको भनाइ छ।
`विद्युतीय सवारीसाधनतर्फ व्यक्तिगत रुपमा आकर्षण बढे पनी सार्वजनिकतर्फ यसमा मानिसको ध्यान निकै कम पुगेको पाइन्छ,´ उनले भने, `हामीले सार्वजनिक सवारीसाधनतर्फ आकर्षित बढाउन नसकेसम्म इन्धनमा हामिले व्यहोर्नुपरेको व्यापार घाटा कम हुदैन।´ उनले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन गर्नुपर्ने पूर्वाधारको विकासमा आफूले जोड दिने बताए।